arrow

सर्लाहीमा शनिवार मध्यरातदेखि निषेधाज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
sarlahi-lockdown.jpg

सर्लाही । सर्लाहीमा शनिवार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सदरमुकाम मलङ्गवामा आज दिउँसो बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भोलि शनिवार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले सोको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । 

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटेल तथा रेस्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी लगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिइने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

उनका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । बैङ्क तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रूपमा लागू गरेर सञ्चालन गर्नुपर्ने छ ।

 विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ । समितिले औषधोपचार एवं अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रूपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । यो आदेशको अवज्ञा भएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारबाही गर्ने सिडिओ तामाङले बताए ।

छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको हो । सर्लाहीमा आज बिहानसम्म कोरोना संक्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य कार्यालय प्रमुख नायकले विभिन्न कार्यालयका कर्मचारी, प्रहरीको हिरासतमा रहेका थुनुवा र लक्षण देखिएर जिल्ला अस्पतालमा पुगी थ्रोट स्वाब दिएकाहरूमा संक्रमण देखिएको हो । 

अहिले प्रत्येक जसो टोल बस्तीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका सयौँ मानिस बिरामी परे पनि थोरैले मात्रै पीसीआर गराएका छन् । जिल्ला अस्पताल मलङ्गवामा एक सातादेखि निःशुल्क रूपमा पीसीआर गराउने काम भइरहेको भए पनि लक्षण देखिएका व्यक्तिहरूले परीक्षणमा बेवास्ता गरेका स्वास्थ्य कार्यालय प्रमुख नायकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ