arrow

नेपालगन्जमा ट्याक्टर कम्पनीले सहमति पालना नगर्दा भयो तालाबन्दी

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २४ शनिबार
tractor-driver-nepaljung.jpg

नेपालगन्ज। कोरोना महामारी चलिरहेका बेला गत असार १ गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने बाँकेको अगैयास्थित सिक्टा ब्यारेजबाट ट्याक्टर खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भयो।

ना ७ त ५१८ नम्बरको उक्त ट्याक्टर ब्यारेजको रेलिङ भत्काएर राप्ती नदीमा खसेको थियो। दुर्घटनामा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ निवासी ट्याक्टर चालक १८ वर्षका सुनिल थारु र अर्का २५ वर्षीय चूर्णबहादुर थारुको मृत्यु भयो। दुर्घटनाबाट मृत्यु भएका सुनिलको परिवारलाई ट्याक्टर धनी रामसिंह थारुले व्यक्तिगत रूपमा ५ लाख रुपैयाँ क्षतिपूर्ति दिए।

दुर्घटनाग्रस्त ट्याक्टरको उनीसँग न ब्लुबुक थियो, न त बिमा नवीकरण। रामसिंहले एक वर्षअघि मात्र दुगड ब्रदर्श एण्ड सन्स प्रालि अन्तर्गतको ‘जोन डियर’ कम्पनीको उक्त ट्याक्टर खरिद गरेका थिए। उनले खरिद गरे बापत डेढ लाख रुपैयाँ कम्पनीलाई बुझाउनुपर्ने बाँकी रहँदै ट्याक्टर दुर्घटनामा परेपछि कम्पनी र ट्याक्टर धनीबिच द्वन्द्व सुरु भयो।

ट्याक्टर कम्पनी बिस्तारै आफ्नो जिम्मेवारीबाट पन्छिन थाल्यो। कम्पनीले ट्याक्टरको बिमा नवीकरण नगरिदिएकै कारण रामसिंहले मृतकका परिवारलाई व्यक्तिगत रूपमा ५ लाख क्षतिपूर्ति दिए। आर्थिक रूपले मारमा परेका रामसिंहले क्षतिग्रस्त ट्याक्टर मर्मत गर्न सक्ने सम्भवै थिएन। उनले कम्पनीलाई ट्याक्टर मात्र मर्मत गरिदिन आग्रह गरे।

पार्वतीपुरस्थित सोरुममा तालाबन्दी गर्दै
इलाका प्रहरी कार्यालय कोहलपुरमा रामसिंह र ट्याक्टर कम्पनीका कर्मचारीबिच केही महिनाअघि एउटा सहमति भयो। ‘मैले ट्याक्टर खरिद गरेर लगे पनि मलाई कम्पनीले ब्लुबुक दिएको थिएन, अनि बिमा नवीकरण पनि गर्न छुटाइदिएछ, ट्याक्टर दुर्घटनामा परेपछि मात्र मलाई थाहा भयो, कि बिमा गरिएको रहेनछ,’ उनले भने ‘दुर्घटनाको भोलिपल्ट मात्र कम्पनीले बिमा नवीकरण गरेछ।’ रामसिंह भन्छन्, ‘दुर्घटनामा मैले छोरो गुमाए, कम्पनीले बिमा नवीकरण नगरिदिएका कारण व्यक्तिगत रूपमा अर्का मृतकको परिवारलाई ५ लाख क्षतिपूर्ति दिए, कमाई गरेर खाने ट्याक्टर क्षतिग्रस्त अवस्थामा छ, कम्पनीले ट्याक्टर बनाइदिन्छु भन्छ, तर बनाउँदैन।’

उक्त सहमति अनुसार ट्याक्टर मर्मत गरिदिने कम्पनीका कर्मचारीले प्रतिबद्धता जनाए। तर, सो सहमतिलाई कम्पनीले अहिलेसम्म पनि पालना नगरेपछि रामसिंह मानसिक तनावमा छन्। रामसिंहमाथि कम्पनीले गरेको अन्यायविरुद्ध स्थानीय बासिन्दाले शुक्रवार जोड डियर ट्याक्टरको पार्वतीपुरस्थित सोरुम र नेपालगन्ज खजुरा रोडमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिदिए।

उक्त आन्दोलनको अगुवाइ गरेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का युवा सन्तोष चौधरीका अनुसार तालाबन्दी पश्चात् कम्पनीले आइतबार वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ