arrow

पाँच दशकमा पनि ज्ञानराजले पाएनन् नागरिकता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार

भीमदत्तनगर । झलारी पिपलाडी नगरपालिका–१ बन्साहका २८ वर्षीय ज्ञानराज गुप्ता स्नातकोत्तर तहको अध्ययन सक्दैछन् ।  बुवा रामस्वरुप गुप्ताले गाउँमा करिब ३० वर्षसम्म धान खरिदको व्यापार सम्हालेर बसेको सम्झिँदै ज्ञानराज भन्छन्, “नागरिकता नभएकै कारण सिङ्गो परिवारमा उतारचढाव आइरहन्छ । केही काम गरौँ वा विदेश जाऔँ भने पनि नागरिकता नहुँदा प्रयास गर्नै सकिरहेको छैन ।” 

उनले भने – “बुबाले त अब नागरिकता पाउने आश नै मारिसक्नुभयो ।” ज्ञानराजका बुबा रामस्वरुप २०१८ सालदेखि निरन्तर घरजम गरेर झलारी पिपलाडी–१ मा बस्दै आएका छन् । तर उनीसँग न भारतको केही कागजात छ न त नेपाली नागरिकता नै पाएका छन्। “२०६४ सालसम्म मतदाता नामावलीमा नाउँ थियो,” ज्ञानराजले भने – “हामीलाई नागरिकता दिने आश्वासन धेरै ठाउँबाट मिल्यो तर नागरिकता अझै पाइएको छैन ।” विसं २०२५ मा डडेल्धुराबाट विवाह गरेका रामस्वरुप गुप्ताका चार छोरी र दुई छोरा छन् । गाउँमा रहेको डेढ बिघा जमिन नागरिकता नभएकै कारण अरूको नाममा राख्नु परेको उनको भनाइ छ । 

“पटकपटक नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाएँ,” उमेरले ७० वर्ष कटेका रामस्वरुपले भने – “अब मेरो नभए नि छोराहरुको नागरिकता भए हुन्थ्यो । “जेठी दिदी समेत ४० वर्ष पुग्दैछ,” ज्ञानराजले भने–“हामीसित नागरिकताका लागि चाहिने सबै प्रमाण भए पनि प्रशासनले नागरिकता दिँदैन ।” विसं २०६५ मा नेकपा ९माओवादी०का नेता तथा पूर्वसांसद टिकेन्द्रप्रसाद भट्ट लगायतका गाउँका समाजसेवीले पनि गुप्ता परिवारलाई नागरिकता दिलाउन पहल गरेका थिए । गाविसले प्रक्रियाअनुसार नागरिकता दिन जिल्ला प्रशासनलाई सिफारिस पनि गरिदिएको थियो । 

ज्ञानराजले भने – “तत्कालीन प्रमुख जिल्ला अधिकारीले सिफारिसमै तीन पुस्ता नभेटिएको कारण देखाएर प्रक्रिया नै अवरुद्ध पारिदिए । बेलौरी बजारमा व्यापार गर्ने बाजे बुबा सानै हुँदा बिते । बुबासित पनि धानको व्यापारको कर बुझाएको कागजातबाहेक अरू केही पनि कागजात छैन ।” पछिल्ला दिन परिवारमै नागरिकता नहुँदा नैराश्यता उत्पन्न भएको उनको भनाइ छ । 

“दाइ पनि दिल्लीमा मजदुरी गर्छ,” उनले भने – “घरका सबै सदस्य स्नातकोत्तरसम्म पढे पनि नागरिकता नभएकै कारण यहाँ रोजगार पाइएन ।”  “अङ्गीकृत नागरिकता भए पनि हामी केही गरेर गुजारा गर्न सक्थ्यौँ,” उनले भने – “त्यसका लागि पहल गरिदिने मान्छे पनि भएन ।” विसं २०६५ पछि तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफूहरुको कागजात हेरेर गृह मन्त्रालयबाट सिफारिस ल्याए नागरिकता दिने आश्वासन दिएको भए पनि आफू काठमाडौँ पुग्दा सरकार नै फेरबदल भएपछि त्यो बेला पनि आफू नागरिकता लिनबाट रोकिएको ज्ञानराजको भनाइ छ । 

भारतीय हुँ भन्न पनि ज्ञानराजको परिवारसँग केही प्रमाण छैन । उनले भने – “तीन पुस्ता नेपालमै भइसक्यो न नेपाली भयौँ न त भारतीय नागरिक नै ।” संविधान बनेपछि गुप्ता परिवार पुनः नागरिकता पाउने आशा पलाएको बताउँछन् । “हामीलाई कानुनअनुसार नागरिकता मिल्नेमा संविधानले आशावादी बनाइदिएको छ,” उनले भने –“नागरिकता भए हामी गाउँमै केही व्यापारधन्दा गर्ने विचार छ ।” 

“गाउँबसाइका क्रममा जन्मिएका छोराछोरीहरु पनि ४० वर्षका भइसके,” स्थानीयवासी हेमराज पाण्डेयले भने – “उहिल्यै गुप्ता परिवारलाई नागरिकता दिलाउन पहल गरिदिने मान्छे नै भएन ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ