माया नै हो स्थायी शान्तिको वाधक, बुद्धले किन दरबार छोडे बुझौं

सर्वे भवन्तु सुखिन : भाग ३

प्रकाशित मिति : २०७६ श्रावण १६ बिहिबार

काठमाडौं । अब प्रश्न उठ्छ त्यो वास्तविक सन्तोष, चिरस्थायी शान्ति कहाँ र कसरी मिल्नेछ ? हाम्रा शास्त्रहरु भन्छन्-
ईश्वर अंश जीव अविनाशी ।
चेतन अमल सहज सुख राशी ।।

भन्नुको तात्पर्य जुन जीव छ, त्यो ईश्वरको अंश हो अर्थात इश्‍वर हाम्रो अंशी हुनुहुन्छ । अंशको के प्रक्रिया हुन्छ त्यो यसरी बुझौ । नेपालमा कोशी, गण्डकी, कर्णाली, भारतमा गंगा, यमुना अन्य देशमा नील, मिसासीपी, थेम्ज आदि अनेकौ नदि छन् । यी सबै नदिहरुलाई तपाई अनुसन्धान गर्नुभयो भने तपाईले थाहा पाउनुहुनेछ यी सबै नदि समुन्द्रको तर्फ बगिरहेका छन् र सबै अन्तमा गएर समुन्द्रमा मिल्नेछन् । किन मिल्नेछन् ? किनभने ती नदिहरु समुन्द्रको अंश हो । समुन्द्र त्यसको अंशी हो ।

सूर्यको तापले जब पानी तात्छ तब बाफ बनेर त्यो पानी माथि आकाशमा बादल बन्छ । पहाडसँग ठोकिएर फे‍री बर्षाको रुपमा पृथ्वीमा आउछ । पृथ्वीमा एकत्रित भएर त्यो पानी खोल्सा र नदीको रुप लिन्छ । भन्नुको मतलब यसरी समुन्द्र अंशी हो र नदि त्यसको अंश ।

तपाई एक पत्थरलाई वा माटोको डल्लोलाई आकाश तर्फ बल गरेर फाल्नुहोस केहि समयपछि त्यो जमीनमा झर्न थाल्नेछ ।  किन ? न्युटनले बताएका छन् पृथ्वी भित्र गुरुत्वाकर्षण शक्ति छ जसले त्यसलाई जमीनतर्फ खिच्छ । यसै कुरालाई हाम्रा सन्तहरुले सिधा सादा भाषामा सम्झाए कि त्यो डल्लो पृथ्वीको अंश हो पृथ्वी त्यसको अंशी हो । यसकारण त्यो अंश आफ्नो अंशी पृथ्वीको तर्फ तानिन्छ आकर्षित हुन्छ ।

तपाई अग्नीलाई हेर्नुहोस I अग्नी अक्सिजनको परिणाम हो । अक्सिजन जब जल्छ तब अग्नी अत्पन्न हुन्छ । अक्सिजन सम्पूर्ण वायुमण्डलमा व्याप्त छ यसकारण अग्नीको ज्वाला आकाशतर्फनै जान्छ। एक आमा र बच्चालाई लिउ। तपाई बच्चालाई कहि पनि लिएर जानुहोस उ आमातर्फ दौडिन चाहन्छ । यहाँसम्म कि जनावारको बच्चा पनि सधै आमासँग जान लालयित हुन्छ । आमा अंशी हो र बच्चा अंश हो ।

यहाँ एक सिद्धान्त अगाडि आउछ कि अंश सधै अंशीसँग मिल्न चाहन्छ । ठिक यसै प्रकार हरेक मनुष्यको, हरेक जीवको यो चाहना हुन्छ, उसको प्रयास हुन्छ कि आफ्नो अंशीसँग मिलु र जबसम्म त्यो आफ्नो अंशीलाई प्राप्त गर्दैन तबसम्म उसले त्यो सन्तोष त्यो परम शान्ति प्राप्त गर्दैन । र त्यो अंशी त्यो शान्तिको स्रोत हामी भित्र नै विद्यमान छ ।  यसकारण हामा सन्तले भने-
काहे रे वन खोजन जाई,
कसर्व निवासी सदा अलेपा, तोरे हीसंग समाई । ।
पुष्प मध्य ज्यौ वास वसन्त हे मकुर माहि जस छाई ।
एसे ही हरि बसे निरन्तर घट ही खोजे भाई ।।

वन भित्र किन भट्किन्छौ, त्यो सर्वशक्तिमान सत्ता त तिमि भित्रै छ। अत आफू भित्र त्यसलाई खोज गर । पर्वतको श्रृंखलामाथि एक कस्तुरी भएको मृग हुन्छ जब उ सुगन्धको ग्रहण गर्छ तब सोच्छ कि कस्तुरीको सुगन्ध कुनै झाडीबाट आइरहेको होला, कुनै पत्थरबाट आइरहेको होला तर उ अभागी यो जान्दैन कि कस्तुरीको स्रोत कस्तुरीको मूल स्वयं उसको नाभिमा स्थित छ। उ आफै कस्तुरीको नाभिको लागि विचरण गरिरहेको छ तर ज्ञान नहुनाको कारण, बोध नहुनाको कारण त्यो कस्तुरीलाई आफु भन्दा पृथक पत्थरमा अथवा झाडीमा सम्झन्छ।

यही स्थिति हाम्रो पनि छ । हामी पनि शान्ति र शक्ति रुपी कस्तुरीलाई आफू भित्र राखेका छौ, त्यसबाट सज्जित छौ त्यसको झलक देखिरहेका छौ, तर हामी सोच्छौ कि सायद वाहिर शान्ति होला, सुख होला । हामीले संसारलाई सत्य मानेका छौ । एक कुकुर जब शिशामा आफ्नो प्रतिबिम्ब देख्छ तब सम्झन्छ कि उसको अघि दोस्रो कुकुर उभिएको छ। उसको इलाकामा अर्को कुकुर आयो भनेर उ भुक्न थाल्छ । उ यो जान्दैन कि शिशाको भित्र जुन कुकुर छ त्यो उसको छायाँ मात्र हो । उ स्वयम वास्तवमा सक्कली र जुन उसको छाया छ त्यो नक्कली हो ।

हामी पनि सम्पूर्ण जगतलाई सत्य मानेर जगतको अनुभव गरिरहेका छौ । यस जगतमा हामी स्वाद चाख्न सक्छौ, चीजहरुलाई हातले पक्रन सक्छौ, ईन्द्रियबाट त्यसलाई अनुभव गर्न सक्छौ यसकारण यो संसारको चीज बस्तुलाई नै हामी सत्य मान्छौ । तर जे हामी देख्छौ, जे हामी चाख्छौ, जसको हामी स्पर्श गर्छौ यदि यी सबै चीज सत्य हुन भने यी सबैलाई अनुभव गर्ने के सत्य होइन । जो स्वय प्रश्न उत्पन्न गरिरहेको छ, जो शिशा भित्र आफ्नो प्रतिबिम्ब देखाइ रहेको छ के त्यो सत्य होइन । र त्यसै सत्यलाई नजानेर आज मानव अशान्त छ, असन्तुष्ट छ ।

आफ्नो जीवनमा आज मानव सुखी छैन, हरेक मानिस यही भन्छ कि हजुर म दुखी छु, म सुख चाहन्छु । अब सुखको आयाम के हो ? हामी नापौ कि मानिस कति चाहन्छ ? यदि हामी सम्पदालाई लिएर हेरौ तब हरेक मानिस चाहन्छ कि उसँग असीम सम्पदा होस । जब मानिस पैसा कमाउछ तब उ कहिले पनि यो सोच्दैन कि मलाई केवल दुई चार रुपैया नै कमाउनु छ। उ कमाइ रहन्छ र भन्छ जति आएपनि थोरै नै छ अर्थात उ असीम धन कमाउन चाहन्छ । हरेक व्यक्ति आफ्नो प्रचार, चर्चा नै भएको चाहन्छ । कसैले पनि भन्ने छैन भाइ अब मेरो प्रचार नगर। हरेक व्यक्तिको इच्छा यहि हुन्छ कि मेरो असीम प्रचार होस। भन्नुको अभिप्राय यो हो कि हरेक व्यक्ति चाहन्छ कि मलाई असिम सुख मिलोस, असिम ख्याति मिलोस । उ कुनै चीज सिमामा बाध्न चाहदैन असिम चाहन्‍छ ।

जब हामी सबै चीज असिम चहान्छौ तब माया जुन सिमित छ त्यसबाट हामीलाई असीमको प्राप्ति हुदैन । असीम त केवल परमात्मा मात्र हो जो पूर्णत्वको केन्द्र हो । हामी जो असीम सुख असीम आनन्द चाहन्छौ, यो चाहदैनौ कि हामी सुख आनन्द केवल एक महिना वा एक बर्षको लागि प्राप्त होस । असीमलाई यसकारण चाहन्छौ कि हाम्रो जो आत्मा छ त्यो असीम हुन चाहन्छ त्यो बन्धनमा बाधिन चाहदैन र निर्बन्ध रहन चाहन्छ। निर्बन्ध तत्वको प्राप्त गर्न चाहन्छ। तर हामीले त्यस निर्बन्ध तत्वलाई त्यस आनन्दलाई त्यस पूर्णत्वलाई मायामा बाधेका छौ । यो माया के हो ? यो हाम्रो छाँया हो, हाम्रो प्रतिबिम्ब हो । यसकारण सन्तहरुले मानवलाई आग्रह गरे कि तिमि असीम आनन्दलाई प्राप्त गर्न चाहन्छौ, निर्बन्ध हुन चहान्छौ, अनन्तता प्राप्त हुन चाहन्छौ भने तिमि मायाबाट हटेर आफु भित्र प्रवेश गर्नुपर्नेछ तब तिमिले स्थायी सुख शान्ति पाउनेछौ ।

एक महान व्यक्ति सिद्धार्थ गौतम जोपछि महात्मा बुद्धको नामबाट विख्यात भए । उनले आफ्नो जीवनमा के कमिको महसुस भयो? उनिसँग सुन्दर नारी थिइन्, पुत्र थिए, सम्पूर्ण राज्यको वैभव थियो, सबै चीज उपलब्ध थियो। सबै प्रकारका भौतिक सुख सुविधा सम्पदा उपलब्ध भएपनि आफ्नो जीवनमा उनलाई शान्ति मिलेन, निर्वाण मिलेन । शान्ति प्राप्ती गर्नको लागि उनले सबै छोडे तर फेरी पनि शान्ति मिलेन । उनि शान्तिको खोजीमा निस्किए ।

हामी कुनै पनि सामान सहि मुल्यमा नै खरिद गर्छौ । अब विचार गर्नुपर्नेछ कि महात्मा बुद्धले आफ्नो जीवनमा राजपाट, स्त्री, पुत्र, धन सम्पत्ति आदि वैभव भन्दा पनि कुनै उत्तम चीज पाए होला तब सबै चीज उनले त्यागे । त्यो चीज के हो त्यसमाथि हामी विचार गर्नुपर्नेछ र त्यसलाई जान्नु पर्नेछ । त्यहि परमात्माको अनुभूति, आत्मदर्शन हो ।

बुद्ध भगवान जुन समय कठिन तपस्या गरिरहेका थिए परमात्माको अनुभुति गर्ने प्रयासमा तब केहि टाढाबाट स्त्रीहरु गीत गाउदै उनि भएको ठाँउबाट जान्छन् । उनिहरु गीतमा भन्छन्  'सितारका इतना कसकर नखीचो कि त्यो तार ही टुट जाए और इतना ढीला भी मत छोडो कि बह बजे ही नही' गाइरहेका थिए ।
 
अर्थात तारलाई यति मध्यममा राख कि त्यो नटुटोस र त्यसबाट पुरा स्वरयुक्त आवाज पनि निस्कियोस । यो सुनेर बुद्धलाई एक प्रेरणा मिल्यो। यदि उनि शरीरलाई कठिन तपस्यामा रहे एक दिन यो शरीर समाप्त हुनेछ र माया मै रमि रहे एक दिन भगवानलाई बिर्सिएर जानेछ भन्ने बुझे ।  

यसकारण यो जुन मध्यमार्ग छ त्यसमा अग्रसर भएर आफ्नो जीवनलाई व्यर्थमा जान नदिइ परमात्माको प्राप्ति पनि गर। त्यो मध्यमार्ग कहिले प्राप्त हुनेछ ? जब हामी लाभ-हानी, पाप-पुण्य दुवैलाई छोडेर आत्मकल्याणतर्फ अग्रसर हुनेछौ । आत्मज्ञानलाई जानेर त्यसमा आफ्नो मनलाई स्थिर गर्छौ तब स्थायी सुख शान्तिको प्राप्त हुनेछ ।

यो पनि पढ्नुहोस ।

सबै कुरा प्राप्त गरेर पनि मानव किन अशान्त र दु:खी

सर्वे भवन्तु सुखिन: भाग १

 

भौतिक सुविधाले नदिने सुख कहाँ छ ?

सर्वे भवन्तु सुखिन: भाग २

नयाँ