arrow

कारखानाका मालिक बन्न थाले चिया किसान, सहकारीमार्फत नै खुले ३० कारखाना

logo
युवराज गौतम
प्रकाशित २०७७ चैत ३० सोमबार
tea-co.jpg

इलाम । इलामको सूर्योदय नगरपालिका-९ ढाकेश आचार्य एक दशक यतादेखि चिया खेतीमा छन् । उनको घरपरिवार चलाउनेदेखि वालबच्चा पढाउन चिया खेतीबाट प्राप्त आम्दानी पर्याप्त छ ।

तर हरियो चियाको मूल्यमा कारखानाहरुबाट ठगिनुपरिरहेको उनको गुनासो दशकदेखि कै हो । निजी स्तरमा संचालित कारखानाहरुले हरियो पत्तिका लागि तोकिएको मूल्य समेत किसानलाई नदिने, ढिला भुक्तानी दिने र विभिन्न बहानामा किसानलाई दुःख दिने गरेको आचार्यले भोग्दै आएको सुनाउँछन् ।

तर गाउँमै सहकारी सदस्यहरुको अगुवाइमा ‘इलामेली चिया उत्पादक सहकारी संस्था’मार्फत ६ करोडको लगानीमा चिया प्रशोधन उद्योग खुलेपछि राहत महशुस भएको उनको अनुभव छ । ‘निजी कारखानाबाट हैरानी खेपेपछि हामी आफैंले संचालनमा ल्याएको कारखानामा हरियो चिया बेचिरहेका छौं, प्रशोधन आफैं गर्छौं, बजार आफैं खोज्छौं त्यसबाट नै सन्तुष्टी मिलेको छ,’उनले भने,‘घाटा ब्यहोर्नु परेको छैन्, आफैं कृषक आफैं कारखानको साहू जस्तो भएका छौं ।’

त्यस्तै इलाम सूर्योदयका सुकमान योल्मू पनि सहकारीबाट संचालित कारखानामा हरियो पत्ति विक्री गर्दा घाटा ब्यहोर्नु नपरेको सुनाउँछन् । उनी भन्छन्, ‘कारखानामा हाम्रो आफ्नै लगानी रहेको तथा तयारी चियाको नाफा-घाटा आफैं ब्यहोर्नु पर्ने भएकाले नाफा कमाउने गरी नै हामी मेहेनत गर्छौं ।’

इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण सुवेदीका अनुसार आफूहरुले रसियाको चिया कम्पनीसँग साझेदारी गरेकाले बजारको समस्या नभएको बताउँछन् । २ सय ५० किसान आबद्ध रहेको उक्त सहकारी संस्थामा आफूले उत्पादन गरेको चिया विक्री गर्दा प्राप्त हुने मूल्यबाट सबै सन्तुष्ट रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । उनले भने,‘सहकारी भनेको एकता रहेछ, मन मिलेपछि सबैले मेहेनत गर्नुपर्ने, गुणस्तर चिया उत्पादन गर्नैपर्ने बाध्यता सबै किसानको काँधमा हुँदोरहेछ त्यसैले किसानहरु स्वयम जिम्मेवार हुुनुहुन्छ ।’

इलामेली चिया उत्पादक सहकारी संस्थामा मात्र होइन चिया खेतीलाई स्थायी जागिरजस्तै ठान्ने सूर्योदय नगरपालिका ११ का तोयानाथ भट्टराई आफूहरुले नै संचालनमा ल्याएको जनहीत कृषि सहकारीको मझौला कारखानमा आफूले उत्पादन गरेको चिया विक्री गर्दा सन्तुष्टी मिलेको बताउँछन् ।

१ सय ५० किसान आवद्ध उक्त कारखानामा किसानहरुलाई उचित मूल्य र बोनस पनि पाउने गरेको भट्टराईले बताए । उनले भने,‘सहकारीको भावनाले अन्य निजी स्तरका कारखानामा भन्दा आफ्नै कारखानामा चिया विक्री गर्दा अपनत्व पनि महसुश हुँदोरहेछ, गुणस्तरीय चिया उत्पादन गर्न जाँगर पनि लाग्ने रहेछ ।’

हरियो पत्तिको मूल्य कम पाउने, लागतअनुसारको मूल्य नपाउने, ठूला उद्योगहरुले सिन्डिकेट लगाउने जस्ता हैरानी खेपेका किसानहरु सामूहिक लगानीमा कारखानाहरु खोल्न अग्रसर भएको केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालको भनाइ छ । उनी भन्छन्, ‘सामूहिक लगानीमा कारखाना संचालनमा ल्याउन किसानहरु पहिले सहकारी खोल्न तत्पर हुँन्छन् किनकी सहकारीमार्फत कारखाना खोल्दा सुरक्षित र भरपर्दो ठान्छन् ।’

इलाम, पाँचथर, झापा, धनकुट्टा, तेर्‍हथुमलगायतका जिल्लामा करिब ३० वटा कारखाना सहकारीमार्फत संचालित रहेको अध्यक्ष दाहालले जानकारी दिए । उनले भने,‘सरकारी तथा गैरसरकारी अनुदान पाउने अपेक्षा र सामूहिक भावनाका कारण कारखाना नाफामा लैजान सकिने भएकाले किसानहरुलाई उद्यमी बनाउने उदेश्यले संघले पनि सहकारीमार्फत कारखाना संचालन गराउन उत्प्रेरित गराइरहेको छ’, उनले अगाडि भने,‘आफूले उत्पादन गरेको चियाको उचित मूल्य पाउन मात्र नभइ, आफू किसानबाट उद्यमी बन्न सकिन्छ भन्ने भावनाको विकास गराउन क्रियाशिल छौं, जसले विस्तारै सफलता पाउँदै गएको छ ।’

इलाम नगरपालिका १० गोदक स्थित ट्रिनिटी चिया प्रशोधन उद्योगका संचालक दिलिप प्रधान सामूहिक लगानीमा खुलेका साना कारखानालाई बजार पहिचान गर्न केही असहज भएपनि किसानलाई समस्या नहुने बताउँछन् । ‘सामूहिक लगानीले किसानलाई उप्रेरित बनाउने मात्र नभइ कारखानाप्रति जम्मेवार बनाउने रहेछ जसका कारण प्रतिफल लिनलाई समस्या पर्दैन्’ उनले भने । 

बजार खोज्न सहजिकरणको अभाव

सहकारी र कृषकको पहलमा खुलेका कारखानाले, अर्थोडक्स, सिटीसी, ग्रिन टीलगायत उत्पादन गर्छन् । तर उत्पादित चियाको बजार खोज्न सरकारी तवरबाट भरपर्दो सहयोग नभएको किसानहरुको गुनासो छ । सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पुर्‍याउने लक्ष्य लिएका छन् ।

अर्गानिक सर्टिफिकेट लिने अन्तर्राष्ट्रिय बजारमा चियाको निर्यात बढाउन सहकारी संस्थाहरु स्वयम सक्रिय रहेपनि त्यो पर्याप्त छैन् । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहाल भन्छन्,‘हामीले बजार खोज्ने भनेको भारत नै पहिलो हो, नेपालमा सिटीसीको बजार छ तर अर्थोडक्स भारतलगायत तेस्रो मुलुक नै हो तर सबै बजारमा किसानको पहुँच पुगेको छैन् ।’

उनले भने, ‘बजार खोज्न सरकारको सहकारी विभागसँग पनि पटक पटक अनुरोध गरेका हौं तर पर्याप्त सहयोग पाइरहेका छैनौं ।’ खेती किसानी गरिरहेका व्यक्तिलाई उद्यमी बनेर कारखाना संचालन गर्न किसानहरुलाई चुनौती धेरै छ । अध्यक्ष दाहाल भन्छन्, ‘किसानलाई उद्यमी बनेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न समस्या छ, त्यतिमात्र होइन हाम्रो सहकारीमैत्री बजार नीति नहुँदा किसानहरुले चुनौति झेलिरहेका छन् ।’

अनुदानको अपेक्षा

साना चिया किसानहरु सहकारीमार्फत कारखाना संचालन गर्न उत्साहित छन् । चिया खेतीको विस्तारसँगै किसानहरु यसबाट पर्याप्त आम्दानी गर्न लागिपरे पनि विविध समस्याहरुले उनीहरु अफ्ठयारोमा छन् । पर्याप्त पूँजीको अभाव, विदेशबाट झिकाइने कारखानका मेसिनमा चर्को भन्सार शुल्क, प्राविधिक दक्षतालगायतका अभावले किसानहरुलाई पिरोलेको छ ।

अध्यक्ष दाहालका अनुसार यी समस्या त छँदैछ त्यसबाहेक चिया खेती लगाएको जग्गाको कर, चिया विक्रीका लागि बजारसम्म पुर्‍याउँदा लाग्ने कर तिर्दा तिर्दा किसानलाई हैरानी छ । उनी भन्छन्,‘अपेक्षा अनुसार सरकारी अनुदान पाउन मुस्किल छ, गैरसरकारी संस्था र बैंकहरुले अनुदान तथा ऋण उपलब्ध गराएपनि त्यो पर्याप्त छैन ।’

साना चिया उद्यमलाई उन्नती समावेशी बृद्धि कार्यक्रम साथै सहकारी विभाग र बैंकहरुले पनि सिमित मात्रामा सहयोग पुर्‍याउँदै आइरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले २०७५ यता चारवटा चिया उत्पादक सहकारीलाई अनुदान उपलब्ध गराएको छ । सहकारी विभागका कर्मचारी चेत प्रसाद रिजालले दिएको जानकारी अनुसार झापा, इलाम र उदयपुरका चारवटा चिया उत्पादक सहकारी संस्थाले अनुदान पाएका छन् ।

विभागका अनुसार वि.स.२०७५/०७६ मा  झापाको सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले ७९ लाख ९० हजार, झापाकै साना किसान चिया उत्पादक सहकारी संस्थाले २५ लाख १८ हजार, उदयपुरको सगरमाथा चिया विकास सहकारी संस्थाले २५ लाख ७० हजार र इलामको साँघुबेसी चिया उत्पादक सहकारी लिमिटेडले १ करोड २० लाख अनुदान प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ