arrow

कोरोनाको जोखिम बढ्दो : नियन्त्रण गर्न बनेका मापदण्ड र नियमहरु पालना हुनै छाडे

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
corona-nepal-map-1618301420.jpg

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिन थालेको एक बर्ष पुरा भएको छ । विश्वभर संत्रास फैलाएको कोरोनाले विगत एकबर्ष नेपालभरको जनजीवन पुरै आतंकित रहेको थियो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आम मानिसहरु सचेत थिए । आपसी भेटघाट गर्दा हात मिलाउनेहरु नमस्कार गर्न थालेका थिए । भेटघाट पातलो थियो । जमघट कम थियो ।

संक्रमण हुन सक्ने डरले मानिसहरु पसलबाट ल्याएको फलफुल, तरकारी घाममा राख्ने र धोइपखाली गरेर मात्र भान्सामा लैजान्थे । सिधै भान्सामा लैजान डराउँथे ।

गत बर्षको शुरुवातमा मानिसहरु जति सचेत थिए बर्षको अन्त्यमा आइपुग्दा मानिसहरुमा डर कम हुँदै गएको छ । पछिल्लो समय बढेको संक्रमणको दरले मानिसहरुलाई सचेत त गराएको छ तर मापदण्ड पालना गर्न वेवास्ता गरिरहेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्ड पालना नभएमा आउँदो जेठ/असारमा संक्रमण दर उच्च बिन्दुमा पुग्ने सरकारको आकलन रहेको बताइसकेका छन् ।

बर्षको अन्त्यमा आइपुग्दा कोरोना नभएकै जस्तै आवतजावत बढेको छ । सरकारी तयारी र निर्देशन फितलो छ ।  सिनेमा हल, नाटकघर चलिरहेका छन् । सडक प्रदर्शन उस्तै छ । विद्यार्थी संक्रमितको संख्या बढेपछि स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरू बन्द गर्ने वा खोल्ने विषयमा बहस जारी छ । तर स्वास्थ्य सचेतना नभएको गुनासो बढिरहेको छ । 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति सांसद जयपूरी घर्तीले संक्रमण दर बढ्दै गएपछि समितिको बैठक डाकेर सरकारलाई आफूहरुले निर्देशन दिइसकेको बताउँछिन् । उनले भनिन्,‘दोस्रो चरणको कोरोना नियन्त्रण गर्न खोप, भेन्टिलेटर, आइसोलेसनलगायतका अत्यावश्यक तयारीका लागि सरकारका प्रतिनिधिहरुलाई बोलाएरै निर्देशन दिइसकेका छौं ।’

हुनत यसअघि सरकारले कोरोना संक्रमितको पहिचान, नियन्त्रण र रोकथाम गर्न ५० भन्दा बढी निर्देशिका र नियमहरु बनाएको थियो । सत्तारुढ दल आपसी द्वन्द्धमा फसेपछि सरकार कोरोना नियन्त्रणमा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । भीडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गराउने नियम पनि कार्यान्वयन हुन सकेको छैन ।

कोरोना नियन्त्रणमा जुट्नुपर्ने दलहरु आपसी द्वन्द्वमा जुटेपछि समाजमा कोरोनाले भयाभवको स्थिति लिनसक्ने विज्ञहरुको भनाइ छ । शिक्षा तथा स्वास्थ्य समितिकै सचिब पुष्पप्रकाश खनाल भन्छन्,‘कोरोनाको स्थिति पहिलेकै जस्तो हुनसक्ने अनुमान गरेर हामीले सरकारलाई सचेत गराउँदै निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘चैत २४ गते नै बैठक बोलाएर कोरोना विमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्ने, अस्पतालमा आइसोलेसनलाई प्रभावकारी बनाउने, दक्ष जनशक्ति व्यवस्थापन तत्काल गर्नेलगायतका निर्देशन सरकारले पाइसकेको छ ।’

बर्षको अन्तिम महिनामा आइपुग्दा फेरि कोरोनाको तरंगले तर्साइरहेको छ । वर्षको सुरुवातमा चीनको वुहानमा देखिएको कोरोना भाइरसले तर्साएको थियो भने अन्त्यमा ‘यूके भेरिएन्ट’ भएको संक्रमित बढेपछि सर्वसाधारण त्रसित छन् । तर सरकार पटक्कै जिम्मेवार नबनेको कांग्रेस नेता प्रदीप पौडेलको भनाइ छ ।

उनी थप्छन्, ‘सरकारमा आबद्ध दल नै रोगले ग्रसित छन्, जनताको रोगमा कसरी गम्भीर रहन सक्छन् यो चरण लापरवाही भयो यसमा सरकार गम्भीर बन्दैपर्छ’ उनले भने, ‘स्वास्थ्यका सामान्य मापदण्ड पनि अपनाउन नसक्नु, सीमा नाका देखि अन्तर्राष्ट्रिय विमानस्थल वा स्वास्थ्य चौकीहरुमा सचेतना नबढाइनु भनेको जनताको स्वास्थ्यमाथि सरासर खेलवाड हो ।’

सरकारले संक्रमण बढ्न नदिन झन्डै ५ महिना लकडाउन गरेको थियो । चैत ११ देखि सुरु भएको लकडाउन साउन पहिलो सातासम्म गरेको थियो । तर यसपटक सरकार लकडाउन गर्नु नपर्ने गरी सतर्क रहेको बताउँदै आइरहेको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले यसअघि नै लकडाउन गर्नु नपर्ने गरी सरकारले कोरोना नियन्त्रणमा लागिपरेको बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ