पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी
सिन्ह्वा,
प्रकाशित २०७६ माघ १८ शनिबार
560
Shares
मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ। उनीबीच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। यसै महिनाको शुरुमा बर्लिनमा भएको लिबियासम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट तयार भएको सम्झौतालाई कार्यान्वयन गर्ने बारेमा पनि नेताहरूले छलफल गरेको जनाइएको छ।
क्रेमलिनद्वारा जारी वक्तव्यका अनुसार राष्ट्रपति पुटिनले लिबियाका राजनीतिक पार्टी र सरोकारवालाहरुसँग समन्वय गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरुसँग समन्वय गरिएमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का लागि सजिलो हुने पुटिनले बताउनु भएको वक्तव्यमा उल्लेख गरिएको छ।
दुवै तर्फका नेताहरुले लिबियामा शान्ति र स्थायित्वका लागि राजनीतिक वार्ता अत्यावश्यक भएकोमा जोड दिएका थिए। पुटिन र मर्केलले युक्रेन र सिरियाको अवस्था, प्यालेस्टायन र इजरायलको द्वन्द्वका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनाका बारेमा पनि छलफल गरेका थिए।