प्रतिनिधि सभा बैठक जारी: संसद्को लाइभ प्रसारण अवरुद्ध
महत्त्वपूर्ण चार विधेयक आजै पारित गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
244
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवनमा जारी छ। बैठकको विशेष समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। प्राविधिक कारणले संसद् सचिवालयको इन्टरनेट सेवा अवरुद्ध हुँदा बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण भने हाल रोकिएको छ। सचिवालयका सहसचिव दशरथ धमलाले मर्मतको काम भइरहेकाले चाँडै प्रसारण सुचारु हुने जानकारी दिए।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। त्यसलगत्तै बैठकमा देशका महत्त्वपूर्ण चारवटा विधेयकहरूमाथि दफावार छलफल गरी आजै पारित गर्ने तयारी छ।
जसअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३' पेस गर्नेछिन्। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३', भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रतिभा रावलले 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३' र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३' सदनमा निर्णयार्थ प्रस्तुत गरी पारित गराउने कार्यसूची रहेको छ।