arrow

लिमीबाटै मानसरोवर कैलाशको दर्शन (फोटो फिचर)

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ चैत ११ बुधबार
limi-kailash.jpg

हुम्ला। हुम्लाको हिमाल पारीको गाउँ लिमिबाटै तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ । यसरी भनेको सुन्दा पत्याउन गाह्रो हो तर सत्य यही हो । विगतका वर्षहरूमा मानसरोवर कैलाश दर्शनका लागि तीर्थयात्रीहरू तिब्बतको भिसा लिएर सिमिकोट हिल्सा हुँदै तिब्बतको ताक्लाकोट हुँदै जानु पर्ने बाध्यता थियो ।

नेपाली भूमि नाम्खा गाउँपालिका -६, लिमिको लाप्चाबाट मानसरोवरको कैलाशको दूरदर्शन गर्न सकिने भए पछि हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकहरूलाई सहज हुने भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले बताए । कोभिडका कारणले हुम्लाको पर्यटन विकासमा ठुलो क्षति बेहोर्नु परेको अध्यक्ष लामाले बताए ।


 
कैलाश मानसरोवर दर्शनका लागि सबैभन्दा बढी भारतीय धार्मिक पर्यटक आउने भएकाले अब चिनियाँ नाका नखोले पनि नेपाली भूमिबाटै कैलाश मानसरोवर दूरदर्शन गर्न सकिने भएकाले यस वर्ष धेरै पर्यटक आउने सम्भावना रहेको उनले बताए ।

सीमकोटको बाटो भएर मानसरोवर कैलाश दर्शन गर्न जाने पर्यटकले नेपालगन्ज सिमिकोट जहाजमा र सिमकोटबाट हेलिकप्टरमार्फत हिल्सामा पुगी चाइनिज भिसा लिएर जानुपर्ने व्यवस्था थियो । त्यसका लागि पाँचदेखि सात दिनको प्याकेजमा मानसरोवर हुँदै कैलाश परिक्रमा गरी फेरि हिल्सा हुँदै सीमकोटमा फर्किनु पर्ने हुन्थ्यो । तर कोभिडका कारण चीन सरकारले कैलाश मानसरोवर जाने हिल्सा नाका बन्द गरेपछि मानसरोवर कैलाश दर्शककै लागि आउने धार्मिक पर्यटकहरू यसबाट वञ्चित हुँदै आएका छन् ।

चिनियाँ नाका बन्द हुँदा पनि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवरको दूरदर्शन गर्न सकिने भएकाले त्यसैलाई ध्यानमा राखेर माउन्टेन हेलिकप्टरले विशेषतः भारतीय तीर्थयात्रीलाई नेपालबाटै कैलाश मानसरोवर दूरदर्शन गर्ने उद्देश्यका साथ नयाँ प्याकेज बनाएको पर्यटन व्यवसायी विजय लामाले बताए ।

सिता एयर र माउन्टेन हेलिकप्टर को सहकार्यका कोरोनाका कारण लामो समय कैलाश दर्शन गर्न नपाएका तीर्थयात्रीलाई मध्यनजर गरेर नेपाली भूमिबाटै कैलाश मानसरोवरको दूरदर्शन गराउने रुट तय गरेको लामाले बताए, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका-६ लिमीको लाप्चीबाट कैलाश मानसरोवर दूरदर्शन गर्न व्यवस्था मिलाएको पर्यटन व्यवसायी लामाले बताए ।

हिन्दु र बौद्ध धर्मालम्बिहरुका लागि धार्मिक महत्त्व बोकेको कैलाश मानसरोवर दर्शनकै लागि भनेर चीन सरकारले प्रत्येक वर्षको अप्रिल देखि सेप्टेम्बरसम्म तीर्थयात्रीका लागि नाका खोल्ने गरेको भए पनि यसबर्ष कोभिडका कारण नाका बन्द हुँदा कसैले पनि कैलाश मानसरोवरको दर्शन गर्न सम्भव भएन । त्यसैको प्रभावले अहिलेसम्म पनि चीनसँग जोडिएको हिल्सा नाका बन्द छ । हुम्लाको बाटो भएर बर्सेनि १० देखि १५ हजार धार्मिक पर्यटक आउने गर्दछन् । तर २०२०मा कोरोनाका कारण सबै ठाउँमा बन्दाबन्दी भए पछि पर्यटक आउन सकेनन् ।

कैलाश मानसरोवर दर्शन गर्नका लागि नाका खुला नभए पनि हुम्लाको नाम्खा-६ लिमीको लाप्चीबाट खुला मौसममा कैलाश र मानसरोवरको दृश्य अवलोकन गर्न सकिने र यसले पर्यटकीय अर्थतन्त्रलाई पनि बलियो बनाउन केही सहयोग हुने सम्भावना देखेपछि यसलाई नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा स्थापना गर्न लागेको पर्यटन व्यवसायी एवं होटेल व्यवसायी सङ्घ हुम्लाका अध्यक्ष मिम लामाले बताए ।

लिमिको लाप्चा तिब्बत र नेपालको अवैध नाका भएकाले कैलाश मानसरोवरको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थाले पछि चिनियाँ सरकारले यो क्षेत्रमा कडाइ गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । लिमिको लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन प्याकेज बनाएर विभिन्न ट्राभल एजेन्सी मार्फत यसको प्रचार प्रसार गर्नु आवश्यक रहेको छ । कतिपय नेपालीलाई बिना भिसा नेपाली भूमि लिमिको लाप्चीबाट कैलाश मानसरोवर दूरदर्शन गर्न सकिन्छ भन्ने कुरा पनि थाहा छैन । उनीहरूलगायत भारतीय तीर्थयात्रीहरूलाई नै टार्गेट गरी यो रुटबाट धार्मिक पर्यटक ल्याउने हो भने हुम्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कसरी गर्ने लाप्चाबाट कैलाश मानसरोवरको दर्शन ?
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटवाट झन्डै ५० कोष टाढा पर्ने लिमी सामुन्द्रिक सतह देखि ५ हजार मिटर उचाइमा रहेको नाम्खा गाउँपालिका-६, लिमिको लाप्चबाट कैलाश पर्वत र मानसरोवर तालको दूरदर्शन गर्न सकिन्छ । कोभिडका कारण कैलाश मानसरोवर दर्शन गर्न बाटो बन्द भए पछि परापुर्बकाल देखि हिन्दु तथा बौद्ध धर्मालम्बिहरुको धार्मिक आस्थाको केन्द्रबिन्दुका रूपमा रहेको एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो ।

कैलाश मानसरोवर दर्शनका लागि पैदल, स्थल र हवाई मार्गको प्रयोग गरिन्छ । विगतका १ दशक अगाडि कैलाश मानसरोवर दर्शनका लागि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ४, ५ दिन पैदल हिडेरका हिल्सा पुगे पछि त्यहाँबाट चिनियाँ गाडीमा ताक्ला कोट पुगिसके पछि ताक्लाकोटबाट ४ घण्टामा मानसरोवर तालमा पुगेर पूजाआजा गरे पछि कैलाश दर्शनका लागि जाने गरिन्थ्यो । अहिले पछिल्लो समय प्राय सिमकोटबाट १५ मिनेटमा हेलिकप्टरबाट हिल्सा, हिल्साबाट ताकलाकोट नबसी जाने हो भने ३ घण्टामा मानसरोवर कैलाशको दर्शन गरेर हिल्सा पुगिन्छ हिल्सा आएर मौसम सफा भए हेलिकप्टरमा सिमकोट समेत आउन सकिन्छ ।

कैलाश मानसरोवर दर्शनका लागि नेपालगन्ज, सिमकोट हुँदै हिल्साको बाटो मानसरोवर कैलाश दर्शनका लागि सबैभन्दा छोटो बाटो भएकाले प्राय भारतीय तीर्थयात्री यही नाकाबाट आउने गर्छन् । कोभिडका कारण एक वर्ष बन्द भएको पर्यटन व्यवसायी पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक आउन थाले पछि तङ्ग्रिने अवस्थामा आउन थालेको जिल्लाका पर्यटन व्यवसायीले बताएका छन् ।

लकडाउन पछि एक रात नेपालगन्जमा बिताउँछन्। भोलिपल्ट बिहान जहाजबाट सिमकोट पुग्छन् । सिमकोटमा फेरि एक रात बिताउनुपर्ने हुन्छ । उक्त क्षेत्र ५ हजार भन्दा उचाइमा रहेको हुँदा यात्रीहरूलाई लेक नलागोस् भनेर सिमकोटमा राख्ने व्यवस्था गरिन्छ । एक दिनको सिमकोट बसाई पछि बल्ल मानसरोवर कैलाशको दूरदर्शनका लागि हेलिकप्टरबाट लिमिको लाप्चामा लगी कैलाश पर्वतको दर्शन गराउने व्यवस्था मिलाइएको छ । हेलिकप्टरमा सिमकोटबाट लाप्चासम्मको हवाई दूरी लगभग २० मिनेटको छ ।

 तीर्थयात्रीलाई बढीमा १० देखि १५ मिनेटसम्म मात्र लाप्चामा बस्न दिइने प्रबन्ध गरिएको छ । ‘लाप्चा धेरै नै उचाइमा रहेका कारण हामीले तीर्थयात्रीहरूलाई कैलाश पर्वत दर्शन गर्न वा धूप बत्ती चढाउन बढीमा १० देखि १५ मिनेटसम्म मात्र बस्न दिने व्यवस्था गरेको पर्यटन व्यवसायी विजय लामाले बताए । हिउँदको समय हिउँ हुने भएकाले दूरदर्शनका लागि हेलिकप्टर बाहेक अरू विकल्प छैन । तर वर्षाको समयमा भने स्थल मार्गबाट पनि दूरदर्शन गराउन सकिन्छ । यसो गर्दा सिमकोटबाट गाडीमा तुलिङमा दोस्रो दिन बिहान कैलाश मानसरोवरको दूरदर्शन गरेर आउने हो भने राती सम्म सदरमुकाम सिमकोट पनि आउन सकिन्छ ।

जति चर्चा परिचर्चा पाउनु पर्ने हो त्यति पाउन सकेन
नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हो हुम्लाको सिमिकोट । समुन्द्री सतह देखि २ हजार ९ सय मिटर उचाइमा रहेको सिमिकोट सास्कृतीक प्राकृतिक तथा धार्मिक हिसाबले भरिपुर्ण भएर पनि गरिबिको उपमा पाएको हुम्लाले पछिल्लो समय हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थ स्थल जाने प्रवेशद्वार हुम्लाको सिमिकोट भएपछि केही चर्चा परिचर्चा भएको हो । राष्ट्रिय तथा अन्तर्राष्टिय सञ्चार माध्यमले पनि जहिले पनि गरिबी र पछाडि परेका कुराहरू मात्र उजागर गर्ने गरेका छन् हुम्लाको विषयमा । देशभर मात्र नभएर विश्वभर कोभिडका कारण सबै क्षेत्र तहस नहस भएको छ । तर बिस्तारै बिस्तारै कोभिडलाई सहजीकरण गर्दै मानिसहरू घुम्न पनि जान थालेका छन् । यही कुरालाई मध्य नजर गरेर होला हुम्लाको सिमिकोटबाट हेलिकप्टर मा पर्यटक बोक्न थालिएको छ ।

यस अधि नै विशेष गरी मानसरोरबार जाने नाका बन्द भएपछि भारतीय पर्यटकहरूलाई लक्षित गरेर माउन्टेन फ्लाईट सुरुवात गरेको हो । निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले माउन्टेन फ्लाईटको सेवा शुभारम्भ गरेको हो । पछिल्लो समय सिमकोटबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थ स्थल मानसरोरबर दुरदर्शनका लागि हेलिकप्टर मार्फत लिमि लाप्चमका लागि पर्यटक बोक्न थालिए पनि यसको उचित प्रचार प्रसार हुन सकेको छैन । यसको उचित व्यवस्थापन र प्रबन्धनका लागि कैलाश मानसरोवर दूरदर्शन प्याकेज बनाएर विभिन्न ट्राभल एजेन्सी मार्फत यसको प्रचार प्रसार गर्नु आवश्यक रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ