- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्लामा नेपाल प्रहरीका मात्रै ठूला, साना चार पांग्रे तथा दुई पांग्रे गरी करिब एक हजार हाराहारीमा सवारी साधन चल्छन् । प्रहरी प्रधान कार्यालय बाहेक महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत मात्रै ६ सय २१ वटा विभिन्न प्रकारका सवारी उपत्यकाका तीन जिल्लामा चल्ने गरेका छन् । यि मध्ये प्रहरीले ड्युटीमा प्रयोग गर्ने मोटरसाइकल र चार पांग्रे साना सवारी साधनको संख्या धेरै छ ।
दुई पांग्रे र चार पांग्रे बाहेक काठमाडौं उपत्यकामा महानगरीय प्रहरी कार्यालय मातहत नेपाल प्रहरीका ठूला बस, ट्रक, जेसिभी लगायतका सवारी पनि छन् । काठमाडौंसहित तीनै जिल्लामा यस्ता ठूला सवारी साधनको संख्या भने सानाको तुलनामा कम छ । काठमाडौंमा ३९, भक्तपुरमा ३ र ललितपुरमा ५ वटा प्रहरीका ठूला सवारी मेट्रो मातहत छन् ।
यसैगरी नियमित रुपमा डिउटीका लागि खटिने सवारी चार पांग्रेतर्फ काठमाडौमा १ सय ९२, भक्तपुरमा १४, ललितपुरमा २० वटा महानगरीय प्रहरी कार्यालय मातहत नै छन् । यसैगरी दुई पांग्रे अन्तर्गत काठमाडौंमा २ सय ७५, भक्तपुरमा ४४ र ललितपुरका २९ वटा मोटरसाइकल महानगरीय प्रहरी कार्यालय अन्तर्गत चल्ने गरेका छन् ।
यो तथ्यांकमा प्रस्तुत सवारी साधन महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत मात्रै चल्ने हुन् । जसअन्तर्गत काठमाडौं प्रहरी परिसर टेकु, परिसर ललितपुर र परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अन्तर्गतका प्रहरी कार्यालयहरुमा चल्ने गरेका छन् ।
यि प्रहरीका विभिन्न कार्यालय अन्तर्गत चल्ने विभिन्न प्रकारका सवारी साधनहरु मध्ये कतिपय सडकमा धुवाँ फ्याक्दै गुडिरहेका देखिन्छ त कतिपय सडकको लेन परिवर्तन गर्दा साइडलाइट नै नबाली हुइकिन्छन् ।
यतिसम्मकी अरुलाई सडक अनुशासन सिकाउने प्रहरी सवार कतिपय सवारीले सडक लेनलाई समेत बेवास्ता गर्दै हुँइकिने गरेको देखिन्छ । कतिपय प्रहरीहरु आफू सवार सवारीको गति समेत ख्यालै नगरी चलाउँछन् । अरुलाई सुरक्षा तथा सावधानीबारे सिकाउने प्रहरीले आफूले चाँही सवारी चलाउँदा पालना गर्नुपर्ने नियम मान्नु पर्दैन त ?
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) हरी पालले प्रहरी आफैंले नै पहिले नियमको पालनामा ध्यान दिनु पर्ने बताउँछन् ।
‘प्रहरीतर्फका सवारी चालक पनि अरु सवारी चालक जस्तै हुन, अरुजस्तै उनीहरु पनि सवारी चलाउँदा अनुशासनमा बस्नुपर्छ, सडक र सवारीका नियम सबैलाई एउटै हो,’ महानगरीय प्रहरी कार्यालय रानीखोखरीका प्रमुख पालले हाम्राकुरासँग भने ।
पुराना तथा आउटडेटेड भइसकेका धुँवा फ्याँक्ने सवारीका हकमा भने मर्मत संभारका लागि वजेटको व्यवस्थापनमा समस्या हुँदै आएको उनी बताउँछन् ।
केही आउटडेटेड गाडी पनि छन् ति अवधि पुगेका पुराना गाडीलाई मर्मत गर्न वजेटको व्यवस्थापन गर्नुपर्ने र सहजै गर्न नसकिने अवस्था पनि छ,’ पालले भने ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले आकस्मिक अवस्थामा बाहेक प्रहरीले समेत ट्राफिक नियम पालना गर्नुपर्ने तथा नगरे कारवाही गरिने बताउँछन् ।
आकस्मिक अवस्थामा विशेष ध्यान दिनुपर्छ, अन्यथा प्रहरीले समेत नियम पालना गर्नुपर्छ, नियम पालना नगर्ने प्रहरीहरु पनि कारवाहीको दायरामा आउँनै पर्छ, त्यस्तो भेटेमा कारवाहीको दायरामा ल्याइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता अधिकारीले भने ।
ट्राफिक नियमको पालना गराउनमा अब्बल ठहरिएका ट्राफिक प्रहरीका पूर्व प्रहरी निरिक्षक सिताराम हाछेथु भने नियम सबैका लागि एउटै भएकाले पालनामा समेत सबैले एकरुपता देखाउनुपर्ने तर त्यसो नभएको दाबी गर्छन ।
प्रहरी, ट्राफिक प्रहरी, जनता र नेतालाई ट्राफिक नियम एउटै हो, तर नियमको पालनामा सबैले एक रुपता देखाएको पाइदैन, अरुलाई नियम सिकाउने प्रहरी र ट्राफिक प्रहरी आफैंले नियम नमान्नु चाँही झनै हाँस्यास्पद कुरा हो,’ हाछेथुले भने ।
उनले काठमाडौंका सडकमा धेरैजसो भीभीआइपी र भीआइपीका अगुवा पछुवा सवारीले ट्राफिक नियमको बेवास्ता गर्ने गरेको आफ्नो अनुभव समेत सुनाए । ‘भीभीआइपी र भीआइपीका लागि खटिएका अगुवा पछुवा सवारीले त झनै नियम मान्दैनन, उनीहरुले गल्ति गर्दा नदेखेंझै गर्नु पर्ने अवस्था छ,’ आफ्नो विगतको अनुभव सुनाउँदै उनले भने ।
हाल काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या करिब १० लाख पुगिसकेको छ। यो संख्या यातायात व्यवस्था कार्यालय बागमतीमा दर्ता भएको सवारी साधनको हो ।
उपत्यकाभर १ हजार ५ सय ९४ किलोमिटर सडक रहेको सडक विभागको तथ्यांक देखाउँछ । यीबाहेक अन्य अञ्चल कार्यालय तथा प्रदेश कार्यालयमा दर्ता भएका सवारी पनि राजधानीका सडकमा चल्ने गरेका छन् ।