arrow

अमेरिकाले बिथोलेको मध्यपूर्व, अब के हुन्छ ?

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष २० आइतबार
us-iran-protest.jpg

काठमाडौं। सानोतिनो तनाव सृजना हुनु मध्यपूर्वको लागि नौलो कुरा होइन। तर, गत बिहीबारदेखि भने मध्यपूर्वको तनाव निकै बढेको छ। यसले तेस्रो विश्वयुद्ध निम्त्याउनेसम्मको अड्कल मानिसहरुले गर्न गर्न थालेका छन्। इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकाको आक्रमणमा मारिएसँगै मध्यपूर्वको शान्ति बिथोलिएको हो। इराकको विमानस्थलभन्दा बाहिर कारमा रहेका उनी अमेरिकाको आक्रमणमा मारिएका हुन्। यससँगै विश्व राजनीतिमा नयाँ तरंगका साथै विभिन्न किसिमको आशंका पनि फैलिएका छन्।

को हुन् सुलेमानी ?
सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने गर्दै आएको छ। जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए। उनले सन् १९८० को दशकमा भएको इरान–इराक युद्ध पनि लडेका थिए। इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे।

इरानको सैन्य रणनीतिका ‘मास्टरमाइन्ड’ मानिने सुलेमानी मध्यपूर्वकै सबैभन्दा रहस्यमय तथा शक्तिशाली सैनिक कमाण्डर थिए। उनलाई इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खमेनीपछि दोस्रो शक्तिशाली व्यक्तिका रुपमा चिनिन्थ्यो। उनले इरानको सर्वोच्च नेता आयतुल्लाह अली खोमेनीसंगको प्रत्यक्ष समन्वयमा इरानको सबै बाह्य गोप्य सैन्य तथा गुप्तचरी गतिबिधिहरुको नेतृत्व गर्थे।

इराक, सिरिया, लेबनान र यमनको युद्धमा उनको व्यक्तिगत निर्देशनमै काम हुने गरेको ठानिन्छ। अमेरिकाको आतंकवादीको सूचीमा रहेका सुलेमानी इरानले सहायता गरेका मध्यपूर्वका शिया लडाकुहरुका लागि भने ठूलो प्रेरणाका स्रोत थिए। इरानीहरुका लागि सुलेमानी अमेरिकी प्रतिबन्ध र दबाबविरुद्ध लड्ने राष्ट्रिय प्रतिककै रुपमा थिए। इरानको क्षेत्रीय प्रभुत्वका लागि भइरहेको छद्म युद्धको पर्दा पछाडिबाट नेतृत्व गर्ने उनी इरानको क्षेत्रीय प्रभुत्व विस्तार गर्ने सबैभन्दा महत्वपूर्ण व्यक्ति थिए।

किन मारिए सुलेमानी ? 
अमेरिकाले कासिम सुलेमानीले इराकमा अमेरिकी अधिकारीमाथि आक्रमणको योजना बनाएको र उक्त आक्रमण रोक्न उनलाई मारिएको बताएको छ। डिसेम्बर २७ मा इराकको सैन्य क्याम्पमा भएको आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो। साथै, गत साता इराकको अमेरिकी राजदूतावासमा भएको आक्रमणमा पनि सुलेमानीको हात रहेको अमेरिकाको दाबी छ। अमेरिकाले उनीमाथि हजारौं नागरिकको हत्या गरेको आरोप लगाएको छ। उसले सुलेमानीलाई आतंककारीको सूचीमा राखेको थियो। यसअघि पनि धेरैपटक सुलेमानी मारिएको हल्ला फैलिएको थियो।

यसअघि मध्यपूर्वमा आईएसलगायतका विभिन्न संगठनहरुको दबदबा कायम रहेकाले उनीहरुतर्फ ध्यान दिनुपरेकोले अमेरिकाले उनीतर्फ ध्यान नदिएको विश्लेषकहरुले बताएका छन्। तर, पछिल्लो समय इरान–अमेरिका तनाव बढ्दो क्रममा रहेको अवस्थामा अमेरिकाले इरानलाई दबाब दिन उक्त कदम चालेको विश्लेषकहरुले बताएका छन्।

त्यसो त केहीले यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी ‘स्टन्ट’का रुपमा पनि लिएका छन्। अहिले अमेरिकामा महाभियोगको सामना गरिरहेका उनलाई आगामी वर्ष हुने निर्वाचनमा जित हात पार्नु त्यति सजिलो छैन। यस्तोमा राष्ट्रवादको नारा दिन उनले यस्तो कदम चालेको विश्लेषकहरुको भनाइ छ। अमेरिकाको विपक्षी डेमोक्रेट्सले पनि ट्रम्पको यो कदमको विरोध गरिसकेको छ। यस्तोमा अबको निर्वाचनमा यो घटनालाई कुन दलले कुन हिसाबले व्याख्या गर्छन्, त्यसैको पक्षमा मत आउने सम्भावना देखिएको हो। यसबाट महाभियोगलगायतका विभिन्न अलोकप्रिय काम गर्दै आएका ट्रम्पले पुनः राष्ट्रपतिमा विजयी हुने सम्भावनाको ढोका खोलेका हुन्।

अमेरिकाको दम्भ
सुलेमानीको हत्याले अमेरिकाको दम्भ पुनः एकपटक विश्वमा उदाङ्गो पारिदिएको छ। विभिन्न समयमा अमेरिकाले आफ्नो विरुद्धमा बोल्ने मुलुक वा व्यक्तिको लागि आफ्नो सम्पूर्ण शक्ति लगाएर सबै विधि र मान्यतालाई लत्याउने गरेको छ। यसअघिको इराक आक्रमणमा देखिएको दम्भ अमेरिकाले मध्यपूर्वमा आफ्नो प्रभुत्व कायम राख्न इरानमाथि देखाउन लागेको स्पष्ट हुन्छ। सुलेमानीको विषयमा अमेरिकाले दिएको अभिव्यक्तिमा उनीमाथिको आशंकाको कारण हत्या गरिएको उल्लेख छ। इराकको भूमिमा विदेशी सैन्य प्रमुखको हत्या गरिनुले इराकको सार्वभौमिकतामाथि पनि प्रहार भएको छ। यो घटनाबाट अमेरिकाले आफूलाई कुनै पनि नियमले नछुने दम्भ प्रस्तुत गरेको छ। त्यसो त इरानले पनि अमेरिकाको यो कदमलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिइसकेको छ। अमेरिकाको विरुद्धमा भने इराकबाहेक अन्य मुलुकले मुख खोलेर विरोध गर्न सकेका छैनन्।

घटनाको प्रभाव
यो घटनाले राजनीतिक तथा आर्थिक हिसाबमा विश्वभर प्राभाव पर्ने निश्चित छ। अहिलेसम्म रुस, चीनलगायतका मुलुकबाट त्यति कडा प्रतिक्रिया त आएको छैन। तर पनि बिस्तारै बढ्दो घटनाक्रमसँगै विश्वका मुलुक यो मुद्दामा विभाजित हुनसक्ने आशंका फैलिएको छ। त्यसका साथै आर्थिक हिसाबमा पनि यसको पर्ने निश्चित देखिन्छ। शुक्रवार यो समाचार फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत अप्रिलयताकै उच्च विन्दुमा पुग्यो। 

त्यस्तै शेयर बजार पनि आरालो लाग्यो। शुक्रवार भारत, चीन, जर्मनी, अमेरिकालगायत मुलुकका प्रमुख शेयर बजार ओरालो लागे। त्यसै पनि अहिले विश्व अर्थतन्त्र अमेरिका–चीन व्यापार युद्धलगायतका विभिन्न कारणले समस्यामा छ। यस्तोमा यस किसिमको घटनाले अर्थतन्त्र थप प्रभावित बन्नसक्ने स्पष्ट छ। विभिन्न वित्तीय संस्थाहरुले पनि विश्व अर्थतन्त्र अहिले निकै सुस्त गतिमा अघि बढिरहेको र यसले आगामी दिनमा समस्या उत्पन्न गर्नसक्ने चेतावनी दिँदै आएका छन्। 

अब के हुन्छ ? 
अमेरिकाले इरानका दोस्रो सबैभन्दा शक्तिशाली मानिने व्यक्तिको हत्या गरेपछि अब इरान त्यसै त पक्कै पनि बस्नेछैन। यो इरानको लागि प्रतिष्ठाको विषय हो। त्यसैले अब कुनै न कुनै कदम चाल्नसक्ने विश्लेषकहरु बताउँछन्। यस्तोमा इरानले विभिन्न किसिमका कदम चाल्नसक्छ। इरानबाट हुनसक्ने सम्भावित जवाफ मध्यपूर्वमा आफ्ना सहयोगी मुलुकमा अमेरिकी कूटनीतिक अधिकारीमाथिको आक्रमण हो। प्रत्यक्षरुपमा अमेरिकासँग इरान नलडेपनि उसले अमेरिकी अधिकारीमाथिको आक्रमण बढाउन सक्छ। यसले मध्यपूर्वमा अर्को अशान्ति मच्चाउन सक्छ। अमेरिकाले सुलेमानी त्यसरी मारिनुमा उनको अमेरिकी कूटनीतिज्ञमाथिको आक्रमणको तयारी बताइरहँदा इरानले यही कार्यलाई अघि बढाएर अमेरिकाको बदला लिने प्रयास गर्न सक्छ।

साथै उसले अमेरिकाका सहयोगी मुलुकलाई पनि निशाना बनाउन सक्छ। अर्थात् साउदी अरेबिया, इजरायल र यूएईमा आक्रमण हुन सक्छ। यसअघि पनि यी मुलुकमा भएका आक्रमणमा इरानकै नाम जोडिने गरेको थियो। इरानले अमेरिकासँग बदला लिन प्रत्यक्ष युद्धभन्दा पनि दोस्रो बाटो अपनाउन सक्ने विश्लेषकहरू बताउँछन्। उनीहरुका अनुसार साइबर आक्रमण, आतंकवादी संगठनलाई उक्साउने तथा महत्वपूर्ण अमेरिकी कूटनीतिक अधिकारीको अपहरण गर्नेजस्ता काम हुनसक्छन्। 

त्यसका साथै उसले यमन, सिरिया, इराकलगायतका धेरै मुलुकबाट अमेरिकाको विरुद्धमा काम गराउन पनि सक्छ। सुलेमानीको सम्बन्ध यी मुलुकमा राम्रो थियो। त्यसैले यहाँका विद्रोहीहरुले पनि अमेरिकाको विरुद्धमा आक्रमण गर्न सक्छन्। विशेषगरी अमेरिकी नियोगहरुमा आक्रमण हुनसक्ने विश्लेषकहरुको दाबी छ।  

अर्को महत्वपूर्ण विषय इरान भौगोलिक हिसाबमा पनि निकै महत्वपूर्ण स्थानमा छ। विश्वको सबैभन्दा व्यस्त मानिने समुद्री रुट ‘स्टेट अफ हर्मुज’ इरानको निकै नजिक पर्छ। यस्तोमा यो रुटलाई उसले आफ्नो हतियार बनाउन सक्छ। उसले अमेरिका वा उसका सहयोगीको जहाजमा आक्रमण गर्ने, अवरोध सृजना गर्ने, मिसाइल प्रहार गर्ने, कब्जा गर्नेलगायतका काम गर्न सक्छ। यसअघि पनि यो क्षेत्रमा उसले बेलायती जहाजलाई नियन्त्रणमा लिइसकेको छ। त्यसैले अबको दिनमा अमेरिकासँग सम्बन्ध जोडिएका कुनै पनि जहाजबारे यो क्षेत्रमा कुनै अप्रिय घटना आउनु अस्वाभाविक नहुन सक्छ।

इरान यसअघि नै अमेरिकाप्रति चिढिइसकेको छ। यस्तोमा अब उसले अमेरिकासँगको हरेक सम्झौतालाई लत्याउने नीति अपनाउन सक्छ। यो क्रममा उसले मुलुकको आणविक कार्यक्रमलाई थप अघि बढाउन सक्छ। यसले मध्यपूर्वमा थप तनाव बढ्न सक्छ। यो कुरालाई ध्यानमा राख्दै विश्वका प्रमुख नेताहरुले संयम रहन सबै इरानलाई आग्रह गरेका छन्। तर, उनीहरुको आग्रह कत्तिको पालना हुन्छ भन्ने कुरा हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ