arrow

डडेल्धुरामा रेडक्रस भवनमा १६ सैय्याको आइसोलेसन बनाइने

अक्सिजन आपूर्ति सहज बनाउन पहल शुरु

logo
राम धामी 
प्रकाशित २०७८ वैशाख २५ शनिबार
redcross-1620486201.jpg

डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा कोरोना संक्रमित जटिल अवस्थाका बिरामीहरुको संख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ सैयाको आइसोलेसन बनाइने भएको छ ।

डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ सैयाको आइसोलेसन व्यवस्थापन गरिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

कोरोना महामारी न्युनीकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुगेका सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आईसोलेसन बेड कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीहरुलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेसन निर्माणका लागि जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेका थिए ।

शनिबार कोरोना महामारीको संक्रमणका साथै महामारीबाट हुने मानवीय क्षति न्युनीकरणका लागि डडेल्धुरास्थित प्रशिद्ध शक्तिपिठ उग्रतारा मन्दिर र घटालबाबा मन्दिरमा पुगेर संकल्प पूजा गरेका सांसद मल्ल दिउँसो डडेल्धुरा अस्पताल पुगेका थिए ।

अस्पतालमा पुगेर कोरोना संक्रमित बिरामीहरुसँग भेटघाट गरेका सांसद मल्लले अस्पताल प्रशासनसँगै जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरेपछि तत्काल रेडक्रस भवनमा अक्सिजन दिएर उपचार गर्न सकिने १६ सैयाको आईसोलेसन निर्माण गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराबम अर्याल, स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ, अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझा, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी महेन्द्र नेपाल, डडेल्धुरा अस्पताल विकास समितिका पदाधिकारीका साथै मेडिकल सुपरिटेन्डेन्ट डा.जगदिशचन्द्र विष्टसहित जिल्लास्तरीय सरोकारवालाहरुसँग छलफलपछि डडेल्धुरा अस्पताललाई आवश्यक पर्ने अक्सिजनको सहज आपुर्तीका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।

छलफलका क्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापतिसमेत रहेका सांसद मल्लले कोरोना संक्रमित बिरामी, कुरुवा र अन्य अलपत्रमा परेका नागरिकहरुका लागि नेपाली काँग्रेस डडेल्धुराले गठन गरेको सेवा दलमार्फत खाना र आवासको प्रबन्ध गर्न सकिने र नेपाली काँग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गर्न सकिने प्रस्ताव राखेका थिए ।

विगतमा स्थानीय तहले कोरोना महामारी ब्यवस्थापनमा देखाएको सक्रियताका कारण छोटो समयमै महामारी नियन्त्रणमा आएको चर्चागर्दै साँसद मल्लले जिल्लाभरिका सातओटै स्थानीय तह, जनप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधीहरु, सामाजिक संघ संस्था सबैले राजनीतिक विचारधाराबाट माथि उठेर कोरोना महामारी नियन्त्रणका लागि सक्दो सहयोग गर्नुपर्ने सासद मल्लले औल्याए । रेडक्रस भवनमा निर्माण हुने आइसोलेसनको व्यवस्थापनका लागि सबै सरोकारवालाहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

नेपाली काँग्रेस डडेल्धुराद्वारा गठिन सेवा दललाई देश विदेशबाट सहयोग हुन थालेको र मानवीय सेवाको भावना भएका मनकारी मानिसहरु सेवा दलसँग जोडिन पुगेकाले सेवा दलले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि सक्दो पहल गर्ने सांसद मल्लले बताए । उनले सेवा दलमा सम्वद्ध सबै स्वयमसेवकहरुका साथै सेवा दललाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

सत्तारुढ नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष प्रकाश साउदसमेत कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै कोरोना संक्रमितहरुको उपचारका साथै महामारीका कारण अकाल मृत्यु भएका बिरामीहरुको शव व्यवस्थापनमा समेत सघाई रहेका छन । जिल्लास्थित राजनीतिक दलहरुले कोरोना महामारी व्यवस्थापनमा अतुलनीय योगदान पुगाई रहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ