arrow

रसुवाका सबै पालिकामा कांग्रेसको विरोध, न्यायालयले दिने फैसला कांग्रेसलाई मान्य –मोहन आचार्य 

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
congress-birodh-rasuwa.jpg

रसुवा । संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस रसुवाले जिल्लाको पाँच वटै गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । नौकुण्ड गाउँपालिकाको जेरो किलोबाट नारा जुलुससहित सुरु भएर पार्च्याङमा कोणसभामा परिणत भएको थियो ।

कालिका गाउँपालिकामा कालिकास्थानदेखि घुम्ती बजारसम्म र्याली गरिएको छ । गोसाइँकुण्ड गाउँपालिकामा स्याफ्रुबेशीमा र्याली गरिएको थियो । कांग्रेस उत्तरगयाँ समितिद्वारा बेत्रावतीमा विरोध सभा आयोजना भएको छ ।

शनिबार विभिन्न स्थानीय तहमा भएका विरोध सभामध्ये नौकुण्ड गाउँपालिकामा र उत्तरगयाँ गाउपालिकाको कार्यक्रममा कांग्रेस युवा नेता मोहन आचार्य सहभागी भए । 

विरोध सभालाई सम्बोधन गर्दै आचार्यले संसद विघटनको कदम असंवैधानिक रहेको बताए । कांग्रेस सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको भन्दै नेता आचार्यले न्यायालयले दिने फैसला कांग्रेसलाई मान्य हुने बताए । 

अब आन्दोलित हुँदै नयाँ निर्वाचनको तयारीमा सक्रिय हुन उनले कार्यकर्तालाई आग्रह समेत गरे ।  त्यहाँ आयोजित विरोध सभाको सभापतित्व गाउँपालिका संयोजक ओम प्रसाद आचार्यले गरेका थिए । 

कार्यक्रमलाई कांग्रैस नेता उपेन्द्र लम्साल, महिला नेतृ सुनिता माया गुरूङ, बमबहादुर गुरूङ, उत्तम थापा, नेबिसंघ नेता बिप्लब खड्का लगायतले अब निर्वाचनको लागि जुट्नु को विकल्प नरहेको बताए । 

नौकुण्ड गाउँपालिकामा भएको विरोध कार्यक्रमलाई नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले र कांग्रेस नौकुण्ड गाउँपालिका सभापति डिलबहादुर मोक्तानले सम्बोधन गरे । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २० जना कांग्रेसमा प्रवेश गरेका छ्न् ।

गोसाइँकुण्ड गाउँपालिकामा स्याफ्रुबेशी बजार परिक्रमा गरी स्याफ्रुबेशी बजारमा कोण सभामा परिणत भएको थियो । जिल्ला पार्टी सचिव सुनावाङ्दी तामाङ, नेताहरु राजु तितुङ गाउँपालिका सभापति सोनम तामाङले सम्बोधन गरेका थिए । 

कालिका गाउँपालिकामा पालिका सभापति तृण्णराज न्यौपानेले विरोध सभाको नेतृत्व गरेका थिए । 

त्यसैगरी आमाछोदिङ्मो गाउँपालिकामा पालिका संयोजक कामी ग्याल्बो घले, कांग्रेस जिल्ला सभापति पेम्बा छिरिङ र महाधिवेशन प्रतिनिधि उर्केन तामाङ जिल्ला उपसभापति फुर्बा वाङ्दी तामाङ, आमाछोदिङमो गाउँ पालिका प्रमुख बुचुङ तामाङ र मिलन तामाङले सभालाई सम्बोधन गरेका थिए । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । यस निर्णयको विरोधमा सर्वोच्चमा परेका रिटमाथि बहस जारी छ । कांग्रेसले निर्णयको विरोधमा चरणवद्द आन्दोलन घोषणा गरेको छ । सोही क्रममा शनिबार ७५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ