काठमाडौंं । मान्छेले आफ्नो रिस बढेपछि आफ्नै स्तर पनि देख्दैन र विर्सिन्छ भन्ने मिथकलाई एमाले नेतृ रामकुमारी झाँक्रीको व्यवहारले स्पष्ट गराईदिएको छ । निर्वाचन अघि गुल्मीमा भएको खुकुरी प्रहारको विषयमा स्थानीय शिक्षक बम बहादुर कुँवरलाई दिएको धम्की यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ ।
अहिले कुँवरले लेखेको फेसबुक स्टाटस र उनीहरुबीचको भनाभनलाई सामाजिक सञ्जालमा राखेर रामकुमारी झाँक्रीमाथि आलोचना समेत गर्न थालिएको छ । एउटी राष्ट्रिय स्तरसम्म पुगेकी झाँक्रीले एकजना स्थानीय शिक्षकलाई धम्की दिँदा प्रयोग गरिएको शब्द एउटा चर्चित राजनीतिज्ञको लागि सुहाउँदो थिएन भनेर आलोचना गर्न सुरु गरिएको छ । उनले ती शिक्षकलाई अनादरार्थी शब्दको प्रयोगमात्रै गरेकी छैनन् उनले ती शिक्षकलाई गधा लगायतका तुच्छ शब्द समेत प्रयोग गरेकी छिन् । साथमा उनले खुट्टा भाँचिदिने जस्ता कुरा समेत गरेकी छिन् ।
सामाजिक सञ्जालमा लेखिएका कुनैपनि विषयमा आफ्नो चरित्र हत्या भएको लागेमा प्रहरीलाई खबर गर्न सकिने अवस्था हुँदाहुँदै दादागिरि शैलीमा खुट्टा भाँच्ने जस्ता तल्लो स्तरका कुरा गरेर उनी आफैंले आफ्नो स्तर घटाएको आरोप सामाजिक सञ्जालभरी लाग्न थालेको छ ।