- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरूका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर्संवाद नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा आइतबार सम्पन्न भएको छ ।
महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासङ्घ १ नं. प्रदेशका अध्यक्ष लीला वल्लव घिमिरेको प्रमुख आतिथ्यमा रहेको अन्तर्संवादमा विशेषज्ञ चिकित्सक डा.गोविन्द कँडेलले परामर्शका साथै पत्रकारले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।
कोरोना भाइरसबाट सङ्क्रमित भई हाल आइसोलेसनमा बसेका र यसअघि सङ्क्रमित भई स्वास्थ्य लाभ प्राप्त गरेका सहित देश–विदेशबाट कार्यक्रममा ७१ जना पत्रकार हरुले सहभागिता जनाएका थिए ।
चितवनको भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. कँडेलले सङ्क्रमित पत्रकारले आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने दैनिकी तथा अन्य पत्रकारले समाचार सङ्कलनमा जाँदा, घर आउँदा र अन्य समयमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा आवश्यक परामर्श दिएका थिए ।
अन्तर संवादमा अर्को रोग हो भन्ने पत्ता नलागेसम्म हरेक रुघाखोकी, ज्वरो, शरीरको दुखाई कोभिड हो भन्ने बुझ्न सुझाव दिँदै यस्तो लक्षण देखिएमा तत्काल पीसीआर परीक्षण गर्न संवाद कार्यक्रम मार्फत अनुरोध गरेका थिए ।
यसो गर्दा कोभिड हो होइन थाहा भएपछि आफू, आफ्नो परिवार र समाजलाई बचाउन सकिन्छ , उनको भनाइ थियो ।
कोरोनाको दोस्रो भेरियन्ट बढी सङ्क्रामक भएको भन्दै डाक्टर कँडेलले घर बाहिर निस्कँदा साथीभाइ भेट गर्ने तथा सँगै बसेर चिया नास्ता खाने कार्य बन्द गर्न सुझाव दिएका थिए । साथीभाइ सँग भेट हुँदा विभिन्न बहानामा मास्क खोली संवाद गर्नेसँगै बसी खाजा खाने चलन रहेकोले यसो गर्दा सङ्क्रमण सजिलै फैलने भन्दै डा. कँडेलले घर बाहिर निस्कँदा चिया नास्ता खाने बानी हटाउन सुझाएका थिए ।
यदि कुनै लक्षण देखिए वा शङ्का लागे तत्काल पीसीआर परीक्षण गर्न सुझाएका डा. कँडेलले सङ्क्रमितहरूलाई मनोबल उच्च राख्न, शारीरिक व्यायाम , अध्ययन लगायतका कार्यबाट आफूलाई व्यस्त राख्न र रुचि हुने, पचाउन सकिने सबै किसिमका खानेकुरा खान सकिने सल्लाह दिएका थिए ।
पहिलो पीसीआर गरेको १४ दिन पश्चात् पनि रिपोर्ट पोजेटिभ आए डराउनु नपर्ने भन्दै सामान्य दैनिकीमा फर्कन सकिने उनले बताए । कोरोना सङ्क्रमण भएको १४ दिन बितेपछि त्यस्ता व्यक्ति बाट सङ्क्रमण सर्न नसक्ने हुनाले पीसीआर गर्न नपर्ने डा. कँडेलको भनाइ छ । तर कोरोना खोप लगाएको व्यक्ति आफू सुरक्षित भए पनि उसले अरूलाई भाइरस सार्ने सम्भावना प्रबल हुने भएकोले व्यक्ति व्यक्ति बिचको भौतिक दुरी कायम राख्न महत्त्वपूर्ण हुने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि महासङ्घ १ नं. प्रदेशका घिमिरेले महामारीको समयमा महासङ्घको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै झापा शाखाले गरेको कामको सराहना गरे । अन्तर्संवादमा कोरोना सङ्क्रमण भई हाल होम आइसोलेसनमा रहेका पत्रकारहरू भीमा शिवाकोटी, पुष्प बराल, राजु अधिकारी, वीरबहादुर दर्नाल, गौरव पोखरेलले आफ्ना भोगाइ, परेको समस्या सहित जिज्ञासा राखेका थिए ।
त्यस्तै पत्रकारहरू राजेन्द्र गौतम, अनिल वाग्ले, आत्माराम राजवंशी, जीआर धिताल, लक्ष्मी उप्रेती,उमानाथ भण्डारी , पुनम प्रधान, कमल न्यौपाने, सुमन सिंह लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
हाल सरकार स्रोत परिचालन गर्न छोडेर क्षमता अभिवृद्धि तर्फ लागेको बताउँदै यो समयमा देशका विभिन्न अस्पतालमा भएका अन्य विशेषज्ञ जस्तै दाँत छाला तथा हड्डी सम्बन्धी डाक्टरहरूलाई पनि कोरोना रोगका नियन्त्रणका लागि सङ्क्रमितको उपचारमा सरकारले स्वास्थ्य सेवामा परिचालित गराउन सक्ने सुझाव दिएका थिए ।