arrow

धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम

logo
प्रकाशित २०७३ असार १८ शनिबार
Dhan-Ropai.jpg.jpeg
रत्ननगर (चितवन)। चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना किसान कृषि सहकारीमा मेसिन अनुदान दिइएको हो । 
 
करिब रु १२ लाख पर्ने दुईवटा मेसिन ५० प्रतिशत अनुदानमा ल्याएर जिल्लामा धान रोपाइँमा यन्त्रिकरणको प्रयोग गरिएको कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए । ‘मेसिनबाट धान रोप्न विशेष प्रकारको नर्सरी चाहिने हुन्छ, घिमिरेले भने , आगामी वर्ष यसको नर्सरी (बीउ) व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई यसतर्फ आकर्षित गराउने छौं ।’ 
 
मेसिनबाट धान रोप्न बीउ पनि सोही अनुसारको राख्नुपर्ने हुन्छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न सक्दैन । त्यसैले किसान प्रशिक्षणमा आगामी वर्षका लागि रु २० लाख बजेट प्रस्ताव गरिएको कृषि कार्यालय चितवनले जनाएको छ । किसानलाई नर्सरी व्यवस्थापनदेखि रोप्ने प्रक्रियासम्मको लागि प्याकेजमै कार्यक्रम सञ्चालन गरिने घिमिरेले बताउनुभयो । त्यसपछि मात्रै यो कृषि यन्त्रिकरण फस्टाउने देखिएको उहाँको भनाइ छ । नभए किसानलाई मेसिनमात्रै दिएर काम हुँदैन । 
 
मेसिनले रोप्नका लागि प्यास्टिकमाथि एक इन्च माटो राखेर त्यसमा धानको बीउ राख्नुपर्छ । १५ दिन भन्दा बढी भएको धानको बीउ रोप्न समेत मेसिनबाट कठिन हुने घिमिरेले बताए । त्यसैले सबै प्याकेजमै किसानलाई सिकाउनुपर्ने देखिएको उनको भनाइ छ । किसानलाई जानकारी गराएर आगामी वर्ष यन्त्रिकरण तर्फ उन्मुख बनाउने योजना कृषि कार्यालयको छ । यन्त्रले ८ घन्टामा चार बिगाहासम्म धान रोप्न सक्छ । सो क्षेत्रमा मानिसले रोप्ने हो भने झन्डै ८० जना परिचालन गर्नुपर्ने हुन्छ । 
 
मेसिनले लागत पनि घट्ने र जनशक्ति पनि कम लाग्ने भएकाले यन्त्रिकरण आजको आवश्यकता भएको कृषि विज्ञ सुदिप रेग्मी बताउछन् । कृषि विकास कार्यालयका अनुसार चितवनमा गएको वर्ष २९ हजार ४०० हेक्टरमा धानखेती भएको त्यसबाट एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 
 
रु ११ करोड २५ लाख भन्दा बढीको धानको बीउ चितवनमा उत्पादन भएको छ । अनुदानका कार्यक्रम बढेकाले अब आधुनिक प्रविधि अपनाए क्षेत्रफल घटेपनि धान उत्पादनमा बृद्धि हुने विश्वास कार्यालयको छ । माछापालन र केराखेतीमा किसान आकर्षित भएकाले पछिल्ला केही वर्षदेखि जिल्लामा धानखेती घट्दो छ । 
 
यसलाई परिपूर्ति गराउन उत्पादकत्व बढाउने र लागत घटाउनु नै महत्वपूर्ण उपाय भएको किसान ईश्वरी ढकाल बताए । त्यसैले आगामी वर्ष मेसिनबाट धान रोप्ने यन्त्रमा मात्रै होइन बीउ, नर्सरी व्यवस्थापन बास्नादार र मसिना धानलगायत अन्य विषयमा अनुदान दिएर अघि बढ्ने तयारीमा कृषि कार्यालय रहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ