arrow

हेटौँडाका 'वन' डढेलोले सखाप हुँदै, सम्बन्धित निकायलाई छैन चासो

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत ११ बुधबार
Fire-forest-hetaunda.jpg

हेटौँडा । केहि दिन देखि लागेको डढेलोले हेटौँडा वरापरका वन क्षेत्र जलेर सखाप भएको छ। लगातारको डढेलोले सयौँ हेक्टर बन जङ्गल जलेर खरानी हुँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।

हेटौँडा उपमहानगरपालिका–२ मा पर्ने सुन्दर सामुदायिक वन, बनसखण्डी वन, भैरवडाडा वरिपरिका वन, गढी गाउँपालिकामा पर्ने वन लगायत वरिपरिका सबै वनमा डढेलो लागेको छ तर बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौँडाको कार्यालयसँगै जोडिएको वनमा तीन दिनदेखि लगातार आगलागी हुदा समेत यी निकाय मौन बसेका छन् । आजसम्म कुनै पनि निकायले यसप्रति चासो दिएका छैनन् ।

डढेलो नियन्त्रणको जिम्मेवारी सम्बन्धित मन्त्रालय, विभाग र हस्तान्तरित सामुदायिक वनका पदाधिकारीहरूको नै हो। तर पनि आगो लाग्नेवित्तिकै नियन्त्रणमा ध्यान नदिँदा विकराल रूप लिएको छ ।

डढेलोको कारण हेटौँडाका जङ्गलछेउमा भएका बस्ति जोखिममा परेका छन् ।बस्तीमा डढेलो पस्ने चिन्ताले हेटौँडा विभिन्न टोलका स्थानीय रात भरी नसुती बसेका छन् तर यसप्रति सम्बन्धित निकाय भने चुपचाप हेरेर बसेको छ । आगो नियन्त्रणको कुनै पनि पहल भएको पाइएको छैन ।

सुख्खा मौसमको बेला वर्षेनी लाग्ने डढेलोका कारण पर्यावरणीय समस्या, बोटबिरुवा नासिने, वन्यजन्तु स्थानान्तरण र जलेर मर्ने साथै वातावरणीय प्रदूषणसमेत बढ्दै गएको छ । डढेलोका कारण बनमा बस्ने जीवजन्तुहरू सबैभन्दा समस्यामा पर्ने गरेका छन्। हरेक वर्ष हावाहुण्डरी चल्ने समयमा डढेलो लाग्ने गरेको छ। सम्बद्ध निकाय चनाखो नहुँदा डढेलोले विभिन्न समस्या निम्त्याइरहेको छ।

डढेलोको कारण हुर्किँदै गरेको मसिनो बिरुवाहरू मर्ने गरेका छन् भने हेटौँडा वरपरका वन पातलिँदै गएको छ। तर यसप्रति डिभिजन वन कार्यालय हेटौँडा रमिता मात्र हेरेर बस्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ