बीपीको विचार ब्रह्माण्डीय विचार हो : विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
322
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार कुनै पार्टी, परिवार वा वंशमा सीमित नरही ब्रह्माण्डीय र सार्वभौम विचार भएको बताएका छन्।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले बीपीको विचारमा कसैको एकल ट्रेडमार्क नलाग्ने स्पष्ट पारे। बीपीसँग रगतको नाता नभए पनि उनको आदर्श, सिद्धान्त र विचारलाई केन्द्रमा राखेर कांग्रेस अघि बढेको उल्लेख गर्दै उनले फाँसीमा झुन्डिएका दुर्गानन्द झा र जीवन गुमाएका कामेश्वर–कुशेश्वरजस्ता सहिदहरूको बलिदानले नै बीपीको राजनीतिक दर्शनलाई राष्ट्रिय चेतनाको हिस्सा बनाएको बताए।
दशकौँको सशस्त्र द्वन्द्व र कठिन राजनीतिक परिस्थतिमा समेत कांग्रेसको निष्ठा नछोडी अडिग रहेका कार्यकर्ताहरूको प्रशंसा गर्दै उपसभापति शर्माले बदलिँदो समयअनुसार देशलाई अघि बढाउने संकल्प गर्न सबैलाई आह्वान गरे।
उनले भने, ‘बीपी कोइराला नाम गरेको विचार यो व्रह्माण्डीय विचार हो । ब्रोडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा, यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन । हामी बीपी कोईरालाको रगत बोकेका मानिसहरु होइनौं तर बीपी कोईरालाको विचार, बीपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौं । हामी जान्दछौँ, बीपी कोईरालाको आह्वानमा फाँसीमा झुन्डिएका दुर्गानन्द झाको शरीरमा बीपीको रगत थिएन । हामी जान्दछौँ, बीपीको आह्वानमा जीवन गुमाएका कामेश्वर कुशेश्वरहरुको शरीरमा बीपीको रगत थिएन । त्यसैले आज बीपीको विचार सिंगो देशको विचार भइरहेको बेलामा काँग्रेस जन प्रत्येकले आफ्नो मन मस्तिष्कमा बीपीको विचारलाई, बीपीको संस्कारलाई, बीपीको प्रेरणालाई अनुभूति गर्नुछ र दृढतापूर्वक संकल्प गर्नुछ । चाहे दश वर्षे द्वन्द्वमा गाउँ–गाउँमा रहेर मारिदै गर्दा पनि काँग्रेस नछोडेर बसेको परिवार जन होस्, प्रत्येकले आजको मितिमा संकल्प गर्नुछ कि हामी बदलिएको समयमा पनि बीपीको विचार बमोजिम देशलाई लिएर जानेछौं । ताकि अबको ५० वर्ष पछिको युवकले पनि देशको लागि नाम लिनु प¥यो भने बुद्ध पछि नाम लिँदै गर्दा खेरि बीपीको नाम लिनेछ । नेपालको राजनीतिज्ञहरु मध्येमा तिमीले लिने नाम, तिमीले हिँड्ने बाटो, तिमीले लिने विचार कसको हो भन्यौँ भने त्यस बेला पनि उसले भन्नेछ– बीपी कोईराला, बीपी कोईराला, बीपी कोईराला भनेर भन्नेछ । त्यो बीपीको विचार र त्यो सिद्धान्त बमोजिमको यात्रा अगाडि बढ्नका लागि अहिले हामीले चयन गरेको सभापति गगन थापा र सिंगो टिम नयाँ ढंगले, नयाँ सोच र नयाँ संकल्पका साथ जान प्रतिवद्ध छ । यसैको लागि देशभरिका, स्वदेश विदेशका सबै साथीहरूको यो नयाँ यात्रामा हामी साथ चाहन्छौं ।’
उनले गौतम बुद्धपछि विश्वले र नेपालका आगामी पुस्ताले गर्वका साथ सम्झिने महान् दार्शनिक तथा राजनीतिक व्यक्तित्वका रूपमा बीपी कोइरालालाई स्थापित गर्ने कांग्रेसको मुख्य लक्ष्य रहेको दाबी गरे।