कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा


प्रकाशित

इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो ।

लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैँचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने अवस्था पनि छैन । यसरी अलैँचीको मूल्य अस्थिर हुँदा अलैँची बिक्री गर्ने किसान अलमलमा परेका छन् । यसको प्रत्यक्ष मारमा किसान परेका छन् । कुनै वर्ष फसल बढेको बेला भाउ घट्ने र फसल बढेको बेला भाउ घट्ने अनभिज्ञ छन् ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने किसानकै हातमा अलैँचीको भाउ निर्धारण गर्ने अधिकार हुनुपर्ने हो । वस्तुका मालिक किसान भएकाले वेच्ने मूल्य किसानकै हातमा हुनुपर्ने हो तर यसको ठ्याक्कै उल्टो अरूले निर्धारण गरेको मूल्यमै आफ्नो परिश्रम बेच्नुपर्ने बाध्यतामा किसान छन् । कृषिजन्य वस्तुको बजारलाई हेर्ने हो भने अलैँची मात्र होइन अम्लिसो (कुचो), अदुवा, चिया सबैको स्थिति एउटै छ ।

बजारमा कसैले चलाएको मूल्यकै आधारमा किसान उत्पादन बेच्नुपर्ने बाध्यतामा छन् । समग्रमा अझैपनि किसान वस्तु उत्पादन गर्ने ठाउँमा छन् तर मूल्य निर्धारण गर्ने ठाउँमा छैनन् । अर्थशास्त्रको मूल्य सिद्धान्तलाई हेर्ने हो भने वस्तुको मूल्य माग र आपूर्तिलाई हेरेर निर्धारण गरिन्छ । उत्पादकले उत्पादन लागतभन्दा माथि बजारको माग र आपूर्तिलाई आधार बनाएर वस्तुको मूल्य निर्धारण हुन्छ तर हाम्रा वस्तुको मूल्य निर्धारण भने यसको विपरीत भइरहेको छ । उत्पादन लागतलाई समेत ध्यान नदिइ बजार मूल्य निर्धारण हुने गरेको देखिन्छ । वस्तुको लागत नै निर्धारण नगरिने भएकाले वस्तुमा लागेको परिश्रम, तयारी खर्च वा अन्य मूल्य नजोडिने समस्या छन् ।

यसैले कुनै दिन उत्पादित वस्तुको लागत मूल्यभन्दा कममा वस्तु बेच्नुपर्ने बाध्यता आउन सक्ने अनुमान चिया व्यवसायी कमल मैनालीको छ । चियाको मुख्य बजार भारत हो । भारतले राखिदिएका मूल्यमै नेपाली किसानले चिया बेच्न बाध्य छन् । चियाको बजार मूल्य निर्धारणमा किसान होइन, नेपाली व्यवसायीको समेत संलग्नता रहदैन । मैनालीका अनुसार हामीले उत्पादन गरेको चियाको लागत मूल्य निर्धारण नभएकाले पनि जतिसुकै मूल्यमा बेच्नु पर्ने बाध्यता छ । उहाँका अनुसार लागत मूल्य नै निर्धारण नहुनाले किसानले सीमित(तोकिएको) बजारमा चलेकै बजारमा चिया बेच्नुपर्ने बाध्यता छ ।

“हामी यथास्थिति धरातलमा छौ । हामीले चिया बेच्नुपर्ने पनि छ तर कम मूल्य छ ।” मैनालीले भन्नुभयो, “यसलाई चिर्नका लागि हामीले उत्पादनको लागत मूल्य निर्धारण गरेर बजार भाउ तोक्नुपर्छ । अनि बजारमा वस्तु पु¥याउनु पर्छ ।” चियाकै जस्तो समस्या अन्य कृषिजन्य वस्तुको बजारमा पनि छ । बजारकै अभावका कारण कम मूल्यमा अलैँची बेच्नु परेको अलैँची व्यवसायी निर्मल भट्टराईको तर्क छ । भारत नै अलैँचीको मुख्य बजार भएकाले उसैले राखेको मूल्यमा किसान र स्वदेशी व्यवसायीले अलैँची बेच्नु पर्नेछ ।

“हामीले हाम्रो उत्पादन बेच्नै पर्ने बाध्यता हुन्छ । त्यसैले हामी भारत गुहार्छौ ।” भट्टराईले भन्नुभयो,“भारत हाम्रो (नेपाल)को मात्र होइन, भुटान जस्ता देशको पनि बजार हो । त्यसैले मूल्य निर्धारण गरिदिन्छ ।” भट्टराईका अनुसार अलैँचीको मूल्य वार्षिक वा मासिक रूपमा घटबढ हुने मात्र होइन दिनमै पनि फरक फरक हुनसक्छ । एकदमै अस्थिर बजारमा नेपाली किसानले अलैँची बेच्नुपर्ने बाध्यता छ । भट्टराईका अनुसार नेपाल सरकारले वस्तुको उत्पादनको प्रवद्र्धन गर्न नसक्दा यो समस्या आएको हो ।

“हामीसँग यो सम्बन्धी नीति नै छैन । सरकारले नयाँ बजार खोज्नु पर्ने हो तर यस्तो कहिल्यै हुन सकेन ।” चियाकै जस्तो अलैँचीको मूल्यपनि लागत मूल्यभन्दा कममा बेच्नुपर्ने दिन आउन सक्ने खतरा रहेको भट्टराईको सङ्केत छ । “वस्तुको मूल्य मात्र हेरफेर गरिदैन । वस्तुको भाउ घटाउन लामो समय होल्ड राख्ने समस्या पनि छ ।” अलैँची व्यवसायी भट्टराईले भने,“एकैचोटी किनेर लामो राखिदिने अनि नकिन्ने बाध्यता समेत छ । भारतले नेपाली किन्नका लागि पनि अनेक तिकडम गर्ने गर्छ । कृषिजन्य सामग्री वोकेका ट्रक नै सीमाबाट भारत पर्न रोक समेत लाउने गरेको छ ।

नेपाली व्यवसायीको जोडबलले ट्रक नाका कटाउनु पर्ने अवस्था रहेको छ । भारतले नेपाली सामग्री किन्न नचाहदा पनि किनिदिनु पर्ने बाध्यता रहेकाले मूल्य निर्धारण समेत भारतले नै गर्ने गरेको अदुवा तथा अलैँची व्यवसायी मात्रिका घिमिरेको भनाई छ । घिमिरेका अनुसार नेपाली वस्तुको कम गुणस्तरीय हुनाले पनि भारतले मनोमानी ढङ्गले मूल्य निर्धारण गरेको हो । विशेषगरी नेपालबाट जाने अदुवा अन्य कृषिजन्य वस्तुको तुलनामा कम गुणस्तरीय मानिन्छ । किसानले बजार हेर्ने भएकाले माटोसहितको अदुवा समेत बेच्ने गरेका छन् । वस्तुको गुणस्तर कायम गर्न सकेमा बजार आफै निर्माण हुँदै जाने घिमिरेको तर्क छ । अन्य वस्तुको जस्तै अदुवाको पनि भाउ एकदर छैन ।

यसको प्रत्यक्ष मारमा किसान परिरहेका छन् । यता लागत मूल्य बढ्ने तर बजार मूल्य घट्दै जाने गरेकाले कृषि व्यवसाय ठूलो मारमा परेको छ । वस्तुको मूल्य निर्धारणका लागि सरकारले चाँडो काम शुरु गर्नुपर्ने कृषिविज्ञ डा. योगेन्द्रमान श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार वस्तुको मूल्य सरकार, उत्पादनकर्ता र उपभोगकर्ताले गर्ने हो तर नेपालमा भने उपभोगताले मात्र मूल्य निर्धारण गर्दा बजार अस्तव्यस्त बनेको हो । “हामीले गुणस्तरीय वस्तु निर्माण गर्ने हो । अनि किन्न आउनका लागि अरूलाई निर्धारण गर्ने हो ।” डा. श्रेष्ठले भने,“वस्तुको लागत मूल्य निर्धारण गर्ने अनि बजारलाई आह्वान गर्न सरकारले अभिभावकत्व गर्नुपर्छ ।” सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । नेपाली चिया कम गुणस्तरीय भएको वा भारतको रणनीति हो भन्न तथ्य बाहिर आउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।


प्रतिक्रिया :

नयाँ