arrow

झापामा बढ्न थाल्यो सडक दुर्घटना

मापसे गरेर सवारी चलाउनेमा टिपरदेखि एम्बुलेन्सका चालकसमेत

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
accident-2.jpg

झापा। सवारी साधनको चाप र चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण झापामा सडक दुर्घटना बढ्न थालेको छ । जिल्लामा तीन हप्तामा भएका सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् । 

सडकको स्तरोन्नति नहुनु पनि दुर्घटनाको कारक मानिएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले यही माघ १ देखि २१ गतेसम्मको अवधिमा भएका ६४ वटा दुर्घटनामा १२ जनाले ज्यान गुमाएको र १५० घाइते भएको जानकारी दिए । मापसे गरेर सवारी कुदाउनेमा टिपरदेखि एम्बुलेन्सका चालकसमेत रहेको थापाले बताए । प्रत्येक दुई दिनको अन्तरालमा दुर्घटनामा परेर एक जनाले ज्यान गुमाइरहेको उनको भनाइ छ ।

“सडकको स्तरोन्नति भएको छैन”, उनले भने, “यात्रुको चाप तेब्बर बढेको छ । त्यहीँमाथि चालकले मापसे गरेर ओभरटेक गर्दै गाडी कुदाउँछन् । अनि दुर्घटना घट्नुको सट्टा बढ्यो ।” अन्य महिनाको तुलनामा चालू महिनामा दुर्घटना बढ्नुमा चिसो र बाक्लो हुस्सुसमेत कारक रहेको जनाइएको छ ।

उनले मापसे गरेर सवारी चलाउने चालकलाई विगतमा जरिवाना गरेर छाड्ने गरे पनि अब कडा कारबाही गर्न सुरु गरेको बताए । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने चार जनालाई सार्वजनिक मुद्दा दर्ता गरेर कारबाही सुरु गरिसकेको जानकारी दिए ।

सडकका चोक चोकमा बसेका ट्राफिक प्रहरीले सवारीको गति कम गर्न, रातको समयमा सवारीमा बाल्ने बत्तीलाई डिम गर्न र मापसे जाँचलाई बढी प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले अघिल्लो पुसमा महिनामा समेत १६४ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको बताए । उनले दुर्घटना कम गराउन ट्र्याक्टरमा समेत हरियो स्टिकर टाँस्ने, भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिने र अन टेस्ट लेखिएका मोटरसाइकललाई चलाउन नदिने लगायतको जाँचलाई तीव्रता दिइएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ