डिजिटल कर लगाउने देशका सामानमा सय प्रतिशत भन्सार महशुल लगाउने ट्रम्पको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
367
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने जुनसुकै मुलुकबाट आयात गरिने सम्पूर्ण सामग्रीमा १०० प्रतिशत भन्सार महशुल लगाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्ने देशहरूविरुद्ध यस्तो कठोर कदम चाल्ने घोषणा गरेका हुन्।
ट्रम्पका अनुसार यो नयाँ महशुलले सम्बन्धित देशहरूसँग भएका विद्यमान व्यापार सम्झौताहरूलाई समेत विस्थापित गर्नेछ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो महशुलले सम्बन्धित मुलुकसँग गरिएका व्यापार सम्झौताहरूलाई प्रतिस्थापन गर्नेछ, चाहे ती कार्यान्वयनमा रहेका हुन् वा हस्ताक्षर मात्र भएका। यदि ती देशहरू डिजिटल करको प्रक्रियामा अघि बढेमा यो महशुल तत्कालै लागु गरिनेछ।’
विशेष गरी मेटा, अल्फाबेट र अमेजनजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी कतिपय युरोपेली मुलुकहरूले डिजिटल सेवा कर कार्यान्वयन गर्न लागेकोमा ट्रम्पले कडा आपत्ति जनाएका छन्। ‘अनेकौँ युरोपेली देशहरूले अमेरिकी कम्पनीहरूमाथि डिजिटल सेवा कर लगाउने तयारी गरिरहेका छन्, कतिपय देशहरू त यसको कार्यान्वयनको नजिक पुगिसकेका छन्,’ ट्रम्पले भनेका छन्।
हाल विश्वका एक दर्जनभन्दा बढी देशहरूले यस्तो कर लगाइसकेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ट्रम्पले यसअघि पनि यस्ता करहरूले अमेरिकी प्रविधि क्षेत्रलाई अन्यायपूर्ण रूपमा निशाना बनाएको दाबी गर्दै प्रतिशोधपूर्ण कदम चाल्ने बताउँदै आएका थिए।
यसअघि गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत ट्रम्पले ल्याउन खोजेको ‘पारस्परिक भन्सार महशुल’ (रेसिप्रोकल ट्यारिफ) लाई खारेज गरिदिएको थियो। अदालतको उक्त फैसलाको केही घण्टापछि नै ट्रम्पले व्यापार ऐन १९७४ को धारा १२२ बमोजिम १० प्रतिशत विश्वव्यापी भन्सार महशुल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यद्यपि, यो कानुनी प्रावधानअन्तर्गत लगाइने महशुलको अवधि १५० दिनको मात्र हुने व्यवस्था छ।