arrow

ट्विटरको सट्टामा 'कू एप', ह्वात्तै बढे प्रयोगकर्ता

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
koo.png

काठमाडौँ । आत्मनिर्भर भारत ट्रेन्ड चलिरहेका बेला ट्विटरको बदलामा भारतमा 'कू एप'को प्रयोग ह्वात्तै बढेको छ । ट्विटरकै प्रतिष्पर्धामा नयाँ भारतीय संस्करण समेत भनिएको यो सामाजिक सञ्जाल पनि ट्विटर जस्तै माइक्रोब्लगिंग एप हो । आत्मनिर्भर एप इनोभेसन जितेको यो एप सन् २०२० मै बनेको हो ।

ट्विटरले भारत सरकारको मागप्रति सकारात्मक प्रतिक्रिया नदिएका बेला 'कू एप'को प्रयोगलाई भारतीय सरकारी अधिकारीहरूले समेत प्रोत्साहन दिएका छन् । भारतीय वाणिज्य मन्त्री पीयूष गोयल, कानुन र आइटी मन्त्री रविशंकर प्रसाद एवं थुप्रै सांसदहरूले 'कू एप' चलाउन थालेका छन् ।

त्यस्तै भारतको राज्य सभामा समेत आइटी मन्त्री रवि शंकरले 'कू एप' प्रति गर्व गर्नुपर्ने बताएका छन् । त्यस्तै ईसा फाउन्डेसनका जग्गी वासुदेव (सद्गुरु), पूर्व क्रिकेटर जवागल श्रीनाथ र अनिल कुम्ब्ले, भारतको आइटी मन्त्रालय, एवं इन्डिया पोस्ट र रिपब्लिक वल्र्डलगायतका सञ्चारमाध्यमले समेत 'कू एप' को प्रयोग थालेका छन् ।

त्यस्तै सेलिब्रेटीहरुले पनि 'कू एप' प्रयोग गर्न थालेका छन् । नायिका कङ्गना रनौतले ट्विटरका संस्थापकलाई मानिसहरूलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै चेतावनीपूर्ण ट्विट गरेकी छन् । उनले अब, ट्विटरको बदलामा 'कू एप' चलाउने बताएकी छन् ।

'कू एप'का संस्थापक अपरमेय राधाकृष्णले यो वर्ष १ करोड प्रयोगकर्ता नाघ्ने लक्ष्य राखेको बताएका छन् । ट्विटरले भारतमा पछिल्लो समय किसानहरूको आन्दोलनका विषयमा सरकारविरुद्ध भइरहेका ट्विटका कारण सयौं अकाउन्ट ब्लक गरेको छ । यस्तोमा ट्विटर र भारत सरकारबीच विवाद उत्पन्न भएको छ । यसै बेला भारतमै बनेको 'कू एप'ले चर्चा पाएको हो ।



नयाँ