३१ जनाले ज्यान गुमाए, फेन्सिङ तार जीर्ण भएपछि स्थानीय त्रसित
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
179
Shares
काठमाडौँ। झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीय बासिन्दाहरू निकै त्रसित बनेका छन्। हुलका हुल जङ्गली हात्ती गाउँ पसेर बालीनाली नष्ट पारिदिने, घर तोडफोड गर्ने र मानिसमाथि नै आक्रमण गर्ने डरले स्थानीयमा ठूलो चिन्ता बढाएको हो।
बाहुनडाँगीमा हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष थप दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन्। वन्यजन्तुको हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किलोमिटर क्षेत्रमा सोलार फेन्सी तार जडान गरिएको भए पनि हाल त्यो सोलार प्यानल जीर्ण अवस्थामा पुगेपछि हात्तीहरू सहजै गाउँ पस्न थालेका छन्।
बालीनाली र घरपालुवा चौपायाको क्षति गर्नुका साथै मानिसकै ज्यान लिने हात्तीको यो आतङ्कलाई रोक्न सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने स्थानीय रमेश दाहालले बताए। हात्तीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको बाहुनडाँगीका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिए। स्थानीय प्रशासनले सुरक्षाका लागि त्यस क्षेत्रमा जनपद र सशस्त्र प्रहरीको टोलीलाई समेत खटाउने गरेको छ।
यहाँका बासिन्दाले विगत ४० वर्षदेखि जङ्गली हात्तीको यो सास्ती र आतङ्क निरन्तर व्यहोर्दै आएका छन्। समस्याको दीर्घकालीन समाधानका लागि स्थानीयवासीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री तथा जिल्ला प्रशासन कार्यालय झापामार्फत पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।