arrow

शव व्यवस्थापनमा सेना: पालो सकिएपछि १४ दिन क्वारेनटाइन र १० दिनमा पिसिआर

देशभरका आठ पृतनाबाट समन्वय

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Army-covid-death-corona.jpg
दाहसंस्कार गर्दा परिवारका अन्य सदस्य नहुने भएकाले सम्मान स्वरूप सलामी दिंदै नेपाली सेना ।

काठमाडौं । कोरोना सङ्क्रमणबाट निधन भएका व्यक्तिहरूको शवको व्यवस्थापन नेपाली सेनाले गर्दै आइरहेको छ ।नेपाल सरकार मन्त्रिपरिषद्को १२ जेठ २०७७ को निर्णयअनुसार सेनाले कोभिड-१९ सङ्क्रमणबाट निधन भएकाहरूको शव व्यवस्थापनको जिम्मेवारी पाएको हो । 

महामारीमा सरकारले दिएको यो काममा सेनाका नेपालभरि नै खटिएका विभिन्न युनिटहरूले २० जेठ २०७७ मा पहिलो संशोधन भएको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार काम गर्दै आइरहेका छन् । 

आवश्यकता अनुसारको टिम
शवको व्यवस्थापनका लागि देशै भरका युनिटहरूले आवश्यकता अनुसार न्यूनतम चार जनादेखि माथिको सङ्ख्यामा जनशक्ति रहने गरी टिम तयार गर्ने गरेका छन् । कोरोनाबाट निधन भएकाहरूको शवको व्यवस्थापनमा सेनाबाट हाल देशभर ६ हजार बढी जनशक्ति खटाइएको छ । 

देशभर सेनाले जिल्ला सङ्कट व्यवस्थापन समिति वा स्थानीय सङ्कट व्यवस्थापन समिति, मृत्यु भएको अस्पताल वा स्वास्थ्य संस्था र परिवारहरूको समन्वय र सहमतिमा शव व्यवस्थापनको कार्य गर्ने गर्ने गरेका छन् । 

मापदण्डको पालना पहिलो प्राथमिकता
शवलाई अस्पतालबाट लैजानु पूर्व त्यसमा संलग्न हुने सुरक्षाकर्मीहरुले अपनाउनु पर्ने मापदण्डको पालना गर्ने गरेका छन् । सोही अनुरूप शव व्यवस्थापन गर्दा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), फेस शिल्ड, शु कभर लगायतका सुरक्षा सावधानीका सामग्री लगाउने गरिएको छ । 

यस्तै पन्जा, जुत्ता र कभर, गमबुट, सर्जिकल मास्क, चस्मा र फेस शिल्ड, पानी नछिर्ने एप्रोन, पूरा बाहुला भएको गाउन कभर लगायत प्रयोग गर्ने गरिएको छ भने बडी ब्याग, ६ मिटरको प्लास्टिक, ७० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएको सेनिटाइजर, ०.५ प्रतिशत सोडियम हाइड्रोक्लोराइड ब्लिच पाउडर लगायतको प्रयोग गरिंदै आइएको छ । 

सिसिएमसीले गर्छ तथ्याङ्क सङ्कलन
सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले सङ्क्रमणबाट निधन भएकाहरूको हकमा कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी)ले तथ्याङ्क सङ्कलन गरेपछि सेनासँग समन्वय गर्ने र त्यसपछि आवश्यक तयारी गरेर सेनाले शवको व्यवस्थापन गर्दै आएको जानकारी दिए । 

तर त्यसअघि शव व्यवस्थापनका लागि परिवारको मन्जुरीनामा लिने गरिएको छ । यसै गरी अस्पतालले बिरामीको मृत्यु घोषणाको प्रमाण-पत्र र कोरोना सङ्क्रमण भएको प्रमाण दिएपछि शव दाहसंस्कारमा लैजाने गरिएको प्रवक्ता पौडेल बताउँछन् । 

दाहसंस्कारमा शवलाई लैजानु अघि अस्पतालले नै कपडा, प्लाष्टिकमा बेरेर शव हस्तान्तरण गर्ने गरेको छ । यसरी अस्पतालले दिएको शवलाई सेनाले आफ्नै जनशक्ति र सवारी साधन प्रयोग गरेर अन्त्यष्टी गर्ने स्थानसम्म पुर्‍याउने गरेको छ । 

देशभरका आठ पृतनाबाट समन्वय
सेनाले यो काम देशभरका सात प्रदेशका सात पृतना र उपत्यकाका एक गरी आठ वटै पृतनाबाट गर्ने गरेको छ । हालसम्म छ हजार बढी जनशक्ति शव व्यवस्थापनको कार्यमा जोडिसकेका छन् । उपत्यकामा भने उपत्यका पृतनाबाट समन्वयको काम हुने गरेको छ । यस्तै पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा शवको व्यवस्थापन हुँदै आइरहेको छ । 

जोखिम उत्तिकै, १४ दिन क्वारेनटाइन
शवको व्यवस्थापनमा खटिएका सेनामा सङ्क्रमणको जोखिम भने रहने प्रवक्ता पौडेल बताउँछन् । ‘सङ्क्रमितलाई राखिएको स्थानबाटै शव उठाउने हो, जोखिम त हुन्छ नै, तर सङ्कटको यो घडीमा उच्च मनोबलका साथ सेनाले आफ्नो जनशक्तिलाई परिचालन गर्दै आइरहेको छ,’ सैनिक प्रवक्ता पौडेलले भने । 

उनका अनुसार सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका सेनाको जनशक्तिलाई दिनभरको आफ्नो समूहको काम सकेर १४ दिनको क्वारेनटाइन राख्ने गरिएको छ । अर्को दिनमा फेरि रोटेसन अनुसार अर्को समूहले सो काम गर्ने गरेको छ । 

यस्तै क्वारेनटाइन बसेकाहरूलाई १० दिनमा पिसिआर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकाहरूलाई सेनाले आइसोलेसनमा राख्ने गरेको छ भने आवश्यकता अनुसार उपचार गर्दै आइएको छ । तर पछिल्लो समय शवको व्यवस्थापनमा खटिएकाहरूमा सङ्क्रमण देखिएको छैन । 

सुरुमै तालिम
सेनाले नेपालमा कोरोना सङ्क्रमण शुरु हुँदै गर्दा अर्थात् चैत २०७६ मा आफ्ना जनशक्तिलाई शव व्यवस्थापन सम्बन्धी तालिम दिएको थियो । पहिले राजधानीमा केन्द्रित तालिम सङ्क्रमण बढ्दै गएपछि देशभरका युनिट तथा सब युनिटहरुमासमेत दिएको थियो । त्यस्ता तालिममार्फत सेनाले शव व्यवस्थापनका लागि पूर्व तयारी गराउँदै दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । 

परम्परा अनुसार अन्त्यष्टी र सम्मान स्वरूप सलामी
सेनाले शव व्यवस्थापन गर्दा ज्यान गुमाएका व्यक्तिहरूको परम्पराअनुसार गाड्ने, विद्युतीय शव दाह गृह र चितामा जलाउने काम गर्दै आएको छ । यस्तै नेपाली संस्कार एवम् परम्परा अनुरूप मृतकको आत्माको चिर शान्तिको कामना गर्ने गरिएको छ भने अरु समयमा निधन हुँदा जस्तो दाहसंस्कार गर्दा परिवारका अन्य सदस्य नहुने भएकाले सम्मान स्वरूप सलामी दिने गरिएको छ । 

हाल सङ्क्रमितको मृत्युको सङ्ख्यामा बढ्दै गर्दा  विद्युतीय शव दाह गृहका साथै बाग्मती किनारमासमेत पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा शवको अन्त्यष्टी गर्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ