arrow

डडेल्धुरामा सडक दुर्घटनामा वृद्धि

logo
राम धामी,
प्रकाशित २०७७ चैत २ सोमबार
Accident-truck-dadeldhura.jpg

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्र मानिने डडेल्धुरा जिल्लामा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला जोडने प्रमुख भौगोलिक केन्द्र डडेल्धुरामा सवारी साधनको संख्यामा भएको वृद्धिका साथै सडकको अवस्था बिग्रँदै गएकाले  सडक दुर्घटनामा वृद्धि भएको हो । 

डडेल्धुरामा चालु आर्थिक वर्षको आठ महिनामै २० वटा सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७५-०७६ मा १६ वटा सवारी साधन दुर्घटना परेका थिए । जसमा ३५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६-०७७ मा २३ वटा यातायातका सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराको तथ्याङ्कमा उल्लेख छ । । आर्थिक वर्ष २०७६-०७७ मा सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा चार जनाको सडक दुर्घटनामा परि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । चालु आर्थिक वर्षमा आठ महिनाको अवधिमा सडक दुर्घटनामा वृद्धि भए पनि सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा गत वर्षको तुलनामा कमी देखिएको छ ।

साना सडक दुर्घटनाका कारण सवारी दुर्घटनाको संख्या बढी देखिएको भए पनि ठुला सडक दुर्घटनामा भने पछिल्लो समय कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए । उनले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन चालकलाई कारबाही गरिन थालेपछि पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटनामा पनि कमी आएको जानकारी दिए । 

आम नागरिकमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम कार्यान्वयन भइरहेकोले जनचेतना वृद्धि भए पनि कानुन कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणमा मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि सवारी दुर्घटना बढ्दै जाने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । सवारी साधन दुर्घटना बढ्नुको मुख्य कारण जीर्ण सडक र तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति भएको डीएसपी नेपालको ठहर छ । 

अव्यवस्थित सडक, चालकको चरम लापरबाही, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण डडेल्धुरामा सवारी साधन दुर्घटनाका मुख्य कारण मानिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराले जनाएको छ । राम्रोसँग ड्राइभिङ तालिम नलिएको, भनसुन तथा घुस खोरीको आधारमा लाइसेन्स उपलब्ध हुनु, चालक गफमा भुल्नु जस्ता कारण दुर्घटना हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सवारी दुर्घटना बढ्दै गएकाले पछिल्लो अवस्थामा झन् चुनौतीको विषय बनेको हुँदा सवारी दुर्घटना कम गर्न सडकको अवस्था सुधारदेखि चालक अनुमति पत्र वितरणमा समेत ध्यान दिनुपर्ने ट्राफिक जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराका प्रमुख खत्रीले बताए । यससँगै ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिमा सुधार आउनुपर्ने उनले जिकिर गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ