arrow

जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा साँघुरिँदै सिमसार

logo
नारायण अधिकारी,
प्रकाशित २०७७ माघ २० मंगलबार
simsar_area.gif

चितवन ।  वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्त्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पानीले राम्रोसँग भिजेको ठाउँ वा अत्यधिक आर्द्रता भएको जमिनलाई सिमसार भनिने बताउँछन् । उनका अनुसार त्यस्तो जमिन, जहाँ पानीको सतह र जमिन करिब एउटै स्तरमा हुन्छ अनि बोटबिरुवाको अस्तित्व रहेको हुन्छ, जहाँ जमिन लुक्दैन, पानी सुक्दैन र रसिलो जमिन भएको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । पानीको मुहानलगायत दलदल, धान बाली एवं पानी जमेको क्षेत्रलाई सिमसार जनाउने गरेको उनको भनाइ छ । 

नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धान बालीसमेत पर्छ । सुवेदी पछिल्ला दिनहरूमा सिमसार खुम्चिँदै जानु मानव जातिका लागि हितकर नभएको बताउँछन् । उनले भने, “बढ्दो जनसङ्ख्या, खण्डीकृत हुँदै गएको जमिन र जलवायु परिवर्तन सिमसार मासिँदै जानुको मुख्य कारण हुन् ।”

विश्वभर नै सिमसार क्षेत्र घट्दै गएको भन्दै उनले त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको बताए । वन र वन्यजन्तुका लागि देशमै महत्त्वपूर्ण मानिएको चितवनमा सिमसार घटेको प्रभाव प्रस्टरुपमा देखिन थालेको सुवेदीको भनाइ छ । उनले भने, “निकुञ्जबाट वन्यजन्तु बस्तीमा आउनुको पछाडिका कारण सिमसारको प्रभाव हो ।” यसले गर्दा मानव र वन्यजन्तुका बिचमा द्वन्द्व बढ्दै गएको उनी बताउँछन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन र वन्यजन्तुको कल्पना सिमसारविना गर्न नसकिने बताउँछन् । ठुला र दुर्लभ वन्यजन्तु पानी पिउने, आहाल खेल्ने मात्रै होइन, यही ओसिलोपनाले वनस्पति उम्रिएर आहार तयार हुन्छ । बरालको भनाइमा गैँडा, बाघ, हात्ती जस्ता जनावरका लागि सधैँ पानीको आवश्यकता पर्दछ भने गर्मी मौसममा आहाल र पौडीका लागि पानी नभई हुँदैन । 

निकुञ्जभित्रका तलाउहरूमा गेग्रानहरु भरिँदै जानु, पातपतिङ्गर, जलकुम्भी जस्ता झारले ढाक्ने र पलाएका घाँस मरेर जाँदा तलाउ पुरिँदै गएका छन् । निकुञ्जले वर्षेनि त्यस्ता तलाउहरू सरसफाइ गर्ने गरेको भए पनि पर्याप्त हुन नसकेको भन्दै उनले क्रमशः सिमसार घट्दै जाँदा यसको प्रत्यक्ष प्रभाव वन्यजन्तुमा परेको बताए । बाढी पहिराले भत्काएर पनि सिमसार मासिएको उनको भनाइ छ । 

निकुञ्जको बाहिरी भागमा मानव अतिक्रमणका कारण ताल, खोलानाला प्रभावित हुने गरेका छन् । घोल खेत मासेर मानव बस्ती विस्तार हुँदै जाँदा पनि सिमसार खुम्चिँदै गएको छ । निकुञ्ज र वन क्षेत्रमा सिमसार मासिँदै जाँदा वन्यजन्तु मानव बस्ती पस्ने समस्या बढेको छ । 

सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित भएको उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका हाल प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा पानीको स्रोत घट्दै जाँदा यसमा आश्रित वन्यजन्तु प्रभावित भएको बताउँछन् । उनले भने, “सिमसारको प्रभावका कारण वन्यजन्तु मानव बस्ती पस्न थालेका हुन् ।” पोखरी सुकेपछि ती जनावरले आहाल खेल्न नपाएको र उनीहरू चर्ने घाँसे मैदान प्रभावित बनेको कँडेलको भनाइ छ । 

निकुञ्ज हुँदै बग्ने नदी खोलाहरूमा पानी स्रोत कम हुँदा पानी रिचार्ज हुन नपाएर निकुञ्जभित्र पानीको अभाव हुँदै गएको उनी बताउँछन् । उनले भने, “निकुञ्जभित्रको पानीका स्रोत रापती, नारायणी, रिन जस्ता नदी खोलाबाट रिचार्ज हुने गर्दछन् । मुख्य स्रोत नै कम भएपछि रिचार्ज घट्दै गएको छ ।” 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने नदीजन्य पदार्थको उत्खनन र प्रदूषणका कारण पनि सिमसार क्षेत्र प्रभावित भएको बताउँछन् । उनले भने, “जथाभावीरुपमा गरिने नदीजन्य पदार्थको उत्खननले पानीको चक्रलाई नै बिगारेको छ ।” शहरी क्षेत्रको फोहोरको उचित व्यवस्थापन नगर्दा यसको प्रभाव सिमसार क्षेत्रमा समेत परेको उनले बताए । जसका कारण वन र वन्यजन्तु प्रभावित भएको लामिछाने बताउँछन् । समयमा नै यसतर्फ ध्यान दिन नसके भविष्यमा ठुलो सङ्कट पैदा हुन सक्नेतर्फ उनले सचेत गराए । 

वन मन्त्रालयको वनस्पति विभागका उपसचिव मधु घिमिरे नेपालको कूल क्षेत्रफलमध्ये आठ लाख १९ हजार २७७ हेक्टर सिमसारले ओगटेको बताउँछन् । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्रहरू रहेको बताउँदै उनले नेपालले अन्तर्राष्ट्रिय महत्त्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको बताए । देशका सबै प्रदेश र स्थानीय तहमा यस्ता सिमसार क्षेत्रहरू बाँडिएका छन् । नेपालमा पाँच हजार ३५८ ताल, तीन हजार २५२ हिमनदी, दुई हजार ३२३ वटा हिमताल रहेको उनले जानकारी दिए । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारी निकुञ्जभित्र ५० भन्दा बढी प्राकृतिक ताल तलैया, ६० भन्दा बढी मानव निर्मित पोखरी, तीन वटा नदी प्रणाली, रामसार सूचीमा सूचीकृत बिस हजारी ताललगायत थुप्रै ताल तलैया र सिमसार क्षेत्र रहेको बताउँछन् । 

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनाल जिल्लामा ४३१ कबुलियत वन, ९३ सामुदायिक वन, एउटा बरन्डा भार संरक्षण वन र पाँच वटा धार्मिक वन हुँदै विभिन्न खोला, खोल्सा बग्ने गरेको र ताल तलैया रहेको बताउँछन् । मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र घट्दो क्रममा रहेको उनको भनाइ छ । निकुञ्जमा मात्रै होइन, मानव बस्ती वरपर रहेका खोला, खोल्सा, घोल र सिमखेतहरु मासिँदै जाँदा सिमसार क्षेत्र प्रभावित बनेको छ । यसका प्रत्यक्ष प्रभाव मानव जातिलाई समेत पर्ने गरेको छ । रासस



नयाँ