arrow

नेतृत्वले एनआरएनएको मेरुदण्डमा नै प्रहार गर्न थाल्यो : कुल आचार्य

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
kul-acharya-nrn.jpg

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले कोरोना महामारीको मौका छोपेर नेतृत्वले संस्थाको मेरुदण्डमा नै प्रहार गर्न थालेको भन्दै आलोचना गरेका छन् ।

नवौं महाधिवेशनको म्याण्डेट र विधान विपरीत नेतृत्वले विशेष अधिवेशनका एजेण्डा तयार पारी केही व्यक्तिहरुको इच्छा अनुसार संघलाई चलाउन खोजेको उनको दाबी छ ।

नेपाली नेपाली डटकमसँगको एक भिडियो अन्तर्वार्तामा पूर्वउपाध्यक्ष आचार्यले संसारभरी नेपालीहरु कोरोना महामारीबाट अत्याधिक प्रभावित भै रहेका बेला विशेष महाधिवेशन गर्न खोज्नु ‘बेमौसमको बाजा’ भएको बताए । नेतृत्वको कार्यशैलीप्रति संघकै पदाधिकारीहरुले असन्तुष्टि जनाइरहेका बेला संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुको पनि असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।

विशेषगरी संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले यही जनवरी २३ र २४ मा हुने गरी विशेष महाधिवेशन आह्वान गरेपछि संघ भित्रका विवाद छताछुल्ल हुन थालेको हो । आचार्य अक्टोबर २०१९ मा सम्पन्न संघको महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पनि थिए ।

संस्थालाई सुधार गर्दै आधुनिक, प्रविधिमैत्री र थप लोकप्रिय बनाउने काममा कसैको पनि अवरोध नरहने स्पष्ट पार्दै उनले रचनात्मक काममा आफ्नो सधैं सहयोग र समर्थन रहिरहने प्रष्ट पारे । तर, संगठनलाई आधुनिक बनाउने नाममा विधानमा भएको व्यवस्था र प्रक्रिया भने कसैले पनि मिच्न नपाउने उनले चेतावनी दिए ।

‘हाम्रो असहमति प्रक्रियामा हो’

'हाम्रो असहमति प्रक्रियामा हो,’ उनले भने, ‘जब प्रक्रिया नै गलत अपनाइन्छ भने त्यसबाट सही नतिजा आउँछ भन्ने विश्वास गर्न सकिँदैन ।’ संघका सल्लाहकार आचार्यले महामारीको यो समयमा विशेष अधिवेशन गरिनु र विधि तथा प्रक्रिया पनि नअपनाउनु नै नेतृत्वको मुख्य कमजोरी रहेको औंल्याए ।

‘जबरजस्ती गर्न खोजिए दुर्घटना हुन सक्छ,’ आचार्यले थप सचेत गराए ।’ आचार्यले प्रक्रिया मिचेर विधान संशोधनको एजेण्डा आउन नसक्ने पनि बताए ।

‘विधान मस्यौदा समिति कसले बनायो ?’ उनको प्रश्न छ । ‘संस्थालाई राजनीतिमुक्त बनाउने नाममा चरम राजनीतिमा सक्रिय व्यक्तिहरुलाई विधानको मस्यौदा तयार पार्न दिनुको पछाडिको मनसाय के हो ?’ उनले प्रश्न गरे । आइसिसीका ६७  जना पदाधिकारी तथा सदस्यहरुको असहमति आइरहेका बेला केही पदाधिकारीले मात्रै बलजफ्ति गर्न नमिल्ने उनले बताए ।

विधान संशोधनका नाममा संघको एनसीसीहरुको स्वायत्तता पनि खोस्न खोजिएको उनको तर्क छ । ‘हामी कस्तो अभ्यास गर्दै छौं ? उनले भने, एनसिसीहरुलाई थप स्वायत्त बनाउनुपर्ने अवस्थामा हामी केन्द्रबाट नियन्त्रण गर्ने कोशिस गर्दैछौं ।’

विशेष अधिवेशनका लागि प्रतिनिधि चयन तथा प्रक्रियामा पनि झेल गरिएको उनले बताए । ‘नवौं महाधिवेशनमा सहभागी प्रतिनिधि मात्रै विशेष अधिवेशनमा  सहभागी हुन सक्छन्, तर, अहिले त नयाँ सदस्य बनाउँदैै प्रतिनिधिका रुपमा दर्ता गर्ने काम भइरहेको छ,’ उनले भने, नयाँ सदस्यहरुलाई विशेष अधिवेशनमा सहभागी गराउने हो भने निर्वाचन पनि गराउनु पर्यो नि ?’

सधैं सहमतिबाट अगाडि बढ्ने परम्परालाई पनि यसपाली लत्याइएको आचार्यले बताए । बैठकमा निणर्य नैै नभई निर्णय भयो भन्ने क्रम बढेको भन्दै उनले समिति भित्रै पनि सहमति गराउन नसक्नेले असी लाख गैरआवासीय नेपालीहरुको हित गर्छन् भनेर कल्पना गर्न पनि नसकिने उनले बताए ।

जुममार्फत विशेष अधिवेशन गर्ने, नयाँ सदस्यहरुलाई पनि प्रतिनिधिका रुपमा दर्ता गर्ने, समिति भित्रै उठेका असहमतिको सम्बोधन नगर्ने तथा प्रतिनिधिको नाम दर्ता गर्ने म्याद कुनै एक व्यक्तिले आफ्नो तजविजमा निर्धारण गर्ने काम भइरहेको भन्दै उनले सबैभन्दा पहिले कार्यसमिति भित्रै निणर्य गराई आउन सुझाव दिए ।

बलजफ्ति रुपमा अधिवेशन गरे त्यो अधिवेशन कागजी अधिवेशन मात्रै हुने र कालान्तरमा सिंगो संस्थालाई नै हानी हुने उनले बताए । आचार्यले ‘आफुले आफैलाई मूल्यांकन गर्न’ नेतृत्वलाई सुझाव दिए ।

संघको नेतृत्वले गर्नैपर्ने काम नगरेर नगरेपनि हुने काममा चासो राखेको आरोप लगाए । ‘नेपालमा भूकम्प गएको बेला संगठनले कति काम गर्यो, त्यस्तै अवसर यो कार्य समितिलाई महामारीले दिएको थियो । तर, महामारीमा पीडित भएका हाम्रा सदस्यहरुलाई सहयोग गर्नबाट नेतृत्व चुक्यो । घरमै बसीबसी गर्न सकिने काम पनि यसपाली भएन,’  उनले भने ।

संघकै पाँच पदाधिकारी तथा सदस्यहरुले नेतृत्वले विधान विपरीत र बलजफ्ति विशेष अधिवेशन बोलाएको भन्दै त्यसलाई रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछि संघ भित्रको विवाद सतहमा आएको छ ।-जीएनएन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ