arrow

भूतपूर्व गोर्खाहरुका समस्या समाधान गर्न प्रतिबद्ध छु : राजदूत रेग्मी

कुल आचार्य भन्छन् : बेलायत गोर्खाहरुको भूमि हो 

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
lokdarshan_regmi.jpg

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले आफु भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ युकेद्वारा आफ्नो सम्मानमा मंगलबार बेलुका आयोजित भर्चुएल समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए ।

नेपाल सरकारका पूर्व मुख्यसचिव रहीसकेका राजदूत रेग्मीले विशिष्ट प्रकृतिका समस्यालाई सम्बोधन गर्नुका साथै नेपाली संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।  ‘ती विषयहरुसंग नजिकबाट परिचित् छु। थप प्रयास गरेर टुंगोमा पुराउन मैंले आफुलाई  समर्पित राख्ने छु,’ उनले भने।

जहाँ रहेपनि नेपाल र नेपालीको हित भन्दा माथि अन्य विषय रहने छैन। नेपाल र नेपालीको दिग्विजय हुनु पर्छ।  सुख, दुख, अवसर र  समस्यामा पनि संगै कार्य गरेर नै  हामीले  सफलता प्राप्त गर्न सक्छौं।  विकास र सभ्यता, जीवन र जगतको हितका लागि हामी काम गरौँ।  हाम्रो साथ, सहयोग, समर्थन र सहकार्य संधै  रहने छ,’ उनले भने।

बेलायतस्थित नेपाली समुदायको संरक्षक, अभिभावक र प्रवर्द्धकको भूमिकामा दूतावासको २४ सै घण्टा हरपल साथ रहने पनि राजदूत रेग्मीले बताए  । गत मार्च १ तारिखका दिन लन्डन आइ पुगेका राजदूत रेग्मीले सोही दिन नै आफ्नो जिम्मेवारी सम्हालेका थिए।

स्वागत कार्यक्रममा बोल्दै लन्डन स्थित नेपाली दूतावासकी उपनियोगप्रमुख रोशन खनालले  बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र विविधतायुक्त रहेको बताइन् । नेपाली समुदायले नेपालमा विपत्तिका बेला योगदान गरिरहेको भन्दै उनले नेपाली कला तथा  संस्कृति प्रवर्द्धनमा एनआरएनएले पुराएको योगदानको प्रशंसा गरिन्।

उनले नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास पनि दिलाइन् ।

हाल नेपालमा रहेका एनआरएनएका सल्लाहकार कुल आचार्यले धैर्यवान, थोरै बोल्ने, काममा दखल भएका, राजदूत बेलायतले पाएको भन्दै खुसी व्यक्त गरे। “बेलायत वास्तवमा गोर्खाहरुको भूमि हो र नेपाली समुदाय मिलेर बसेको समाज हो,’ आचार्यले भने।  ‘डायस्पोरा र दुइ देशको सम्बन्ध अगाडी बढाउन हामीसंगै रहने छौं।’ उनले कोरोनापछि सहकार्य गर्न पाउने आशा व्यक्त गर्दै दूतावाससंगको सहकार्य आगामी दिनमा अरु प्रगाढ हुने विश्वास पनि व्यक्त गरे।

एनआरएनएका महासचिव डा. हेम राज शर्माले बेलायतको नेपाली समाज ‘मिनी नेपाल’ नै हो भन्दै बेलायतको नेपाली समाजमा परिपक्वता रहेको बताए । ‘गैरआवासीय नेपाली नागरिकता सम्बन्धि ऐन संसद मै अड्केको छ।  छुट्टै ऐन परराष्ट्र मन्त्रालयमा गएको छ।  सम्पत्तिको सुरक्षाको कुरा त्यसमा छ ।  सीप, ज्ञान स्थानान्तर हुन सकेको छैन।   दोश्रो पुस्ता एकदम सम्भावना बोकेर आएको छ।  नेपालले लगानी गर्नु नपर्ने  यो जनशक्ति नेपाल सरकारले प्रयोग गर्न जरुरी छ,’ उनले भने।  

बरो अफ बार्नेटका उपमेयर  लक्ष गुरुङले केहि वर्ष यता नेपाली मूलका व्यक्तिहरु पनि बेलायतको राजनीतिमा सक्रिय रुपमा लागि रहेको बताए । उनले अहिले बेलायतमा नेपाली मूलका  ८ जना काउन्सिलरहरु निर्वाचित भएर कार्यरत रहेको जनाए। 

समाजसेवी डा.राघव धितालले कोरोना भाइरसले गर्दा प्रत्यक्षरुपमा भेट्न नपाए पनि भर्चुएल मध्यमबाटै स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपाल-बेलायत सम्बन्ध २०० वर्ष भन्दा पनि  पुरानो हो । सन् १९३४ मा स्थापना भएको लन्डन स्थित नेपाली दूतावास दक्षिण एसियाको सबैभन्दा पुरानो राजदूतावास हो।  ब्रिटेन हामीसंग ऐतिहासिक सम्बन्ध भएको देश हो,’उनले भने।  उनले नेपाल तथा बेलायतबीच फेरि सिधा हवाइ सेवा शुरु गर्न पहल गर्न राजदूत रेग्मीलाई आग्रह पनि गरे।

आइसीसी सदस्य रामशरण सिम्खडा, आइसीसी सदस्य चन्द्र गुरुङ लगायतका वक्ताले नवनियुक्त राजदूत रेग्मीलाई स्वागत गर्द उनको कार्यकालको सफलताको कामना गरेका थिए।

एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले एनआरएनए युकेले बेलायतस्थित नेपालीहरुका सम्पूर्ण संघसंस्था तथा नेपाली दूतावाससंग हातेमालो गरेर अगाडि बढीरहेको बताइन।  उनले बेलायतमा यही मार्च महिनामा हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई सहभागी गराउने उद्देश्यले जनचेतनामूलक अभियान नै चलाई रहेको जानकारी पनि दिइन् ।

एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिलबाबु खड्काले सबैलाई स्वागत गरेका थिए।–जिएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ