परा र अपरा विद्याको ज्ञान


प्रकाशित

काठमाडौं । नदीको पानी अग्लो स्थानदेखि होचो स्थानतिर बहँदै समुद्रमा गएर मिल्दछ, किनभने यो उसको एउटा दिशा तथा सिद्धान्त हो। अब तपाईंले भन्नुहोस्, मानिसको जीवनको एउटा सिद्धान्त के हो? त्यो कुन सिद्धान्त हो, जो सबै धर्ममा, सबै मत-मतान्तरमा एकै छ?  जहाँसम्म धार्मिक पुस्तकहरूको प्रश्न छ-धार्मिक पुस्तकहरू अलग-अलग छन्। परम्पराहरू अलग-अलग छन्, भनाई अलग-अलग छ। कसैले भन्छन्-गंगा-स्नान गरेनौ भने नर्क जानेछौ, कसैले भन्छन्-मक्का-मदिनाको यात्रा गरेनौ भने नर्कमा जाने छौ। कसैले भन्छन् तिमीले बाईबल पढेनौ, पापको प्रायश्चित गरेनौ भने नर्क जानेछौ ।

यसप्रकार एकाअर्काको भनाई अनुसार नर्कमा गईरहेका छन् । आखिर स्वर्ग को चाहिँ गईरहेको छ ? एकाअर्काको सिद्धान्त अनुसार सबै नर्क गईरहेका छन् ; सबैले नर्कको ढोका खोलेका छन , यी सबै काम त मानिसहरूले आ -आफ्ना सिद्धान्त अनुसार गरिनै रहेका छन् तर हाम्रा ऋषिहरूले गहिराइमा गएर भने - ' एक सत्यं विप्राः बहुदा वदन्ति ' सत्य एउटै छ । ऋषिहरूले अलग -अलग भाषाहरूमा शब्दहरूमा, विभिन्न भाषाहरूमा धेरै किसिमले सम्झाएका छन् ।

हाम्रा ऋषिहरूले दुई प्रकारका विद्याको वर्णन गरेका छन्- एउटा अपरा विद्या र अर्को परा विद्या। अपरा विद्यामा (भौतिक विद्या) सबै वेद-शास्त्र, उपनिषद्, पुराण आउँदछन्, भौतिक जगतको विद्या आउँदछ। परा विद्या (अध्यात्म विद्या) ब्रह्मको विद्या हो, आध्यात्मिक ज्ञानको विद्या हो ।

अपरा विद्या के हो? संसारका सबै ज्ञान-विज्ञान अनुभव बिना अधूरा छन्। जसरी कुनै वैज्ञानिकले आफ्नो मत दिन्छ, उसको त्यो मतलाई कल्पना मानिन्छ, सिद्धान्त हुन सक्दैन। उसको मत जब परीक्षणमा सत्य सिद्ध ठहर्दछ तब त्यो सिद्धान्त बन्दछ।

यस्तै प्रकारले जतिपनि पुस्तक साहित्यहरू छन् ती सबै अपरा विद्याको परिधि भित्र आउँदछन्। साहित्यमा महिमा, वर्णन, चर्चा आदि लेखिएका हुन्छन्। यस्ता-यस्ता पुस्तकहरू लेखिएका छन् जसमा सारा सूर्यमण्डलको वर्णन छ, जसमा तारा मण्डलको, नक्षत्र मण्डलको सम्पूर्ण वर्णन, व्याख्याहरू गरिएका छन्। तर ती पुस्तकहरू खोलेर राख्नाले बिजुलीको आवश्यकताको पूर्ति गर्न सक्दैनन्, पुस्तकहरूले तपाईंको कोठाको अन्धकारलाई हटाउने प्रकाश दिन सक्दैनन्, त्यसको निम्ति त तपाईंले दीयो जलाउनु नै पर्छ।

यसकारण व्यावहारिकताको जुन साँचो ज्ञान छ त्यसलाई हाम्रा ऋषिहरूले परा विद्याको विषय भनेका छन्। जसरी मानचित्रमा सारा नदीहरूका चिन्ह र बहाईको दिशा संकेत गरेको हुन्छ, तर के तिर्खा लाग्दा त्यस मानचित्रको नदीबाट एक गिलास पानी लिएर पिउँन सकिन्छ? सकिंदैन। तिर्खा मेटाउनको लागि त पानीको धारामा जानै पर्छ। मानचित्रको जुन ज्ञान छ त्यो अपरा विद्या हो अनि धाराको जुन ज्ञान छ त्यो परा विद्या हो, किनभने पानीको धाराबाट तपाईंले एक गिलास पानी पाउनु हुन्छ। पानी पिएर तपाईंले आफ्नो प्यास मेटाउनु हुन्छ। मानचित्रबाट हामीले आफ्नो बुद्धिको विकास गर्न सक्छौं, संसारका धेरै कुराहरू जान्न सक्छौं; तारा मण्डलको बारेमा धेरै कुरा जान्न सक्छौं, तर जहाँ व्यावहारिकताको प्रश्न छ, वास्तविकताको प्रश्न छ वहाँ तपाईंले परा विद्याको शरण लिनुपर्दछ जसले वास्तविकताको ज्ञान गराउँदछ।

त्यो परा विद्या एक श्रोत्रिय ब्रह्मनिष्ठ सद्गुरुले दिन सक्छन् जसरी  श्रीकृष्णले अर्जुनलाई दिएका थिए । युगौं-युगदेखि सद्गुरुले हामीलाई शाश्वत प्रेम पाउने तरीका बताउँदै आएका छन् । सद्गुरुले हामीलाई ब्रह्मविद्याको क्रियात्मक अभ्यास गर्नु सिकाउँछन् । जब मुमुक्षु आत्मज्ञानी गुरुको शरणमा जानेछन् उनले जन्म जन्मको भव रोगबाट मुक्त गरिदिनेछन् । मानव शरीरलाई भोगहरूमा व्यर्थ नगुमाएर यसको वास्तविक चमत्कारसंग  (अध्यात्म) अवगत गराउने छन्। जति पनि समयका महान पुरुषहरु भए उनीहरुले यहि विद्यालाई जान्ने इशारा गरेका छन्। जसमा भगवान राम, श्रीकृष्ण, महात्मा बुद्ध, महावीर स्वामी, कबीरदास यहि मार्गमा चले ।

गुरु नानकदेव, महोमद, ईसामसीहले आफैभित्र अनुभव गरे । त्यसैको अनुभवपछि ईसामसीहलेले भनेका छन्, 'ईश्वरको राज्य बीज समान छ र बीज अन्यत्र कहि नभइ तिमी भित्र नै लुकेको छ ।'


प्रतिक्रिया :

नयाँ