ओलीले जबजलाई आन्द्राभुडी निकालेर सिंगारिएको बाख्रा जस्तो बनाएः घनश्याम भुसाल
सन्जय भट्टराई
प्रकाशित २०७७ पुष २० सोमबार
778
Shares
नवलपुर। नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले जनताको बहुदलीय जनवादलाई आन्द्रा भुडी निकालेर सिंगारिएको बाख्रा जस्तो बनाएको आरोप लगाएका छन् । नेकपा (दाहाल-नेपाल) समूहले सोमबार पूर्वी नवलपरासीको देवचुलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादबाट क्रान्तिकारी विचार हटाएर आन्द्रा भुँडी निकालेको बाख्राजस्तो बनाएको आरोप लगाएका हुन् । भुसालले ओलीको यो तरिकाले कुनै हालतमा समाजवादको अन्तिम लक्ष्यमा पुग्न नसकिने बताए ।
कार्यक्रममा भुसालले ओलीको जस्तो निकृष्ट चरित्र, तानाशाही प्रवृत्ति र टुक्का प्रदर्शनले २१ शताब्दीको समाज चल्न नसक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्ने सबैलाई कुर्तक गरेर ठुंग्ने प्रवृत्ति अंगालेकै कारणले ओलीले पार्टीमा बहुमत गुमाउदै गएको जिकिर गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई डरलाग्दो संकटतर्फ धकेलेको आरोप लगाउदै नेता भुसालले ओलीको असंवैधानिक कदम र हठी स्वभावका कारण मुलुक अस्थिरतातर्फ धकेलिएको जिकिर गरे । जनताको मतलाई लत्याउदै संविधान मिचेर गराउन लागेको निर्वाचनको कुनै औचित्य नरहेको उल्लेख गर्दै वैशाखमा निर्वाचन हुनै नसक्ने बताए ।
नेता भुसालले अबको समाधान संसद पुनर्स्थापना भएको उल्लेख गर्दै वैशाख भित्रै संसद पुनर्स्थापना भएर देशले निकास पाउने बताए।