- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। केही समयअघि मार्सी चामल एकाएक चर्चामा आयो । मार्सी चामल चर्चामा आएपछि व्यवसायी दुर्गा प्रसाईंले ‘मार्सी बियर’नै ल्याउने भएका छन् ।गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएका थिए । सो फोटो सामाजिक सञ्जालबाट निकै भाइरल भएको थियो ।
त्यसपछि नै मार्सी चामल देशव्यापी रूपमा चर्चामा आएको हो । मार्सी चर्चामै रहेका बेला प्रसाईंले मार्सी बियर नै ल्याउने घोषणा गरे ।बजारमा आउन नपाउँदै मार्सी बियरले पनि मार्सी भातले झैं निकै नै चर्चा बटुलेको छ । तर, यसलाई चर्चामा सीमित नभई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कदमका रूपमा लिइएको छ ।
नेपालमा विभिन्न किसिमका विदेशी बियर ब्राण्डहरु रहेका छन् । यस्तोमा व्यवसायी प्रसाईंले मार्सी चामल र जौं मिसेर मार्सी बियर ब्राण्ड बजारमा ल्याउन लागेका हुन् ।
‘मार्सी बियर बजारमा आउनुको मुख्य लक्ष्य एवं योजना भनेको स्वदेशी उत्पादनलाई स्वदेशमै गुणस्तरीय तरिकाले सदुपयोग गर्नु’ रहेको मार्सी बियरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन पौडेल बताउँछन् ।
कर्णाली प्रदेशको उच्च भेग(विशेष गरी हुम्लामा)मा फल्ने मार्सी चामलबाट बियर उत्पादन हुने भएको हो । यो बियरले राम्रो बजार पाउने आकलन गर्न सकिन्छ ।
खास गरी रोजगारी सिर्जना गर्न र स्वदेशी उत्पादनलाई प्रयोग गर्न मार्सी बियरले योगदान गर्ने सिइओ पौडेल बताउँछन् ।
मार्सी बियर उत्पादनका लागि काम भइरहेको छ । गत कार्तिकमा बियर उत्पादनकै लागि व्यवसायी प्रसाईंले भैरहवामा रहेको टाइगर ब्रुअरी बियर फ्याक्ट्री समेत किनेका छन् ।
कम्पनीले कर्णाली प्रदेशमा सामाजिक उत्तरदायित्व एवं अन्य योगदानलाई मध्यनजर गर्ने जनाएको छ । मार्सी बियरबाट आर्जन हुने पैसा खास गरी कर्णालीकै विकासमा खर्च गरिने कम्पनीको भनाइ छ ।
मार्सी बियर तीन किसिमले बजारमा आउने भएको छ । सात प्रतिशत अल्कोहल सहित ६५० मिलिलिटरमा ‘मार्सी स्ट्रोंग’ बियर बजारमा आउने छ ।
त्यस्तै ५.५ प्रतिशत अल्कोहलसहित ‘मार्सी प्रिमियम’ र ८ प्रतिशत अल्कोहलसहित ३३० मिलिलिटरमा तेस्रो किसिमको बोतलमा बियर बजारमा आउने छ ।
बियर उत्पादनमा करिब एकतिहाई मार्सी चामल प्रयोग हुनेछ भने, बाँकी जौंको प्रयोग हुनेछ ।मार्सी बियरको ट्रेडमार्क दर्ता हुनुका साथै डिजाइन एवं उत्पादन कार्य पनि अघि बढिसकेको छ ।
मार्सी बियरले स्वदेशी उत्पादनको स्वदेशमै खपत गर्नुका साथै रोजगारी सिर्जना गर्ने र अन्य उत्पादनका लागि समेत प्रोत्साहन गर्ने भएको छ ।
स्वदेशी उत्पादन र स्वदेशी ब्राण्ड हुँदा स्वदेशमा राम्रो बजार पाउने विश्वास कम्पनीले लिएको छ । नेपालमा रहेका मुख्य विदेशी बियर ब्राण्डहरुसँग मार्सीले प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
मार्सी बियरले नेपालमा उपलब्ध कुराहरूलाई नेपालमै खपत गराउन सके अर्थतन्त्रमै योगदान दिन सकिने किसिमको सन्देश फैलाउन चाहेको सिइओ पौडेल बताउँछन् ।
भविष्यमा मार्सी बियरको कमाइबाट स्वदेशी उत्पादनको खपत गर्न सकिने किसिमका अन्य उद्योगहरू सञ्चालनमा ल्याउने योजना कम्पनीको छ ।