- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । छिमेकी मुलुक भारतमा दैनिक १ लाख ५० हजार भन्दा बढीको सङ्ख्यामा कोरोना संक्रमित थपिँदै गएका छन् । दैनिक संक्रमित हुनेको सङ्ख्या बढ्दै गर्दा भारतसँगको हवाई सेवालाई केही मुलुकले बन्द पनि गरिसकेका छन् । भारतमा संक्रमण उच्च गतिमा बढेकै कारण नेपालबाट भारतमा ज्यालादारी गर्न गएका मजदुरहरूसमेत धमाधम फर्कन थालेका छन् भने त्यही कारण मुलुकको भारततर्फ जोडिएका सीमा नाकामा दैनिक जसो भारतबाट फर्कनेहरूको भीड बढ्न थालिसकेको छ ।
भारतमा कोरोना संक्रमणको गति उच्च लहरमा बढ्दै गर्दा विभिन्न मुलुकले भारतसँगको हवाई सेवामा समेत प्रतिबन्ध लगाइसकेका छन् । सोही कारण भारतबाट साउदी अरब, युएई लगायतका मुलुकमा रोजगारीका लागि गएर बिदामा फर्किएका भारतीय नागरिकहरू नेपाल हुँदै गन्तव्यमा फर्कन थालेका छन् । यसरी उनीहरू भारतबाट नेपाल आउँदा पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने र नेपाल आएर केही दिन क्वारेनटाइन बसेर पुनः पिसिआर गरेर तेस्रो मुलुक जाने गरेको खुलेको हो ।
भारतीय नागरिकले तेस्रो मुलुक जानका लागि नेपालको बाटो रोज्न थालेपछि नेपाली विमानलाई समेत विभिन्न मुलुकले उडानमा प्रतिबन्ध लगाउने खतरा बढ्दै गएको सम्बन्धी निकायका अधिकारीहरू बताउँछन् । भारतबाट हुने उडानमा गरिएको प्रतिबन्धका कारण तेस्रो मुलुक जानका लागि हाल दैनिक जसो लैनचौर स्थित भारतीय दूतावासमा नोअब्जेक्सन लेटर लिने भारतीय नागरिकहरूको भिडभाड बढ्न थालेको छ । उनीहरूले भारतबाट पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आएको बताउँदै आएका छन् ।
अहिले नेपालबाटै दैनिक डेढ सय बढी भारतीय नागरिक काठमाडौँ आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट विदेश गइरहेका छन् ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार गत १९ चैत अर्थात् (अप्रिल १) देखि ३० चैत अर्थात् (अप्रिल १२) सोमबारसम्म मात्रै ३ हजार ५४ जना भारतीयले नेपाली विमानस्थल प्रयोग गरेर उडान भरेका छन् । तीमध्ये १ हजार ११ जना भारत नै गए पनि बाँकी तेस्रो मुलुक पुगेका छन् । सोमबारसम्ममा १ हजार ६ सय ९४ जना साउदी अरब उडेको अध्यागमन विभागले जनाएको छ । यस्तै ५५ जना युएई र बाँकी २ सय ९४ जना अन्य मुलुक उडेका छन् ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले अन्य समयको तुलनामा भातबाट नेपाल आएर तेस्रो मुलुक जानेको सङ्ख्याको ग्राफ धेरै माथि उक्लिएको बताए । उनी भारत हुँदै नेपाल आएर तेस्रो मुलुक जाने भारतीय नागरिकका कारण मुलुकमा संक्रमणको जोखिमसमेत बढेको बताउँछन् ।
‘अध्यागमनले हेर्ने भनेको समग्र सुरक्षाको अवस्थालाई हो, अन्य खालका सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्न हामी सक्षम छौँ, तर अहिले कोरोना संक्रमणको दृष्टिलाई पनि ख्याल गर्नु पर्ने जिम्मेवारी छ, यति बेला कोरोना संक्रमणको जोखिम ठुलो छ, यस विषयमा सोच्नै पर्छ,’ अध्यागमन विभागका महानिर्देशक केसीले भने । उनले अध्यागमनको दृष्टिबाट अवस्थाको विश्लेषण गरेर गृह मन्त्रालयलाई आवश्यक जानकारीसमेत गराइसकिएको बताए ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले विदेशबाट हवाई तथा स्थल मार्ग हुँदै आएका स्वदेशी तथा विदेशी नागरिकहरूलाई सरकारले पिसिआर परीक्षण, आइसोलेसन तथा क्वारेनटाइनको बसाइमा कडाइ गर्नु पर्ने बताउँछन् ।
‘स्थल वा हवाई वा कुनै पनि मार्गबाट स्वदेश आएका विदेशी तथा नेपाली नागरिकहरूलाई स्वास्थ्य मापदण्ड र जाँच पडतालमा बढी भन्दा बढी ध्यान दिनु पर्छ, यो सरकारको काम हो, सरकारले जतिसक्दो कडाइ गरेर परीक्षण, क्वारेनटाइन र आइसोलेसनको व्यवस्थापनलाई दरिलो बनाउनै पर्छ, यी मापदण्ड पालनामा कडाइ गर्नै पर्छ,’ डा. बास्तोलाले हाम्रा कुरासँग भने ।
उनले भारतीय नागरिक मात्रै नभएर नेपाली नागरिकहरूसमेत भारतबाट निर्बाध रूपमा आइरहेको हुन सक्ने भन्दै कडाइ गर्ने दायित्व सरकारको भएको बताए ।