तनहुँमा २० हजार मतदाता थप


प्रकाशित

तनहुँ । तनहुँ जिल्लामा २० हजारभन्दा बढी मतदाता थपिएका छन् ।  जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार गत पुस ५ गतेसम्म जिल्लामा २० हजार २४ मतदाता थपिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार ३९६ मतदाता थिए । गत पुस ५ गतेभन्दा अगाडि दुई लाख ३१ हजार ४२० मतदाता पुगेका छन् । “यसबीचमा २० हजार २४ मतदाता थपिएको अवस्था छ, अद्यावधिक सकेपछि वास्तविक मतदाता पहिचान हुनेछन्”, निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले भन्नुभयो ।

तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १३६ मतदानस्थल र २६५ मतदान केन्द्र रहेका छन् । सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा सहायक नामदर्ता अधिकारी तोकिसकेको छ । उहाँका अनुसार सहायक नाम दर्ता अधिकारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

गत पुस ५ गतेसम्ममा मतदाता नामावलीका लागि नाम सङ्कलन भई सोही मितिसम्म १८ वर्ष पुगेका व्यक्तिहरुको नामावली अद्यावधिकका लागि सबै स्थानीय तहमा नामावली पठाइने प्रमुख शर्माले बताउनुभयो । त्यसपछि मतदाता नामावली प्रकाशन, कुनै मतदाताको नाम वा विवरणमा कुनै त्रुटि भएमा सच्च्याउनका लागि निवेदन दिने, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजूरी दिने, दोहोरो नाम हटाउन निवेदन दिनेलगायत कार्य गरिनेछ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी एवं मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष सागर आचार्यले निर्वाचनको तयारीका लागि दुई पटक बैठक बसी आवश्यक तयारी शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा मतदान केन्द्र हेरफेर र पुनरावलोकनका लागि छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ । “राजनीतिक दलहरुका तर्फबाट मतदान केन्द्र थप्न प्रस्ताव आएको छ”, उहाँले भन्नुभयो, “माघ १३ र १४ गते पुनः बैठक बस्छौँ, त्यसपछि केही टुङ्गो लाग्ला ।”


प्रतिक्रिया :

नयाँ