- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । दैनिक उपभोग्य बस्तुमा बिक्री मूल्य, उत्पादन मिति, उपभोग्य मिति र कम्पनीको नाम समेत उल्लेख नगरेर बुटवलका केही बेकरीज उद्योगहरूले आफ्ना उत्पादनहरू बजारमा बिक्री गर्दै आएको पाइएको छ ।
जुन खाद्यवस्तु मानव स्वास्थ्यका लागि उपयुक्त नभएको स्वास्थ्यकर्मीले बत्ताएका छन् । किराना पसलहरूले ताजा हो भन्दै धेरै दिन सम्म राखेर बेच्ने गर्नाले स्वास्थ्यमा असर पुग्ने जनाइएको छ । कम्पनीको नाम, ठेगाना, उत्पादन मिति र उपभोग्य मिति र मूल्य जस्तो महत्त्वपूर्ण स्टिकर नटाँसेर बजारमा बिक्री गर्दै आएका पाउरोटी, डोनट र टोस्ट लगायत उत्पादन वस्तु चरम लापरबाहीका साथ बिक्री गरिँदै आइएको पाइएको हो ।
जसको उपभोगले म्याद सकिएको खाएमा स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने भए पनि तर, सम्बन्धित निकायहरूले बिक्री पसलहरूलाई कहिलेकाहीँ चेकजाँज गर्ने, त्यहाँ भेटिएका म्याद नाघेका, मूल्य, उत्पादन मिति नभएको भनी उक्त वस्तु नियन्त्रण गरी नष्ट गर्ने गरे पनि विडम्बना, सो टोलीले उत्पादन गर्ने उद्योगहरूमा अनुगमन नगर्ने प्रवृत्तिले बेकरीज उद्योगहरूको लापरबाही बढ्दै गएको बुटवल स्थित तिन धारा डेरी पसलका सञ्चालकले बताए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त रूपमा हुने अनुगमन टोलीले बेकरीज उद्योगहरूलाई ध्यान नदिँदा उत्पादन कार्य निरन्तर चल्दै आएको छ । बुटवलको एक बेकरीज कम्पनी श्री आदर्श बेकरीजले उद्योगको नाम र ठेगानामा बुटवल उपमहानगरपालिका वडा नं.४ आर्दशनगर मात्रै खुलाएर बिक्री गर्दै आएको छ, भने अन्य उद्योगहरूले कुनै जानकारी मुलुक स्टिकर नराखेर बिक्री गर्दै आएका छन् । आदर्श बेकरीजले उत्पादन मिति र उपभोग्य मिति राखेको छैन ।
यती मात्रै होइन, अनुगमनका क्रममा बुटवलका केही पसलहरूले नुन, चाउचाउ जस्ता अन्य उपभोग्य बस्तुहरूमा अधिकतम बिक्री मूल्यभन्दा धेरै मूल्य लिने गरेको, म्याद नाघेका, लेबल नै नभएका र एउटा सामान अर्कै उत्पादनको प्याकेटमा राखेर बिक्री गरेको पाइएकाले उनीहरूलाई जनही ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरिएको वाणिज्य कार्यालय भैरहवाका निरीक्षण अधिकृत टेकराज भट्टराईले जनाए ।
यसरी जरिवानामा पर्नेमा केशरी किराना राम मन्दिर लाइन, गुडविल मार्ट बुटवल ५ विकास पथ र न्यु कृष्ण किराना हाटबजार लाइन रहेका छन् । जसले गैर कानुनी कार्य गरेको ठम्याई छ ।
केशरी किराना पसलले ७ वर्षसम्म पसल नवीकरण नगरेको, लेबल नभएका सामान बिक्री गरेको र बिक्री मूल्य भन्दा धेरै मूल्य लिएको भन्दै २० हजार रुपैयाँ, गुडविल मार्ट र कृष्ण किरानालाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत झविलाल भट्टराईको भनाई रहेको छ ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले पहिलो चरणको अनुगमनमा सुधार गर्नाका लागि सुझाव दिने र दोस्रो पटक पनि त्यस्ता उद्योग तथा खुद्रा पसलहरूले गल्ती गरेको फेला परेमा कानुनी कारबाही अगाडि बढाइने बताए । उनले, भने बेकरीज उद्योगहरूको धेरै गुनासो आएको छ । यसलाई हामीले ध्यानमा राखेका छौँ ।