arrow

कुमारी बैङ्कको सेवा लिन डिजिटल प्लेटफर्मको प्रयोग गर्दा उचित : रामचन्द्र खनाल

'निषेधाज्ञाको समयमा हाम्रो देशभरका शाखाबाट दिइने सेवा रोकिएको छैन'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २७ सोमबार
ram-chandra-khanal-kumari-bank.jpg
तस्बिर : रामचन्द्र खनाल, प्रमुख सञ्चालन अधिकृत तथा कोभिड–१९ रेस्पोन्स अफिसर, कुमारी बैङ्क

काठमाडौँ। कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रूपमा बढेपछि नेपालका बैङ्कहरूले आफ्ना ग्राहकहरूलाई सेवा सुविधा दिने सवालमा स्वास्थ्य मापदण्डलाई पालना गरिरहेको दाबी गरेका छन्। कोरोना सङ्क्रमणबाट जोगिन ई–बैङ्किङ वा अनलाइन सेवालाई प्राथमिकता दिएका छन्। निषेधाज्ञा जारी भएका जिल्ला वा हट स्पट मानिएका स्थानका बैङ्कहरूले कार्यालयहरूका आफ्ना स्टाफहरूलाई आलोपालो र ‘वर्क फर्म होम’ सेवालाई जोड दिएका छन्।

देशभर दुई सय बढी शाखा सञ्चालन गरिरहेको कुमारी बैङ्क लिमिटेडले स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिइरहेको छ। महामारी र निषेधाज्ञाका बेला कुमारी बैङ्कले दिइरहेको सेवा र चुनौतीका विषयमा बैङ्कका प्रमुख सञ्चालन अधिकृत तथा कोभिड–१९ रेस्पोन्स अफिसर रामचन्द्र खनालसँग गरिएको कुराकानीको अंश

–देशभर कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ। जसको नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ। यस्तो बेला कुमारी बैङ्कले ग्राहकहरूले कसरी सेवा दिइरहेको छ ?
यो महामारीका बेला विशेषतः मानव स्वास्थ्यलाई ख्याल गरेर सेवा दिइरहेका छौँ। काठमाडौँ उपत्यकाको हकमा दैनिक २० प्रतिशत कार्यालयहरू मात्र सञ्चालन ल्याएका छौँ। सेवा सुविधामा कमी हुन दिएका छैनौँ। एक जना स्टाफलाई हप्ताको दुई दिन मात्र कार्यालय गएर काम गर्नुपर्ने नियम लागू गरेका छौँ। अरू दिन वर्क फर्म होम सेवालाई प्राथमिकता दिएका छौँ। काठमाडौँ बाहिरका शाखाहरूले स्थानीय प्रशासनसँग समन्वय गरेर सेवा दिइरहेका छन्।

–सेवा दिने सवालमा वा स्वास्थ्यको दृष्टिकोणले कत्तिको चुनौती भइरहेको छ ?
चुनौती नहुने कुरै भएन। विश्वलाई नै आक्रान्त पारिरहेको भाइरसबाट आफ्ना ग्राहक र स्टाफहरूलाई जोगाउने हाम्रो पहिलो प्राथमिकता हो। स्वास्थ्य मापदण्डलाई अधिकतम रूपमा पालना गरेर काम गरिरहेका छौँ।

–यस्तो सङ्कटका बेला सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिहरूलाई कसरी सञ्चालन गरिरहनु भएको छ ?
सामान्यता सामाजिक उत्तरदायित्वका हाम्रा कार्यहरू जारी छन्। स्वास्थ्य सामाग्री वितरण गर्ने काम देशभर नै गरिरहेका छौँ। देशका विभिन्न स्थानमा पैदल यात्रीहरूलाई पीसीआर टेस्ट क्याम्प चलाएका छौँ। सेनिटाइजर,ग्लोब्स, मास्क जस्ता स्वास्थ्य सामाग्रीहरू वितरणको कामलाई निरन्तरता दिइरहेका छौँ। देशभरका शाखाहरूले आफ्नो तरिकाले सामाजिक सेवामा भूमिका निर्वाह गरिरहेका छन्।

–पहिलेको लकडाउन र अहिलेको निषेधाज्ञामा कतिको सहज असहज भएको छ ?
पहिलेको लकडाउनमा हाम्रो बैङ्क मात्र होइन सबै बैङ्क वित्तहरूले धेरै असर परेको थियो। जसका कारण ग्राहक वा सेवाग्राहीलाई केही समस्या भएको हो। तर यस पटक जिल्ला प्रशासन कार्यालयले हिँडडुलमा सहुलियत दिएकाले समस्या भएको छैन। सबै स्टाफहरूलाई सचेत गराएर सेवा दिन भनेका छौँ। 

–स्वास्थ्य मापदण्डलाई कसरी पालना गरिरहुन् भएको छ ?
विशेषतः हामीले हाम्रा कार्यालयहरूमा भिडभाड हुन दिइरहेका छैनौँ। एकले अर्को स्टाफलाई प्रत्यक्ष भेटघाट बन्द गरेका छौँ। काम गर्दा पनि छोटो समयको सिफ्ट मिलाएका छौँ। रोटेसन मिलाएका छौँ। अत्यावश्यक विभागहरूलाई बन्द गरेका छैनौँ। जस्तो क्लियरिङ शाखा हाम्रो कहिले बन्द हुँदैन। दैनिक दुई दुई वा तीन तीन घण्टामा सेनिटाइजको व्यवस्था मिलाएका छौँ।

–अहिलेसम्म कति स्टाफलाई सङ्क्रमण देखिएको छ ?
सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरेका छौँ। अहिलेसम्म हाम्रो बैङ्कका स्टाफहरूले अप्रिय घट्नाको सामना गर्नुपरेको छैन। तर पनि देशभरका १ सय ९६ शाखा र १३ वटा एक्सटेन्सन कार्यालयहरूका ५० जना स्टाफलाई सङ्क्रमण देखिएको छ। काठमाडौँ उपत्यका भित्र ३२ जना स्टाफ सङ्क्रमित भएका छन्। तर सबैको अवस्था सामान्य नै छ। अधिकांशले भाइरससँगको लडाइँ जितिसक्नु भएको छ।

–ऋण सहुलियत वा लोनका सवालमा केही नयाँ निर्णयहरू भएका छन् ?
ऋण सहुलियतका सवालमा व्यवस्थापनले कुनै नयाँ निर्णय गरेको छैन। लोनका सवालमा पनि त्यस्तो सुविधा सार्वजनिक भएको छैन। 

–यो सङ्क्रमणका बेला ग्राहकहरूले के र कस्ता माध्यमहरूमार्फत सेवा लिनुहुन सुझाव दिनुहुन्छ ?
यस्तो सङ्कटका बेला बैङ्कमा आएर लाइन बस्नुको साटो अनलाइन, मोबाइल बैङ्किङ वा क्युआर कोड जस्ता डिजिटल सिस्टमहरूको माध्यमबाट सेवा लिन हामी ग्राहकहरूलाई अनुरोध गर्दछौँ। यदि अन्य सेवाहरू आवश्यक परे हाम्रा शाखा प्रमुखसँग सोझै सम्पर्क गर्न सकिन्छ। तर सकेसम्म डिजिटल प्लेटफर्महरूलाई प्रयोग गरेर बैङ्कको सेवा लिन आग्रह गर्दछौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ