arrow

सरकार पुरै गन्हाउन थालेपछि उपाय नदेखेर ओलीले संसद विघटन गरे : प्रदीपकुमार देउवा

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
pradip-kumar-deuba.jpg

डोटी । नेपाली कांग्रेस डोटीका सभापति प्रदीपकुमार देउवाले दुईतिहाईको जनमतमा काम गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै ठुला कुरा नसुहाउने बताएका छन् । नेपाली कांग्रेसले देशभरका प्रदेश निर्वाचन क्षेत्रहरूमा शनिवार गरेको देशव्यापी प्रदर्शन अन्तर्गत डोटी प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जनतामा असीमित सपना बाँडेर चुनाव जित्नु भो । समृद्ध नेपाल सुखी नेपालीको सपना खै कता पुग्यो,’ प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै सभापति देउवाले भने,’बच्न दुई तिहाई मतले काम गर्न दिएन रे ! अनि कति मत चाहिन्छ प्रधानमन्त्री ज्यू ?’ सरकारको निर्लज्जता र असफलता छोप्न प्रधानमन्त्रीले यस्तो बहानाबाजी गरेको उनले आरोप लगाए । ‘सरकार पुरै गन्हाउन थालेपछि आत्मरक्षाको कुनै उपाय नदेखेपछि ओलीले संसद विघटन गरेका हुन् । तब काम गर्न नपाएको बहानाबाजी गरेका हुन,’ उनले थपे ।

नेपालको भाग्य र भविष्य एउटै कांग्रेस मात्रै रहेको सभापति देउवाले दावी गरे । ‘हिजो कांग्रेसका दिन गए भन्ने ओली-प्रचण्डहरू आज कांग्रेससंग गुहार मागेर अनुनय गरिरहेका छन । आखिर कसका दिन गएका रहेछन त ?’ उनले भने,’ईतिहासले सबैको हिसाबकिताब गरेको छ ।’

संसद विगठन असंबैधानिक रहेको बताउदै चुनाव लड्न पनि कांग्रेस तयार रहेको उनले बताए । उनले भने,’असंवैधानिक कदमकाविरूद्ध कांग्रेस जनताबीचमा पुगेको छ । देशको निकासका लागि कांग्रेस जस्तोसुकै बलिदानी दिन तयार छ ।’

भ्रष्टाचार, अनियमितता, दण्डहिनता, सर्वसत्तावाद लगायतका हज्जारौँ काण्डहरूमा सरकार चुर्लुम्म डुबेको बताउदै देउवाले यसका विरूद्ध जनतालाई पनि जुट्न आह्वान गरे ।

कार्यक्रममा नेताहरू कृष्णबहादुर चन्द, लोकेन्द्र बहादुर शाही, मीना विष्ट, लालबहादुर बिक, दीपक बिष्ट, नारायण जोशी, सीताराम जोशी, नारायण बलायर लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ