arrow

नर्सिङ पढाइमा अनलाइन कक्षा प्रभावकारी, इन्टरनेटको पहुँच विस्तार गर्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
nursing1.jpg

काठमाडौं । चिकित्सा शिक्षा तथा नर्सिङ क्षेत्रको पढाइमा अनलाइन कक्षा प्रभावकारी भएको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । तर उनीहरुले सबै स्थानमा तिब्र गतिको इन्टरनेटको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

नर्सिङ सोसाइटी नेपालको आयोजना तथा नर्सिङ संघ नेपाल (नान) का बरिष्ठ उपाध्यक्ष तथा सह प्राध्यापक रमेश सुब्बाको सक्रियतामा सम्पन्न भएको ‘नर्सिङ शिक्षामा अनलाइन शिक्षण’ विषयक राष्ट्रिय वेबिनार कार्यक्रममा प्राध्यापक, डाक्टर, विशेषज्ञ तथा सरकारी निकायका व्यक्तिहरुले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल स्वास्थ्य तालिम महाशाखाकी पूर्वनिर्देशक बिजया केसीले अनलाइन शिक्षणमा समयको बचत हुन्छ तर बिद्यार्थी तथा शिक्षकलाई प्राबिधिक ज्ञान अपरिहार्य रहेको, क्लिनिकल र सैद्घान्तिक कोर्षलाई समेटेर व्यवहारिकतामा ल्याउन चुनौती रहेको धारणा राखिन । उनले राज्यका निकायहरुलाई घचघच्याएर नयाँ नीति नियमहरु बनाउनुपर्नेमा जोड दिइन ।

प्राध्यापक तारा पोखरेलले इन्टरनेटको सुविधा विकास गर्न तथा कोभिडको समयमा भ्याक्सिनको उपलब्ध गराएर मात्र नर्सिङका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासमा लानुपर्ने धारणा राखिन ।

प्राध्यापक डा.मन्दिरा शाहीले विश्वभरी कोरोनाको असर पर्न थालेपछि सन् २०२० पछि अनलाइनमा आकर्षण बढेको बताउँदै अनलाइन शिक्षामा प्रशासनिक खर्च कम हुने र गुणस्तरीय प्रतिस्पर्धाको भावना बढीरहेको बताइन ।

काठमाडौं विश्वविद्यालयकी प्रा.डा.कुन्ता पुनले केयूले गत बर्षदेखि धेरैखाले प्लेटफर्म प्रयोग गर्दै आएको भएता पनि सन्तुष्टी हुनुपर्नेमा जोड दिइन । नानकी पूर्वअध्यक्ष प्रा.डा. सानु तुलाधरले युवा पिडीका लागि अनलाइन प्रणाली बढी सहज देखिएको र कामसँगै अध्ययन गर्ने विद्यार्थीहरुलाइ सजिलो भएको धारणा राखिन् । उनले दुर्गमका विद्यार्थीहरुलाई कलेजको सुविधा कम हुने भएकोले अनलाइन राम्रो भएपनि इन्टरनेटको पहुँच राज्यले विस्तार गर्नुपर्ने बताइन ।

कार्यक्रममा नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेस बेङलोरकी प्राध्यापक बीभी कथायनीलाई अनलाइन शिक्षा प्रणाली नयाँ प्रणाली नभएको, संसारभर धेरै अनलाइनमा मात्र पढाइ हुने बिश्वविद्यालयहरु संचालनमा रहेको र त्यहा अनलाइन अनुसन्धानात्मक कृतिहरु प्रकाशित हुने प्रचलन रहेको जानकारी दिइन ।

टेक्सास टिच विश्वविद्यालयको स्कूल अफ नर्सिङबाट सहप्राध्यापक डा.बिभा गौतमले अमेरिकाको विश्वविद्यालयमा रहेको अध्ययन पद्घती, प्राविधिक बिकास, बौद्धिक चोरी नियन्त्रण तथा अनलाइन परिक्षाको बिधि लगायतका बारेमा प्रष्ट पारिन ।

कार्यक्रममा बिभिन्न विश्वविद्यालय, प्रतिष्ठान, सरकारी निकाय तथा संघ संस्थाबाट ख्यातीप्राप्त बिशेषज्ञ तथा वरिष्ठ ब्यक्तिहरुले अनलाइन शिक्षणका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नानका बरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले वक्ताहरुलाई अनलाइन शिक्षाको प्राबिधिक ज्ञान, गुणस्तर र पद्घतिका बारेमा केन्द्रित भएर आफ्नो धारणा राख्न माग गरेका थिए ।

कार्यक्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट नर्सिङ संकाय डिन सह-प्राध्यापक सरस्वती गौतम, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रा.डा. तारा शाह, बिराटनगर नर्सिङ क्याम्पसबाट क्यामपस प्रमुख मेनुका भण्डारी, गण्डगी मेडिकल कलेजबाट कार्यक्रम संयोजक सह प्राध्यापक मुना सिलवाल, बीर हस्पिटल नर्सिङ क्याम्पसबाट क्याम्पस प्रमुख बन्दना पान्डे, बीएण्डबी नर्सिङ क्याम्पसकी प्रिन्सिपल ज्ञानु बस्नेत, क्यानडा टोरेन्टोबाट पब्लीक हेल्थ नर्स लिलानाथ पाण्डेले आफ्नो धारणा राखेका थिए ।

नर्सिङ सोसाइटी नेपालकी अध्यक्ष बिमला सुब्बा घिमिरेले नर्सिङ सोसाइटी नेपालको उद्देश्यबारे प्रष्ट पारिन । सोसाइटीले प्राज्ञिक तथा कल्याणकारी कार्यक्रमहरु गर्र्ने, पेशागत क्षेत्रको अध्ययन, अनुसन्धान गर्ने साथै रोजगारी तथा सम्भावनाहरुको जानकारी दिने साथसाथै सम्मेलन, सभा समारोह, गोष्टीलगायतका कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्दै आएको जानकारी दिइन 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ