arrow

डर सामाजिक विभेदको

लक्षण देखिए पनि किन कोरोना परीक्षण गर्न मान्दैनन् शंकास्पद संक्रमितहरु

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
corona-nepal-1618404789.jpg

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का एक दम्पती बिरामी भएको एक महिना पुग्न थाल्यो । उनीहरु दुवै जना ८० वर्ष पुगिसकेका छन् । शुरुमा टाउको दुख्ने, शरीर दुख्ने, मसिनो ज्वरो आउने, खोकी लाग्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, मसिनो गरी पेट दुख्ने र पखाला चल्ने समस्या भयो । 

तर पनि उनीहरु दुवै जना परीक्षणका लागि स्वास्थ्य संस्थामा गएनन् । उनीहरुले एउटा मेडिकलबाट औषधि ल्याएर सेवन गरे पनि केही फरक परेन । बिरामी भएको एक  सातापछि घरका सदस्यहरुको दबाबमा उनीहरु अस्पताल गए । डाक्टरले उनीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरे । तर दम्पतीले मानेन ।

उनीहरुले आफूलाई पटक पटक टाइफाइडको समस्या हुने गरेको भन्दै कोरोनाको पीसीआर चेक गर्न मानेनन् । उनको अरु स्वास्थ्य रिपोर्ट नर्मल आयो । डाक्टरले कोरोना परीक्षण गर्न जति आग्रह गरे पनि उनीहरु तयार भएनन् । सामान्य औषधि लिएर घर फर्के । तर उनीहरुलाई खासै सन्चो लागेन । पखाला त रोकियो तर खोकी लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्ने समस्या रोकिएन । 

उनीहरुले किन कोरोना परीक्षण गर्न मानेनन् त ? उनीहरुले कोरोनाको औषधि नै नभएकोले परीक्षण नगराएको बताए । उनीहरुले भने, ‘कोरोनाको औषधि छैन । परीक्षण गर्यो भने कोरोना छ भन्छन् । घरमा बस्न दिँदैनन् । परिवारबाट अलग बस्नु पर्छ । गाउँसमाजका मानिसहरु पनि कोरोना लागेको घर भनेर फर्कि हेर्दैनन् । हेलाको दृष्टिले हेर्छन् ।’ 

यस्तै अवस्था लम्कीचुहा नगरपालिका १ की एक २६ वर्षीया महिला, वडा नम्बर २ की ४५ वर्षीया महिला, वडा नम्बर ६ का ४५ वर्षीय पुरुषको पनि छ । उनीहरु सबै बिरामी भएको ७–८ दिन भइसक्यो । उनीहरुमा टाउको दुख्ने, शरीर दुख्ने, मसिनो ज्वरो आउने, खोकी लाग्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने, पखाला लाग्ने लगायतका समस्या देखिएका छन् । 

उनीहरु तीनै जना पनि कोरोनाको परिक्षण गराएमा कोरोना देखाउँछ भन्ने डरले मेडिकलबाट औषधि ल्याएर खाइरहेको सुनाउँछन् । उनीहरुलाई कोरोना पोजेटिभ भएमा आइसोलेशनमा बस्नु पर्ने डरले पनि सताउने गरेको छ । उनीहरु आइसोलेशनमा आफूहरु झन् असुरक्षित हुने, बरु घरमै बसे आफैँ सन्चो हुनेमा विश्वस्त देखिन्छन् । 


कोरोनाको दोस्रो लहर शुरु भएपछि हालसम्म लम्कीचुहा नगरपालिकामा एक हजार २१ जनाको पीसीआर विधिबाट र सात सय ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले नगरपालिकाभित्र हालसम्म पीसीआर परीक्षणबाट दुई सय ८० जना र एन्टिजेनन परीक्षण विधिबाट परीक्षण गर्दा तीन सय ४७ जना गरी छ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइन् । 

लम्कीचुहा नगरपालिकामा महिलाको तुलनामा पुरुषमा कोरोना संक्रमणको समस्या बढी देखिएको छ । नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ । 

लम्कीचुहा नगरपालिकामा हाल ४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म पाँच सय ८५ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमितमध्ये ११ जना नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका छन् भने ३१ जना संक्रमितहरु होमआइसोलेशनमा बसिरहेको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीको भनाइ छ ।  

उनका अनुसार लम्कीचुहा नगरपालिकामा हालसम्म  कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गइसकेको छ । काठमाडौं र नेपालगञ्जका अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएकाहरुको संख्या जोड्दा लम्कीचुहा नगरपालिकाका हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  

लम्कीचुहा नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि गत बैशाख १७ गतेदेखि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालका व्यवस्थापन प्रमुख तप्त भण्डारीका अनुसार जेठ १६ गतेसम्म अस्थायी कोरोना अस्पतालमा ७१ जना संक्रमितहरु उपचारका लागि भर्ना भएका थिए । 

अस्थायी कोभिड अस्पतालका प्रमुख व्यवस्थापक भण्डारीका अनुसार तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने थप उपचारको लागि अन्य अस्पतालहरुमा रेफर गरिएकामध्ये पाँच जनाले ज्यान गुमाएका छन् । 

लम्कीचुहा अस्थायी कोरोना अस्पतालबाट हालसम्म ५२ जना कोरोना संक्रमित सन्चो भएर घर फर्किएका छन् । 
कोरोना महामारीको दोस्रो लहर शुरु हुनुअघिसम्म लम्कीचुहा अस्पतालमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामीहरु उपचारको लागि आउने गर्दथे । 

कोरोनाको दोस्रो लहर शुरु भएसंगै अस्पतालमा जेकजाँचका लागि आउनेहरु अधिकांशमा कोरोनाका लक्षण देखिन थाल्यो । कोरोना संक्रमण भयावह हुने देखिएपछि जटिल खालका लक्षण देखिएका संक्रमितहरुलाई नगरपालिकाले आइसोलेशन सञ्चालन गरेर उपचार गर्ने र सामान्य वा लक्षण विनाका संक्रमितहरुलाई होम आइसोलेशन राख्ने प्रबन्ध गर्यो । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएपछि अस्पतालहरुमा शंकास्पद बिरामीहरु जाने क्रममा कमी आएको देखिन्छ । लम्कीचुहा अस्पतालका डा. नविन ब्यारका अनुसार अहिले अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । 

लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईं आम नागरिकले अहिले पनि कोरोना महामारीलाई सामान्य रुपमा लिने गरेको र कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिँदा पनि परीक्षणको लागि स्वास्थ्य संस्थाहरुमा आउन नमान्नु दुःखद भएको बताउनुहुन्छ । 
नगरप्रमुख बजगाई कोरोनाको दोस्रो लहरको शुरुमा निकै भयावह अवस्था रहे पनि पछिल्ला दिनहरुमा केही कमी आएको बताउँछन् । 
 
लम्कीचुहा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५० शैयाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको र संक्रमितहरुलाई अस्पतालसम्म ल्याउन एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । 

स्वास्थ्यकर्मीहरु गाउँघरमा अहिले पनि कोरोना संक्रमण दर उच्च रहेको भए पनि अझै कोरोनाको लक्षणसंग मिल्दाजुल्दा लक्षण भएका विरामी परीक्षणका लागि आउन आनाकानी गर्ने गरेको बताउँछन् । 

रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हो । अहिले कोरोना समुदायस्तरमा फैलिसकेको छ । कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका समुदायका मानिसहरु आफूलाई कोरोना देखिने डरले स्वास्थ्य संस्थामा कोरोना परीक्षण गर्न नै जान नमान्नु उदेगलाग्दो तथ्य हो । समुदायस्तरमा कोरोनाबारे व्यापक जनचेतचना जगाउनेतर्फ बढी ध्यान दिनु आवश्यक देखिने स्वास्थ्यकर्मीहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ