arrow

सईको कमान्डमा तिंकरमा खटियो नेपाल प्रहरी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ जेठ २३ आइतबार
nepal-police-task.jpg

दार्चुला । दार्चुलाको उत्तरी नाका तिंकरमा नेपाल प्रहरी खटिएको छ । ब्याँस गाउँपालिका–१ को उत्तरी नाका तिंकरमा सईको कमान्डमा १३ जनाको टोली खटिएको हो । शनिवार हेलिकप्टर मार्फत खाद्यान्न सहित प्रहरी तिंकरको छायालेक पुगेको छ । तिंकरको छायालेकबाट हिउँदमा छाङ्गरु झरेको प्रहरीलाई तिंकर पुग्न सकिने अवस्था नहुँदा हेलिकप्टर मार्फत खाद्यान्न र बन्दोबस्तका समानसहित पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

छायालेकमा प्रहरी नायव निरीक्षक (सई) हर्क महताको कमान्डमा १३ जनाको टोली खटिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।  सीमा प्रहरी चौकी तिंकरमा खटिने प्रहरी जनशक्ति, खाद्यान्न, हातहतियार र बन्दोबस्तका समान हेलिकप्टर मार्फत लगिएको हो ।

 नेपालको भूमि भएर तिंकर पुग्न करिब हप्ता दिन लाग्ने र पैदल जान निकै अप्ठ्यारो हुने भएकाले हेलिकप्टर मार्फत पठाइएको प्रहरी नायव उपरीक्षक भट्टले बताए । यस्तै ब्याँस क्षेत्रमा १८ जनाको प्रहरी टोली थप गरिएको छ । सीमा चौकी तिंकरमा १३ जना र सितापुलका लागि ५ जना थपिएका हुन् । 

सितापुलमा प्रहरी सहायक निरीक्षक (असई) प्रकाश सिंहको कमान्डमा खाद्यान्न, हातहतियार तथा बन्दोबस्तका समानसहित ५ जनाको टोली खटिएको छ । सितापुलमा यसअघि पनि प्रहरी तैनाथ थियो । तिंकरमा प्रहरी खटिएसँगै तिंकर गाउँको सुरक्षा सहित चीन सीमा क्षेत्रको निगरानी गर्नेछ ।

तिंकर र छाङ्गरुको डिआइजी अधिकारीद्वारा निरीक्षण
प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रकाश अधिकारी नेतृत्वको टोलीले त्रिदेशीय सीमा क्षेत्र रहेको ब्याँस गाउँपालिका–१ तिंकर र छाङ्गरुको निरीक्षण गरेको छ । अतिक्रमित भूमि नजिकै बस्ने नेपाल प्रहरीको अवस्थाका बारेमा बुझ्न निरीक्षण गरिएको हो । निरीक्षणको क्रममा डिआइजी अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा गर्न नेपाल प्रहरी सक्षम रहेको बताए । 

अहिले सीतापूलमा प्रहरीको भवन निर्माण सुरु हुँदै छ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआइजी अधिकारी तिंकर प्रहरी चौकी पुग्नुभएको हो । डिआइजी अधिकारीसँगै ब्याँसको निरीक्षणको लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति नरेन्द्र बम, जिल्ला प्रहरी प्रमुख मनोहर प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ