सरकारको रवैया शङ्कास्पद, विदेशी चलखेलविरुद्ध जुग्नुपर्ने नेपालको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
253
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया 'शङ्कास्पद' रहेको टिप्पणी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले विदेशी शक्तिहरूले नेपालमा चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति कम्युनिष्ट पार्टीहरूले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याए।
विदेशीहरूले देशमा हालीमुहाली नचलाऊन्, राष्ट्रिय हितमा कुठाराघात नगरून् र हाम्रा छिमेकी मित्रराष्ट्रहरूका विरुद्धमा नेपाललाई गतिविधिको केन्द्र नबनाऊन् भन्ने कुरामा विचार पुर्याउनुपर्ने उनको भनाइ थियो। यसका साथै देशमा जनताको अधिकार खोस्ने अनेकौँ कोसिसहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "विदेशी शक्तिहरू जसरी चलखेल गर्न खोजिरहेका छन्, त्यसमा हामी धेरै सतर्क हुनुपर्दछ। वर्तमान सरकारको यस सन्दर्भमा रवैया 'शङ्कास्पद' छ। सँगसँगै जनताका अधिकारहरूमाथि कुठाराघात गर्ने अनेक खालका कोसिसहरू भइरहेका छन्। त्यसैले लोकतन्त्र जोगाउन र गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरूले नै अग्रसरता लिनुपर्दछ।"
सहसंयोजक नेपालले मुलुकको सार्वभौमिकता, प्राप्त राजनीतिक उपलब्धि र लोकतन्त्रको रक्षाका लागि छरिएर रहेका सबै कम्युनिष्ट शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने समय आएको कुरामा जोड दिए।