arrow

'फोनपे' जनकपुर साहित्य महोत्सव दोस्रो संस्करण  फागुनमा हुने

भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ ३० शुक्रबार
Janakpur-Literature-festiva.jpg

काठमाडौं। नेपाली साहित्यको उन्नयनका लागि 'फोन पे' जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ ।आयोजक संस्था नव मिथिला फाउन्डेसन र सह-आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएका हुन् । 

यही फागुन १९ देखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा हुने सो महोत्सवमा साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् भने १५ जना सहजकर्ताले प्रश्न सोध्नेछन् ।

"जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ ।", घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, "जनक, जानकी, याज्ञवल्क्य र विद्यापतिको शहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ।"

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य-पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । "सामाजिक मूल्य-मान्यता र नैतिकता हराउँदै गईरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ ।"

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताए ।

डिजिटल दुनियाँमा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक 'फोन पे' नेपालका निर्देशक सुवास शर्माले उल्लेख गरे।

नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता महोत्सवमा हुनेछ । महोत्सवमा कवि, उपन्यासकार, पत्रकार, मिडिया-व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञलगायतका क्षेत्रबाट सहभागिता रहनेछ ।

महोत्सवमा जनकपुरको सांस्कृतिक, सामाजिक जीवनका झाँकी प्रस्तुत हुनुका साथै शहरका विभिन्न भागमा हुने कार्यक्रमले थप रौनकता थप्नेछ । मैथिल् संस्कृति गाम्भीर्य बुझ्दै र स्थानीय खानाका परिकारका स्वाद चाख्दै आफूलाई चिन्न जनकपुर साहित्य महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ