- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डाक्टर गोविन्द केसीले सत्य र निष्ठाको पक्ष लिएका छन् । सत्यको पक्ष नै उनको देखिने नदेखिने रुप र सार एकै रह्यो । अरू पक्ष विपक्ष राजनीति गर्नेले बनाए । आज पर्यन्त उनले कतै र कुनै पार्टीप्रति विशेष आग्रह र प्रतिशोध राखेको पाइन्न । पार्टी विशेषका कोही नेता, आफ्नो अभियानमा सहयोग गर्नेप्रति शुभेच्छा राख्नु हित चिताउनु, उसको सकारात्मकताको चर्चा गर्नु, उसको पार्टी कार्यकर्ता हुनु होइन । मानवीय गुण र स्वभाव हो ।
डाक्टर केसीको सत्याग्रहले कालो धनमार्फत मेडिकल शिक्षालाई व्यापार व्यवसाय बनाएर अकुत कमाउनेको स्वर्गमा धावा बोलेपछि उनलाई साइजमा राख्न तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्की, प्रधानन्यायाधीश गोपाल पराजुलीदेखि नेकपा एमालेका नेताहरू राजेन्द्र पाण्डे, वंशीधर मिश्र हुँदै काउण्टरमा अनशन बस्न एक आपराधिक पृष्ठभूमिको मान्छेलाई भाडामा राखेर डमी अनशनकारी खडा गर्ने योगेश भट्टराईसम्मको ठुलो देन छ । जसले केसीलाई सरकारी डकुमेन्टमा पागल करार गर्ने र सार्वजनिक रूपमा पागलको संज्ञा दिएका थिए ।
केसीलाई गरिएको अपमान र तिनको आँसुको मूल्य आज पार्टीहरूले कसरी चुकाइ रहेछन् त्यो सर्वविदितै छ । यी मान्छेहरू फरक फरक रूप र भूमिकामा देखिन्छन् तर यिनीहरूको सार र अन्तर्य एकै हो माफियाको पक्षमा नग्न भएर उत्रनु र सत्य र निष्ठाको छाला काढ्ने कर्म गर्नु । हरेक शासक आफ्नो क्षमता र कामलाई उत्कृष्ट देख्ने दृष्टिदोष लिएर जन्मेको हुन्छ । तसर्थ गोविन्द केसीको जन सरोकारवाला सवाललाई नदेखेको जस्तो गरेर मेडिकल साहुको अवैधानिक अनैतिक कार्यको पालन पोषणलाई अब्बल र जनताको इच्छा अनुसारको काम गरेको दाबी गर्नु ।
स्वास्थ्य जस्तो संवेदनशील र गम्भीर मुद्दा उठाएर केसी बोल्न थालेको आज पक्कै होइन ? १० वर्ष हुन लाग्यो । शिक्षा र स्वास्थ्यको कालो व्यापार बनाउने धन्दाको विरुद्ध आगो बोलेको ? कसको लुट छैन कलेज र अस्पतालमा ? को मालिक छैनन् ? पार्टीका नेताहरू को अछुतो छन् स्वास्थ्य र शिक्षालाई व्यापार बन्न नदिएर बसेका रु शिक्षा र स्वास्थ्यलाई धन्दा होइन पार्टी नीति शिक्षा र स्वास्थको निजीकरण विरुद्ध बनोस् । केन्द्रीकृत मेडिकल शिक्षा र स्वास्थ्य विकेन्द्रित भएर आम नेपालीको पहुँचमा पुगोस् । के यो माग अनुचित र कार्यान्वयन गर्न नसकिने थिए र ?
राज्यले अन्यत्र अनावश्यक फजुल काममा गरेको खर्च स्वास्थ्यको प्राथमिकतामा खर्च गर्ने हो भने खर्च पनि जुटाउन नसकिने होइन । पार्टीहरूले नेताहरूले माफिया मोह र द्रव्य मोह त्यागेर जनताको मोह राख्ने हो भने डाक्टर केसीले गरेका सवालको जबाफ तुरुन्त पाइन्थ्यो र कोरोना कहरमा यत्रो सङ्कट आउँदैनथ्यो ।
सरकार उदासीन र बेपरवाह बन्दैन थियो भने यो महामारी यति धेरै भयानक त्रासको विषय बन्दैनथ्यो । केही भएमा उपचारको व्यवस्था सरकारले गर्नेछ । अस्पतालमा बेड पाइन्छ भन्ने सकारात्मक मनोविज्ञान बन्थ्यो र मान्छेहरू आत्तिनु पर्दैनथ्यो । सबै मान्छे उपचारको लागि काठमाडौं नै आउनुपर्छ भन्ने अवस्थाबाट मुक्ति मिल्थ्यो । निर्भयताले उपचारमा सकारात्मक ऊर्जा जागृत गर्थ्यो । अहिले त केही भएमा उपचार गर्ने ठाउँ र अवस्थाको कारण बिरामी भय र चिन्ताले मर्ने स्थिति छ भने बिरामीका आफन्त रोगाउने अवस्था छ । त्यसैले सरकार आफ्नो जिम्मेवारीमा संवेदनशील र गम्भीर बन्नु आजको प्रमुख चुनौती हो ।
दुर्भाग्य, सरकार आफ्नै भाइ खलकसँग अंशबन्डा र भाइ भाइको छुटा–भिन्नको मुद्दामा अल्झेको छ । पहिलो चरणको कोरोना कहर येनकेन प्रकरण झेलेका जनता दोस्रो र भयानक कोरोना कहरले आक्रान्त र मर्माहत बनेका छन् । रुलिङ पार्टी संवेदनशील र गम्भीर छैन आफ्नै लफडाको हिलोमा चुर्लुम्म बनेर गणतन्त्र र सङ्घीयताको हुर्मत लिन व्यस्त छन् । गरिब निर्धन र पहुँच विहीनहरूको लागि विशेष गरी सरकार हुनु जरुरी छ तर सरकार आफैँलाई मत हालेर जिताउने संसद् र पार्टीको समेत बन्न चुकिरहेको देखिन्छ । जुन राजनीतिको दुर्लभ विडम्बना बन्दैछ ।
आफू अनुकूल वा आफू प्रतिपक्षी हुँदा समर्थन गर्ने अनि आफू सत्तामा रहेको बेला विरोध गर्ने नेताहरूको दोहोरो चरित्र पक्कै जनताले अब चिनेका छन् । निःस्वार्थता एकै रङ्ग सत्य र न्याय बोकेर हिँड्नेको रङ्ग र आजसम्म खुइलिएको छैन । यद्यपि, डाक्टर गोविन्दलाई पनि माफिया र सिन्डिकेटको मतियार भएर प्रायोजित अभियन्ता बनेको भनेर खुइल्याउने र भुत्ल्याउने कोशिस प्रायः सत्तासीनहरूबाट भएको पाइन्छ । तर त्यसको प्रमाण र सङ्केत आम मान्छेले भेटेका छैनन् । निस्स्वार्थ र पवित्रता नै आफ्नो स्वार्थ र सर्त सम्झने मान्छेको अपमानको लागि अनेकन् प्रयत्न र सत्ता दुरुपयोग गरेर प्रचारप्रसार गरियो । सत्यको रङ्ग त्यस्तो र प्रगाढ हुन्छ जसलाई घामपानी, समय अनुकूल प्रतिकुल भएर पनि खुइलिने फुर्सद हुन्न । तर नेता, पार्टी र सरकारहरू बहुरूपी र रङ्गिन छन्, सतही छन् खुइलिन्छन् । बखत बखतमा रङ्गहीन बन्छन् ।
हेर्नुहोस्, साम्यवादी र लोकतान्त्रिक पार्टीहरू खुइलिएर रङ्गहीन बनेको रु सत्ता राजनीतिक पार्टी र तिनका नेताहरू निर्लज्ज हुन्छन् । निर्लज्ज हुनुको विशेषता नै विश्वसनीयता नहुनु हो । लाज गुम्नु हो । नैतिकता रित्तिनु हो । इमानमा डढेलो लाग्नु हो । राज्य निरीह निर्लज्ज भएपछि स्वाभिमानी र निष्ठामा अविरल रहनेहरू बौलाहा बन्नु कसरी अनर्थ भयो र ? राज्य अनैतिक गैरजिम्मेवार भएपछि नैतिकता हुनेले ज्यान छाडेर बहुलाउनु अस्वाभाविक होइन । संवेदनहीन राज्य सञ्चालकको मनपरीतन्त्र देखेर नागरिकप्रतिको चरम बेवास्ताले बहुलाउन कसलाई बाध्यता नहोला र ? सङ्कट र महामारीमा पनि जीवनदायी औषधी र औषधिजन्य सामग्री खरिदमा मन्त्रीको संलग्नता र कमिसनको मोलमोलाइ एक वर्षदेखि दैनिक अखबारमा पढ्नु पर्दा रिस कसलाई उठ्दैन होला र ?
अवसरवादी चरित्र र विशेषताको सहकाल लागेको समयमा निष्ठा र नैतिक भएर बाँच्नु अत्यन्तै कठिन काम हो । त्यही कठिन काम र साधनाले गोविन्द केसी जीवित छन् । जिन्दगी भौतिक रूपमा सुख र सयलको भए पनि नेपालका राजनीतिज्ञहरू बौद्धिक रूपमा र देशको भलो सोच्ने र गर्ने क्रममा अत्यन्तै विपन्न र दरिद्र छन् । तसर्थ केसी जस्ता साधुलाई अनवरत जीवन दाउमा लगाउनु पर्ने अवस्था सिर्जना हुन्छ । सोही क्रममा १९औं पटक र दुई सय पचास दिन भन्दा बढी दिन भोको बसेर केसीले नागरिक खबरदारी गरेका हुन् । तर सरकारहरूले अनशन तोड्न जति पनि बाचा गर्ने र सम्झौताको कागज गर्ने तर कार्यान्वयनको पाटो अत्यन्तै फितलो भएको कारण आज महामारीको यो भयानक त्रासदीमा जनता उपचारको अभावमा मर्नु परिरहेछ ।
बिरामीले डाक्टर खोज्दै हिड्नु पर्नेमा डाक्टर नै आफ्नो खल्ती रित्याएर बिरामी खोज्दै हिड्नु उल्टो र समयको लय भन्दा भिन्न देख्छ यो देशको सत्ता । नेपाली जनता सिटामोल ,जीवन जल नभेटेर, मर्किएको हात कुहाएर मरे–बाँचे के फरक भयो र ? अक्सिजन नपाएर अस्पतालले बिरामी भर्ना नलिएको र बिरामी अस्पतालको गेटमै मृत्यु हुन पुग्नु अनि अस्पताल चहार्दा चहार्दै एम्बुलेन्स भित्र नै मृत्युवरण गर्न पुग्ने अवस्थाको चर्को आलोचना गरेर किन गरिब र रोगीको पक्ष धरता ? क्षमता र प्रतिभा हुने गरिबका छोराछोरीले मेडिकल शिक्षा सित्तैमा पढ्न नपाएर गोविन्द केसीको केही बिग्रन्छ ? गाउँ गाउँ, जिल्ला जिल्लामा स्वास्थ्य सेवा र अस्पताल नभए के फरक पर्छ केसीलाई ? यी सब नभए भोट नआउने होइन तर पनि एउटा मान्छे यो सबको लागि किन लड्छ जनताले अब त निश्चितै बुझ्नुपर्ने हो । गोमन सर्परुपी राज्य संयन्त्र भएको एन्टी स्नेक भेनम नैतिकता इमान त्याग, निःस्वार्थता र निर्भयले कतिन्जेल उपचार गरिरहन्छ देशको ? के नागरिक जागृत हुनु पर्दैन । गोविन्दको दूरदर्शिताले सरकार र राजनीतिक पार्टीहरू झस्कनु चस्कनु र दुख्नु पर्दैन ?
धर्तीमा नटेक्ने शासक भएपछि जनताको भागमा दुःख सिवाय अरू पर्दैन । अहिले विश्व र देश महामारीको यो दुःखद क्षणमा छन् तर सत्तारुढ पार्टी यस्तो तमासामा छन् कि मानौं जनता जोगाउने र महामारी रोक्ने अचुक अस्त्र नै सत्ताको स्वार्थको साझेदारी र विरोध समर्थनको विश्वासको मत नै आजको मूल आवश्यकता हो । गोविन्दलाई गाली गरेर नथाक्नेहरुले निधार खुम्च्याएर सोच्नु पर्दैन ? जनताको स्वास्थ्य अधिकार संविधानमा मात्रै लेख्ने विषय हो कि इमानदारीसाथ कार्यान्वयन ? गोविन्द केसी बारम्बार बहुलाउनुको कारण यही भयावह स्थित आउँदा राज्यले आफ्नो कर्तव्यच्युत बन्न सक्छ । हाम्रो क्षमता बढाऔं । गुणस्तर सुधार गरौं । निजी भन्दा सरकारी अस्पताल र मेडिकल कलेजलाई प्राथमिकताको पहिलो सूचीमा राखौं । के यी मागहरू अपराधी माग र व्यक्ति स्वार्थमा केन्द्रित थिए र ? आज पनि मान्छेहरू केसी कता छन् किन मौन छन् भनेर सोधपुछ गरिरहेका छन् । डा।केसीको वाद मानवतावाद हो त्यसैले उनी देशको भूगोलको सीमा रेखा भित्र मात्र हुँदैनन् संसारभर पुग्न सक्छन् । उनी अहिले नेपाल बाहिर आफ्नो ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरेर मानवीय सेवामा तल्लीन छन् । उनको बारे पछि विस्तृत रूपमा आउने नै छ ।