arrow

काँग्रेस डडेलधुराद्वारा निःशुल्क एम्बुलेन्स सेवा

logo
राम धामी,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
dadl-congress-ambulance.JPG

डडेलधुरा । कोरोना महामारी सङ्क्रमण दर र मृत्यु दर बढ्दै गइरहेका बेला नेपाली काँग्रेस डडेलधुराले विपन्न तथा असहायका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

नेपाली काँग्रेस डडेलधुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लको पहलमा नेपाली काँग्रेस डडेलधुराद्वारा गठित सेवा दलले बिहीबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

कोरोना महामारीको पहिलो चरणका क्रममा गतबर्ष लकडाउनका बेला खान बस्न नपाएर अलपत्र परेका नागरिकहरूका लागि स्व. एन.डी.प्रकाश चटौत आपतकालिन निःशुल्क चुल्हो सञ्चालनमा ल्याएर सेवा दल गठन गरेको नेपाली काँग्रेस डडेलधुराले सो अवधिमा १० हजार बढी सर्वसाधारणलाई निःशुल्क भोजन र आवास व्यवस्थापन गरेको थियो । 

सेवा दलले डडेलधुरा जिल्लाका सात वटै स्थानीय तहमा  जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, थर्मल गन, ग्लोब्सजस्ता सामग्री वितरण गरेको थियो भने सेवा दलमार्फत विपन्न समुदायका व्यक्तिहरूलाई राहत समेत वितरण गरिएको थियो । 

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाखदेखि नेपाली काँग्रेस पार्टी कार्यालय किशुनजी भवन डडेलधुरामा अक्सिजन सेवासहितको आइसोलेसन कक्ष सञ्चालनमा रहेको छ । किशुनजी आश्रय स्थल नाम दिएको सो आइसोलेसन कक्षमा कोरोना सङ्क्रमितहरूलाई राख्ने गरिएको छ । डडेलधुरा अस्पतालले डिस्चार्ज गरेका तर निको नभएका कोरोना सङ्क्रमित बिरामीहरूका साथै अलपत्रमा परेका सर्वसधारणहरुलाई आश्रय स्थलमा राखिएको नेपाली काँग्रेस डडेलधुराले जनाएको छ ।

नेपाली काँग्रेस डडेलधुराद्वारा गठित सेवा दलले सञ्चालन गर्ने एम्बुलेन्समा दुई जना चालक राखिएको र रकम खर्च गरेर एम्बुलेन्स सेवा लिन असमर्थ सर्वसाधारणलाई २४ घण्टा निःशुल्क रूपमा सेवा दिइने नेपाली काँग्रेस डडेलधुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद मल्लले जानकारी दिए । 

सेवा दललाई विभिन्न सहयोगी मन भएका व्यक्तिहरूले आर्थिक, भौतिक र मानवीय सहयोग गरिरहेका छन् । सेवा दलले कोरोना महामारी न्यूनीकरण नभएसम्म खाना, आवास, कोरोना सङ्क्रमितहरूका लागि अक्सिजनसहितको आइसोलेसन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहने नेपाली काँग्रेस डडेलधुराद्वारा गठित सेवा दलका संयोजक टङ्कबहादुर क्षेत्रीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ