- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
त्यो दिन !
उज्वल दाइ, एरिका दिदी (उज्वल दाइकी श्रीमती) र म उहाँहरूको गाडीमा कैयौँ पटक यात्रा गर्दा निश्चित सिटहरूमा बस्थ्यौँ । एरिका दिदी चालक, उज्लव दाइ अगाडिको सिटमा र म पछाडिको सिटमा । यो जेठ १८ मा उहाँहरूको घरबाट निस्कँदा त्यो सिट संरचना खलबलियो । म अगाडिको सिटमा थिएँ, पछाडि विवेकशील अभियानमा उज्वल दाइलाई साथ दिने दुईजना साथीहरू थिए र ड्राइभर, उहाँहरूको घरमा सहयोग गरिरहेका श्याम भाइ थिए । मेरो आँखा त्यो गाडीको मिडिया डिस्प्लेमा पर्यो जहाँ एउटा सन्देश आयो, “Ujwal’s phone got disconnected” (उज्वलको फोन सम्पर्क विहीन भयो !) हामी उहाँको नश्वर शरीरलाई बिदाइ गर्नको लागि आर्यघाट जाँदै थियौँ भने एरिका दिदी पनि उहाँलाई अस्पतालबाट बिदाइ गरी घरतिर आउँदै हुनुहुन्थ्यो ।
हाम्रा देखभेटहरू
उज्वल दाइलाई देखेको २०५० सालको अन्त्यतिर हो जब म बुढानीलकण्ठ स्कुलमा कक्षा चारमा भर्ना भएँ । उहाँ त्यो बेलामा ए-लेभलमा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलामा उहाँको ठुलो ज्यान भएको शरीर भएको सम्झना छ मलाई (आफू सानो छँदा धेरै ठुलो लाग्ने भएकोले पनि त्यस्तो लागेको होला ।) उहाँलाई त्यसपछि म ओ-लेभल पढ्दै गर्दा २०५८ सालतिर देखेको थिएँ जब उहाँ बुढानीलकण्ठ पूर्व विद्यार्थी हेमेन्द्र बोहरासँग स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरूलाई भविष्यको बारेमा परामर्श दिनको लागि आउनुहुन्थ्यो । त्यति बेलासम्म मेरो र उहाँको दोहोरो संवाद भएको याद छैन ।
त्यसको एक वर्षपछि स्कुलको क्लबको कामको लागि आर्थिक सहयोग जुटाउनको लागि म बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाजको पुतलीसडक स्थित कार्यालयमा गएको थिएँ र पहिलो पटक उहाँसँग संवाद भयो । हामीले भूतपूर्व विद्यार्थी समाजसँग सहयोग मागेको प्रक्रिया मिलेन भनेर भन्नुभयो । मैले त्यहाँ सामान्य कुराहरू गरेँ र स्कुल फर्किएँ । म स्कुलको अध्ययन सक्काएर २०६० सालमा निस्केँ र बुढानीलकण्ठको भूतपूर्व विद्यार्थी समाजको राष्ट्रव्यापी छात्रवृत्ति कार्यक्रमको कार्यसमिति सदस्य भएर काम गरेँ र त्यस समयमा उहाँ त्यही समितिको अन्तर्राष्ट्रिय संयोजक हुनुहुन्थ्यो । त्यस बेलामा हामीले नेपाल र विदेशमा रहेका बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाजका सदस्यहरूको पहल तथा सहकार्यमा विश्व बैङ्कबाट एक प्रतिस्पर्धा डोको दाइ घुम्ती पुस्तकालय खोल्नको लागि सवा लाख अमेरिकी डलरको पुरस्कार जितेका थियौँ जसमा उहाँको पनि उल्लेखनीय योगदान रहेको थियो । यस संस्था मार्फत बुढानीलकण्ठ स्कुल, त्यहाँ अध्ययन गरेका विद्यार्थी तथा समाजको उत्थानको लागि प्रतिबद्ध हुनुहुन्थ्यो । त्यही विश्वासलाई कामबाट व्यक्त गरेको उदाहरण दिनको लागि उहाँले बेलाबेलामा ठट्टा गर्दै भन्नुहुन्थ्यो, “मैले त भ्यालेन्टाइन डेमा पनि यस संस्थाको कार्यालयको भित्तामा रङ लगाएर बसेको छु । ”
संस्थाले घुम्ती पुस्तकालयको पुरस्कार पाएपछि त्यसको दैनिक काम कारबाहीको लागि एउटा व्यावसायिक टोली चयन भयो र उज्वल दाइ आफ्नो व्यवसायमा ध्यान दिन थाल्नुभयो । म भने छात्रवृत्ति कार्यक्रमको विभिन्न पदमा रही काम गर्न थालेँ । भेट पातलो भएको भए पनि उहाँले बेलाबेलामा कामलाई थप प्रभावकारी बनाउनको सल्लाह सुझाव दिनुहुन्थ्यो । राजाले देशको शासन सत्ता आफ्नो हातमा लिएपछि म त्यसको विरोधमा सक्रिय हुँदै सडक प्रदर्शनमा समेत सहभागी भएँ । त्यसै क्रममा २०६२ साल माघ १९ मा पत्रकार महासङ्घको आयोजनामा भएको विरोध कार्यक्रममा सहभागी हुँदा प्रहरीले हानेको लाठीले मेरो टाउको फुट्यो जसको फोटो भोलिपल्टको पत्रिकामा छापियो । उज्वल दाइले त्यो फोटो देख्नुभएछ र त्यसको बारेमा बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाजको वेबसाइटमा राखी त्यसको र राजाको शासनको बारेमा चर्चा चलाउनुभयो । हाम्रो पातलिएको भेटघाट फेरि बाक्लियो ।
द्वन्द्वले थलिएको समाजमा दिनदिनै कैयौँको सङ्ख्यामा फौजी र गैरफौजी व्यक्तिहरूको हताहतीको खबर आइराख्दा हामीले सबै मृतक नेपालीहरू फगत तथ्याङ्क मात्रै होइनन्, उनीहरू भनेका कसैका घरका रित्ता पिरा पनि हुन् भन्ने अनुभूति गरी उनीहरूको सम्झना गर्नको लागि एउटा वेबसाइट तयार गरेका थियौँ । त्यसमा हामीले समाचारमा मृतक भनेर जानकारी आएका व्यक्तिहरूको बारेमा उपलब्ध जानकारी र सम्भव भए फोटो पनि राखी प्रकाशित गर्दथ्यौँ । त्यसको सुरुवात गरेको केही समयपछि दोस्रो जनआन्दोलन सुरु भयो जसमा उहाँ र म फरक फरक ठाउँमा सक्रिय थियौँ ।
व्यवसाय र व्यावसायिक सञ्जाल
म २०६३ को जन आन्दोलनपछि उहाँको कम्पनीमा काम गर्न थालेँ । छ महिना काम गरेपछि मैले पढाइमा बढी ध्यान दिनको लागि भनेर कामबाट विश्राम लिएँ । मैले पेशागत व्यावसायिकता सिकेको नै यही कालखण्डमा हो । व्यवस्थापकको रूपमा उहाँ बढी अपेक्षा गर्नुहुन्थ्यो जसले गर्दा उहाँसँग काम गर्नेहरूले आफूलाई तिखार्न सहयोग मिल्थ्यो । त्यसपछि पनि २०६४ भाद्रतिर फेरि तीन वर्ष जति हामीले सँगै काम गर्यौँ । उहाँसँग काम गर्दा उहाँ कम्प्युटर गेम धेरै नै खेल्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । कहिलेकाहीँ त लगातार २०-२२ घण्टा पनि खेल्नुहुन्थ्यो । दुई जनाबाट सुरु गरेको कम्पनी त्यतिबेलामा करिब ३५ जनासम्म पुग्नु आफैँमा पनि सफलता हो जस्तो लाग्छ । त्यहाँका सफलता असफलतामा पनि उहाँले अरूलाई एउटा पाठ दिनुभयो, वर्ड प्रेस भन्ने डिजिटल प्लाटफर्मको आधारित रही कसरी वेबसाइट सम्बन्धी व्यवसायलाई दिगो बनाउने आदि कुरामा उहाँको उल्लेखनीय योगदान रहेको पाउँछु । त्यहाँबाट व्यवसाय कसरी चलाउने भन्ने कुरा सिकी उहाँसँग काम गर्ने कम्तीमा पनि ३०-३५ जनाले देश विदेशमा आफ्नै व्यवसाय खोलेर रोजगारी दिइरहेका छन् । उहाँसँग करिब १० वर्ष विभिन्न प्रशासनिक विधामा काम गरी सूचना प्रविधि सम्बन्धी करिब ६०-७० जनालाई रोजगारी दिन सक्ने गरी आफ्नै व्यवसाय खोलेका उहाँको पारिवारिक नाता पर्ने याम बहादुर केसी (उत्तम) को कथामा उहाँको व्यक्तिगत परामर्श, प्रोत्साहन, सहयोगको एउटा उदाहरण हो ।
नेपालमा उद्यमीहरूलाई एक अर्काबाट सिक्न/सिकाउन, सञ्जाल बनाई एक अर्कालाई सहयोग गर्नको लागि उहाँ लगायत साथीहरूले सुरु गरेको नेपालका लागि उद्यमीहरूको सञ्जालले अहिले एक लाख २० हजार जति व्यक्तिहरूलाई फेसबुकमा जोडाएर एउटा ठुलो मञ्च खडा गरेको छ । देशको आर्थिक कायापलट गर्न साना तथा मझौला उद्यमहरूको ठुलो भूमिका हुन्छ भन्ने आत्मसात् गरी उहाँ लगायतको प्रयासले साँच्चिकै सकारात्मक असर पारेको छ । माथि उल्लेख गरेको वर्ड प्रेसको प्रयोग गर्न संलग्न विभिन्न व्यक्तिहरूलाई एकीकृत गर्न उहाँकै अग्रसरतामा बनाइएको फेसबुक ग्रुपमा पनि करिब आठ हजार वर्ड प्रेस उद्यमी तथा त्यसमा अभिरुचि राख्ने व्यक्तिहरू जोडिएर संसारभरका व्यवसायलाई सेवा प्रदान गरिरहेका छन् । साथै उनीहरूले नेपालका विभिन्न ठाउँमा त्यही क्षेत्रमा काम गर्नेहरूलाई जमघट गराई व्यवसाय विस्तार तथा सञ्जाल निर्माणमा पनि एक अर्कालाई सहयोग गरिरहेका छन् । उनीहरू विदेशमा हुने त्यस्ता जमघटमा पनि गई आफ्नो लागि व्यवसाय ल्याउने र अरूलाई पनि आफ्ना सफलताका कथा सुनाउने गर्छन् ।
सामाजिक अभियान
व्यवसाय, अर्थतन्त्र र जनजीविकामा बन्दले पार्ने प्रभावले आजित भई त्यसको विरुद्ध पैरवी गर्नको लागि हामी मिलेर २०६६ मा एउटा फेसबुक ग्रुप खोलेका थियौँ । त्यसमा नागरिकहरूले आफ्ना विचारहरू साझा गर्न प्रयोग गरिरहेका थिए । त्यस अभियानलाई प्रत्यक्ष रूपमा देशका विभिन्न भागमा लैजानुपर्छ भन्ने अनुभूति भएर हामीले बन्दका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान देशका विभिन्न ठाउँबाट गरेका थियौँ । पछि राजनीतिक रूपमा सञ्चालन गरिएको नेपाल खुल्ला छ अभियान पनि यसैको बीजारोपणबाट हुर्किएको बिरुवा थियो ।
राम्रो चलिरहेको व्यवसायको नेतृत्व गर्दागर्दै पनि उहाँले राजनीतिक परिस्थिति र प्रणालीले त्यसमा पारिरहेको असरको बारेमा सचेत हुँदै त्यसलाई परिवर्तन गर्नको लागि चिन्तारत र आफ्नो हैसियत अनुसार प्रयासरत पनि हुनुहुन्थ्यो । संविधानसभाले समयमै संविधान दिन नसक्ने भएपछि समय थपिएको सन्दर्भमा २०६७ सालको अन्त्यतिर परिवर्तनका लागि हामी नेपाली एक भन्ने नागरिक तथा पेशाकर्मीहरूको एक समूह बनाइएको थियो । त्यसमा उहाँ नेतृत्वदायी भूमिकामा नै हुनुहुन्थ्यो । हामी विभिन्न कार्यक्रमहरूमा सहभागी भैरहन्थ्यौँ । पारदर्शीतालाई हाम्रा कार्यक्रमहरूका मूलमन्त्र बनाउनुपर्छ र त्यसको अनुसरण गर्नुपर्छ भन्नेमा हाम्रो सदैव जोड रहन्थ्यो । संविधान सभाको विघटन नभइन्जेलसम्म त्यसकै सेरोफेरोमा विभिन्न जनचेतना तथा दबाबमूलक काम कारबाहीहरू सञ्चालन गर्नमा र नागरिकहरूलाई पनि जिम्मेवार र आफ्ना कर्तव्यको पालना गर्ने बनाउन उहाँको उल्लेख्य योगदान रहेको पाएँ ।
राजनीतिक अग्रसरता
संविधान सभाको विघटनपछि नागरिकहरूको भूमिका के हुन सक्छ भन्नेमा ‘अब के गर्ने?’ शृङ्खला मार्फत लामो छलफल भयो । म पनि सुरुका केही छलफलहरूमा सहभागी रहेको थिएँ । पछि कामको व्यस्तताले गर्दा सोचे जति सहभागी हुन नपाए पनि उहाँले लेखेका अवधारणा पत्र आदिलाई नेपालीमा अनुवाद गर्नको लागि मलाई पठाउनु हुन्थ्यो । त्यो समयसम्म उहाँ नेपाली भन्दा अँग्रेजीमा लेख्न बढी रुचाउनु हुन्थ्यो । नागरिक अभियानका सीमितताहरूलाई बुझेर विवेकशील अभियान मार्फत राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय उहाँहरूले गर्नुभएको रहेछ । पार्टीको गठनको समयमा पनि मैले केही सहयोग गर्ने अवसर पाएको थिएँ । विवेकशील मञ्च हुँदै २०६९ सालमा विवेकशील पार्टी गठन भयो जसलाई निर्वाचन आयोगले दुई वर्षपछि आधिकारिकता दियो ।
राजनीतिको बारेमा हाम्रा साथीभाइहरूसँग पनि उहाँको कुराकानी भइरहन्थ्यो । राजनीतिमा प्रवेशको सुरुवाती चरणमा उहाँसँग कुरा गरेको मेरो एक जना साथीले उहाँको मृत्यु भएको दिन त्यस कुराकानीलाई सम्झँदै थिए, “म राजनीति गर्न रहरले होइन बाध्यताले आएको हुँ । बाध्यता नभएको भए त म व्यवसाय चलाएर र आफूलाई मन लागेको काम गरेर बसिहाल्थेँ नि !” तत्कालीन दलहरूको काम गराइएको शैलीले देशले खोजेको हस्तक्षेप आउन्न र देशका समस्याहरूको समाधान खोज्न नयाँ तरिकाले नै सोच्नुपर्छ भन्ने भाव थियो । विना राजनीतिक अनुभव र महत्त्वाकाङ्क्षा राजनीतिक मैदानमा उत्रनु हाम्रो समाजमा हुने विरलै घटना हो ।
निर्वाचनमा प्रत्याशी
उहाँ २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौँ ५ बाट उठ्नुभयो । म विवेकशील पार्टीको तर्फबाट पनि उम्मेदवार भएको क्षेत्रमा अर्को पार्टीको प्रत्याशीको अभियानमा संलग्न भएकाले उहाँलाई सहयोग गर्न त सकिनँ तर पनि विवेकशील पार्टी र उक्त सांसदको अभियानबिचमा सहजीकरण भने गर्न सकेँ । हाम्रो सम्बन्ध सहज ढङ्गले नै चलिरहेको थियो । चुनाव सकिएपछि भएको एक भेटघाटमा मैले उहाँलाई भनेको थिएँ, “तपाईंको अभियानलाई मैले केही आर्थिक सहयोग त गरेको छु तर संविधान निर्माणको लागि त्यो क्षेत्रमा नरहरि आचार्य नै जित्नुपर्ने व्यक्ति हुन् । ” त्यसलाई उहाँले सहज रूपमा लिनुभयो र थप्नुभयो, “हामी जस्ता व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न केही अवसर आए भन्नु है । ”
२०७३ सालको कार्तिकबाट म पनि विवेकशील पार्टीमा अनौपचारिक तर सक्रिय रूपमा सहयोग गर्न थालेँ । स्थानीय चुनावमा मलाई पार्टीले महत्त्वपूर्ण क्षेत्रमा जिम्मेवारी सुम्पिएको थियो । त्यसलाई सहज ढङ्गले नै निभाएँ । काम गर्दै गर्दा उहाँको घरमा कैयौँ रातहरू बिताएको छु । एक पटक हामी दुवै जना उहाँले चलाएको स्कुटरमा जाँदै गर्दा अर्को मोटरसाइकलले हान्यो जसले गर्दा स्कुटरमा सामान्य क्षति भयो तर हामीलाई केही पनि भएन । त्यो चुनावी अभियानमा हुँदा उहाँको रणनीतिक सोच तथा वैकल्पिक हिसाबबाट हेर्ने शैलीलाई झन् नजिकबाट देख्ने मौका पाएँ । कतिपय अवस्थामा निर्णय गर्दा कार्य विभाजन गरिएको समूहको भन्दा फरक तरिकाले पनि निर्णय गर्नुहुन्थ्यो । केही महत्त्वपूर्ण विषयमा पार्टीले निर्णय गर्नु अगाडि मसँग पनि सल्लाह लिनुहुन्थ्यो । मेरो विवेकले भ्याएसम्मको सल्लाह दिन्थेँ । स्थानीय निर्वाचन अगाडि पार्टीमा रहेको विवाद समाधान, मेयरको उम्मेदवार चयन तथा पार्टी एकीकरणपछिको विभिन्न समितिहरूको समायोजन, विवेकशील साझाका अर्का संयोजकसँगको सम्बन्ध व्यवस्थापन जस्ता विषयमा छलफल भएको थियो । २०७४ असारमा मात्रै मैले आधिकारिक रूपमा पार्टीको सदस्यता लिएको हो ।
व्यक्तिगत रूपमा हाम्रो सम्बन्ध राम्रो भए पनि न त त्यसको राजनीतिक लाभ मैले लिन खोजेँ न त उहाँले नै फरक ढङ्गले मलाई व्यवहार गर्नुभयो । तत्कालीन विवेकशील नेपाली दलको केन्द्रीय समिति विस्तारको समयमा केन्द्रीय सदस्यहरूले मतदान गरी चयन गरिएको रहेछ । उक्त मतदानपछि मलाई भेट्दा भन्नुभयो, “हाम्रो व्यक्तिगत सम्बन्धले गर्दा तिमीलाई मनोनयन गर्ने पक्षमा मैले मतदान गर्दा पक्षपात गरेको जस्तो ठानिन सक्ने भएकाले मैले तिमीलाई मतदान गरिनँ है ।” मलाई त्यो स्वाभाविक लाग्यो जसरी अगाडि मैले उहाँको प्रतिस्पर्धीको बारेमा भन्दा उहाँलाई लागेको थियो ।
राजनीतिक भ्रमण
विवेकशील साझा पार्टीको गठन भएपछि हामी दुईजना देशका विभिन्न जिल्लामा पुगेका थियौँ । राजनीतिक, सामाजिक, आर्थिक हिसाबले पार्टीका साथीहरू सक्षम हुनुपर्छ भन्नेमा उहाँ बारम्बार जोड दिनुहुन्थ्यो र गर्न सकिने केही कुराहरू उहाँले राखिराख्नु हुन्थ्यो । पार्टीको विभाजन हुनु अगाडिको उहाँले गर्नु भएको देशका विभिन्न जिल्लाहरूको यात्रामा केही समय जोडिने मौका पाएको थिएँ । पार्टीको विभाजनपछि विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन अगाडि पनि तयार गरिएका दस्ताबेजहरूमा छलफल गर्नको लागि उहाँले गर्नुभएको यात्रामा पनि हामीले विभिन्न जिल्लाहरू घुमेका थियौँ । सबै छलफलहरूमा साथीहरूलाई उत्प्रेरित गरिरहने, प्रोत्साहित गरिरहने र वैकल्पिक तरिकाले सोच्न घचघच्याइरहनु हुन्थ्यो । विवेकशील साझा पार्टीको विभाजन अगाडि उहाँले प्रस्तुत गर्नुभएको सम्भवतः उहाँको राजनीतिक जीवनको सबभन्दा महत्त्वपूर्ण दस्ताबेजको रूपमा आएको १८ पाने प्रतिवेदनलाई सम्पादन गर्ने काम पनि सँगै गरेको थिएँ ।
वैदेशिक सम्बन्ध तथा छिमेकीहरूको विकासको बदलिँदो आयामको बारेमा बुझ्न विवेकशील साझा पार्टीको विदेश मामिला विभागको संयोजनमा उज्वल दाइ, एरिका दिदी, दिनेश प्रसाईं, बागमती प्रदेश सांसद रमेश पौड्याल, चीनको केरुङ पनि पुगेका थियौं । त्यो भ्रमणले वैदेशिक सम्बन्धी हाम्रो बुझाइलाई अझ फराकिलो बनाएको थियो ।
भूकम्पपछिको सक्रियता
२०७२ सालको भूकम्पपछि विवेकशीलका साथीहरूले निकै राम्रोसँग काम गरेका थिए । हाम्रो भेट वैशाख १३ गते टिचिङ अस्पताल महाराजगन्जमा भएको थियो । त्यहाँ बसेर सहयोग गर्दै थियौँ । त्यसको केही दिनपछि म बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाजको राहत वितरण कार्यक्रममा सहभागी भएँ । उहाँहरूले आफूले नै विभिन्न देशहरूबाट राहत रकम ल्याएर यता काम गर्नुभयो । त्यो अवस्था नै धेरै नागरिकहरूको लागि कठिन समय भएकाले जसरी भए पनि उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने भाव पाएको थिएँ । त्यस बेलाको सन्दर्भ नबुझी आर्थिक अनियमितता गरेको भन्ने किसिमले उहाँमाथि पूर्वाग्रही हिसाबले लगाइएका आरोपहरूले उहाँलाई साँच्चिकै असर पारेको थियो, उहाँ निकै नै दुःखी हुनुहुन्थ्यो । व्यक्तिगत तथा राजनीतिक पक्षधरतामा आधारित भएर समाजमा हुने बाटो मोडिएको बहसले उहाँलाई असहाय बनाएको पाएको थिएँ ।
फरक शैलीको चुनावी अभियान
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उहाँ काठमाडौँ - ५ बाट उम्मेदवार बन्ने निर्णय भयो । म पनि दोलखाबाट विवेकशील साझा पार्टी उम्मेदवार बनेको थिएँ । बेला बेलामा काठमाडौँ आउँदा उहाँसँग र त्यस अभियानमा संलग्न साथीहरूसँग भेट हुन्थ्यो । म दोलखाबाटै पनि उहाँको अभियानका साथीहरूलाई सल्लाह सुझाव दिइराख्थेँ । उहाँमा एउटा अन्तर्द्वन्द्व रहेछ, उहाँले मतदातालाई भेट्नुपर्ने हो कि मतदाताले उहाँलाई ? सुरुवाती चरणमा त्यति धेरै घरदैलो गर्न रुचाउनु भएनछ । भान्सामा बसेर कहिले तरकारीको बारेमा त कहिले रोटीको बारेमा चर्चा गर्दै मतदातालाई असर पार्ने विषयहरूको बारेमा फरक शैलीले आफ्ना धारणा राख्नुहुन्थ्यो । म पनि आफ्नो क्षेत्रको निर्वाचन सकिएको भोलिपल्टदेखि चुनाव नसकिएसम्म नै उहाँको क्षेत्रमा उहाँसँगै खटिएको थिएँ । अलिक फरक ढङ्गले चुनावमा प्रतिस्पर्धा गर्न खोज्नुभयो तर शायद समाज उहाँले सोचेको तहमा पुगिसकेको थिएन । उहाँले त्यस निर्वाचनबाट निकै आशा राख्नुभएको थियो । नतिजा सोचे जस्तो नआएकाले केही समय निराश नै हुनुहुन्थ्यो ।
डा गोविन्द केसीको अभियान
हामीले लामो समयसम्म सँगै काम गरेको राजनीतिक तथा सामाजिक अभियान भनेको चिकित्सा सुधार गर्ने डा गोविन्द केसीको अभियानमा हाम्रो ऐक्यबद्धता, सहभागिता, कार्यक्रम आयोजना र रणनीति निर्माण थियो । त्यसमा नयाँ साथीहरूलाई अगाडि बढ्न, प्रोत्साहित गरिरहनु हुन्थ्यो । उहाँ त्यो डा केसीलाई सहयोग गर्न आएको हैन मेरो आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्यको लागि आएको हुँ भन्नु हुन्थ्यो । महामारीको सामना गर्न सक्ने स्वास्थ्य सेवा त हाम्रो रहेनछ भन्ने उहाँले निधनले पनि पुष्टि गरेको छ । डा केसीको अभियानको समर्थनमा आयोजना गरिने कार्यक्रममा उहाँले धेरैतर्फको भूमिकामा भएकाले कहिलेकाहीँ समस्या पनि पर्दथ्यो । एक पटक डा केसीको अभियानमा ठुलै कार्यक्रम हुँदै थियो जसमा बोल्ने अवसर आए दुई मध्ये एक संयोजकले बोल्नुपर्छ भन्ने पार्टीमा साथीहरूको सहमति भएको रहेछ । त्यसको अघिल्लो दिन कसरी कार्यक्रम आयोजना गर्ने भनेर म, ओम प्रकाश अर्यालजी र उज्वल दाइले छलफल गर्यौँ । हामी तिनै जना त्यो समयमा विवेकशील साझा पार्टीका भए पनि डा केसीको अभियानका अभियन्ताको रूपमा सक्रिय थियौँ र त्यसमा पार्टीको निर्णयले हामीलाई छुँदैन थियो । ओमजीले भन्नुभयो, “यस अभियानमा तपाईंको ठुलो योगदान रहेको छ । भोलिको कार्यक्रममा आफ्ना कुराहरू राख्नुहोस् । ” उज्वल दाइले भन्नुभयो, “मलाई हैन, शशी (विक्रम कार्की) लाई बोल्न दिऔँ । ” त्यसै अनुसार कार्यक्रम तय भएर सम्पन्न पनि गरियो । कार्यक्रम सकिएर फर्कने बेलामा मात्रै उहाँले पृष्ठभूमिको सन्दर्भको बारेमा मलाई बताउनु भएको थियो । अरूलाई प्रोत्साहित गरिरहने, अवसर दिइरहने काम गर्न उहाँले कहिल्यै पनि सम्झौता गर्नुभएन । नेतृत्व तयार पार्ने त्यो नर्सरीमा उम्रिएका धेरै बिरुवाहरूलाई मलजल तथा प्रकाश दिने काममा सदैव लाग्नुभयो ।
यही अभियानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग पनि हाम्रो पौँठेजोरी पर्यो । उज्वल दाइलाई पनि तीव्र दबाब थियो । अलिक टाढाका नाता पर्ने व्यक्तिहरू मार्फत लोकमानसिंह कार्की विरुद्धको अभियानलाई कम पार्न दबाब आउँथ्यो । उहाँले कूटनैतिक शैलीमा त्यसलाई टारिदिनु हुन्थ्यो । उनी विरुद्ध महाभियोग प्रस्ताव किन लगाउनुपर्छ भनेर १२ बुँदे आरोपपत्र पनि तयार गरेका थियौँ । यी अभियानमा रचनात्मकता, विद्यमान कानुनले दिएका अधिकारहरूको उपयोग गर्ने, फोन र एसएमएस गर्ने जस्ता सरल तरिका अपनाउन उत्प्रेरित गरिरहनु हुन्थ्यो ।
समानताका पक्षधर
लैङ्गिक तथा सामाजिक समानतामा उहाँ कटिबद्ध हुनुहुन्थ्यो । बुढानीलकण्ठमा हाम्रो कक्षाका साथीहरूलाई भन्नुभएको एउटा घटना अनुसार उहाँले ए-लेभल पढिसकेपछि स्याङ्जाको आफ्नो गाउँमा गएर दलितहरूको बारेमा एउटा अध्ययन गर्नुभएको थियो जसको बारेमा उहाँ आफूले आवेदन दिएको अमेरिकाको कलेजलाई पठाउने योजना थियो । त्यहाँ गएर एक दलित परिवारमा गएर उहाँले दूध माग्नुभयो तर उक्त परिवारमा गाउँमा बस्ने उहाँको फुपूले के भन्नुहुन्छ भन्ने चिन्ता रहेछ । उहाँले त्यसलाई सहजीकरण गरी दूध पिएर आउनुभएको थियो । अहिलेको सामाजिक चेतनाको हिसाबले हेर्दा त्यो स्वभाविकै लागे पनि आजभन्दा २५ वर्ष अगाडि त्यो आफैँमा एक उल्लेखनीय कदम थियो । त्यही भावलाई उहाँ बितेको दिनमा उहाँको बुबाले पनि जोड दिँदै हुनुहुन्थ्यो । उहाँले आफू छोराको लागि दागबत्ती दिन जान नसक्ने खबर हामीलाई गर्नुभयो । त्यसपछि आलोक सुवेदी र रन्जु दर्शनाले उज्वल दाइलाई दागबत्ती दिने सल्लाह भयो । उहाँहरूको घरको आँगनमा म लगायत साथीहरू थियौँ र बुबा आएर भन्नुभयो, “उज्वलले कहिल्यै पनि कसैलाई जातको आधारमा भेदभाव गरेन । हाम्रो धर्मशास्त्रले दागबत्ती आफूभन्दा कथित तल्लो जातकोबाट नलिनू भनेको भए पनि त्यसमा तिमीहरूले कुनै भेदभाव नगर्नु है !”
लैङ्गिक समानताको विषयमा पनि उहाँ उदार हुनुहुन्थ्यो । घरकै काममा पनि सहयोग गर्ने, आफूले पनि काम गर्ने उहाँको स्वभाव थियो । आफू पूर्णकालीन राजनीतिमा लागेको र एरिका दिदी पेशागत रूपमा संलग्न भएको अवस्थामा दिदीलाई नै घरको कामको पनि जिम्मा लगाउनु उचित हुन्न भन्नेमा प्रष्ट हुनुहुन्थ्यो । शायद उहाँहरूको आपसी सहमति अनुसार नै होला, बेलुका चाहिँ प्राय: उहाँ आफैँले पकाउनु हुन्थ्यो, घर फर्किन ढिलै भए पनि ! त्यसलाई समाजको तहमा पनि महिलालाई सुरक्षित राख्नको लागि राज्यको भूमिका हुनुपर्छ भन्नेमा उहाँ सचेत हुनुहुन्थ्यो । वैदेशिक रोजगारीबाट फर्किएकी सीता राईलाई सरकारी कर्मचारीहरूबाटै बलात्कार गरिएकोले दोषीलाई कारबाही र लैङ्गिक हिंसाको सवालमा राज्यले बढी संवेदनशील भएर काम गर्नुपर्ने माग राख्दै ‘अकुपाई बालुवाटार’ भन्ने अभियान अन्तर्गत १०० दिन बालुवाटार अगाडी उहाँ लगायत सचेत नागरिकहरू प्रधानमन्त्री निवास अगाडि दिनकै उभिनु भएको थियो ।
मानवतावादी व्यक्तित्व र भविष्यमुखी विचारक
उहाँका सोचहरू बृहत् मानव जातिको लागि सोच्ने खालको थियो । हामी शायद अलिक बढी नै देशको घेरामा नै सीमित भएकाले उहाँका कतिपय विचारहरू आत्मसात् गर्न कठिन हुन्थ्यो तर पनि उहाँ त्यसमा प्रष्टताका साथ आफ्ना विचारहरू व्यक्त गर्नु हुन्थ्यो । नागरिकताको सवालमा पनि त्यस्तै उदार सोच थियो - शायद अमेरिका जस्ता देशहरूको व्यवस्था देखेर/भोगेर पनि उहाँको विचार प्रभावित भएको हुन सक्छ । समाजका दीर्घकालीन सवालहरूलाई कसरी समाधान गर्ने बारेमा उहाँले निकै नै सोचेको पाएँ । जलवायु परिवर्तनका असरहरूले कसरी प्रभाव पार्छ र हामीले कसरी त्यसको सामना गर्ने भन्ने बारेमा उहाँको चिन्ता थियो । नेपालले दुई ठुला र आर्थिक रूपले सम्पन्न देशहरूबाट कसरी लाभ लिने भन्नेमा पनि उहाँको रुचि तथा चासो थियो र त्यसको बारेमा पार्टीले बनाएको उत्तर दक्षिण नीति र पछि आफ्नै लेखहरूमा पनि प्रशस्तै चिन्ता गरेको पाएँ ।
सामाजिक पुँजी
सक्रिय राजनीतिमा अर्को पुस्तालाई हस्तान्तरण गरेपछि उहाँले आर्थिक दिगोपनको लागि काम गर्ने सोच गर्दै हुनुहुन्थ्यो । बिचमै लकडाउन भएर खासै काम गर्न सक्नु भएको थिएन । त्यसै सन्दर्भमा एरिका दिदीसँग (उहाँकी श्रीमती) बेला बेलामा पैसाको विषयमा कुराकानी हुन्थ्यो । उहाँ चाहिँ अलि बढी घुम्न मन पराउने र गम्भीर मुद्रामा नै घर बेचेर घुम्न जाने हो भनेर भनिराख्नु हुन्थ्यो । यस्ता खर्च लगायत बिरामी पर्दा लाग्ने आकस्मिक खर्चको लागि त हामीसँग पैसा हुनुपर्छ नि भनेर एरिका दिदीले भन्दा उहाँले भन्नुहुन्थ्यो, “मलाई त्यस्तो आपत्कालीन अवस्थाको लागि खासै पैसा चाहिन्नँ । मेरो सामाजिक पुँजी यति छ कि म बाटोमा लडिरहेको कसैले देख्यो भने मलाई अस्पताल पुऱ्याउँछ र उपचार गर्छ । ” मेरो मनमा चाहिँ साँच्चिकै त्यस्तो होला त भनेर लागिराख्थ्यो । एरिका दिदीले पनि मैले जस्तो नै सोच्नु भएको रहेछ । उज्वल दाइको उपचारको लागि त्यति धेरै रकम सङ्कलन भएको र सद्भाव जम्मा भएको देखेपछि दाइ बितेपछि दिदीले भन्दै हुनुहुन्थ्यो, “उज्वलले भन्ने गरेको सामाजिक पुँजी त साँच्चिकै रहेछ हगि !”
कति साना जस्ता देखिने कुराहरूले पनि मलाई प्रभाव पारेका छन् । उहाँको कार्यालयमा एकपटक चिया खाने समयमा पुग्दा त्यहाँ सबैले चिया खाजा खाइसकेपछि उठेर गई आ-आफ्ना भाँडा माझे । मैले त्यो समयदेखि नै कम्तीमा आफूले खाएका भाँडाहरू निरन्तर रूपमा माझ्ने गरेको छु । अरूको घरमा जाँदा त्यसो गर्न आतिथेय प्रदान गर्नेले पनि असहज मान्ने भएकोले त्यस्तो नगरे पनि उहाँको घरमा जाँदा भने सधैँ त्यसो गर्ने गर्दथेँ र पछिसम्म पनि गर्छु ।
सगरमाथाको त्यो यात्रा
सगरमाथा आधार शिविर लगायत गोक्यो तालको भ्रमण गर्ने उहाँको लामो समयदेखिको योजना थियो । म र मेरी श्रीमतीलाई पनि जाऊँ भन्नुभएको थियो तर हाम्रो नमिल्ने भएर हामी गएनौँ । उहाँसँग राजनीतिक रूपमा लामो समयदेखि सँगै रहेकी कर्मा तामाङजीको परिवारसँग जानुभएको थियो । सगरमाथा आधार शिविरमा कोरोना सङ्क्रमण फैलिरहेको जानकारी आएकाले विचार गर्नुहोस् है भन्ने सुझाव दिएको थिएँ जुन उहाँहरू नाम्चे पुग्दा पनि दिएको थिएँ । हामी सतर्क भएरै हिँडेका छौँ भन्नुभएको थियो । उहाँहरू पदयात्रा सकाएर लुक्ला आएपछि कुरा गर्दा खोकी लागेको प्रष्टै सुनिन्थ्यो । घुम्न मन पराउने दाइले सधैं भन्ने गर्नु हुन्थ्यो, घर बेचेर अब विश्व भ्रमणमा निस्कनुपर्छ । प्रायः हरेक वर्ष देश वा विदेशमा कतै न कतै घुम्न गइरहने बानी नै थियो ।
उज्वलका योगदान
विवेकशीलका विभिन्न चरणका अनुभवको आधारमा राजनीतिलाई विचार, सङ्गठन तथा अभियानको साथसाथै पारदर्शी आर्थिक पाटोको पनि आवश्यकता रहेकोमा उहाँ प्रष्ट हुनुहुन्थ्यो । त्यसलाई कसरी हासिल गर्ने भन्नेमा उहाँको चिन्तन देखिन्थ्यो । यसलाई मूर्तरूप दिनको लागि विभिन्न व्यक्तिहरूसँग गहन तहमा कुराकानी पनि गर्दै हुनुहुन्थ्यो । राजनीतिक प्रणालीलाई धक्का दिन अलिक फरक ढङ्गले सोच्नुपर्नेमा उहाँको सदैव प्रतिबद्धता रहेको पाएँ ।
राजनीतिमा फरक किसिमको अभियानलाई उहाँले परीक्षण गरी सम्भव छन् है भन्ने प्रमाणित पनि गर्नुभयो । राजनीति भनेको कोरा दर्शन मात्रै होइन, मानिसहरूलाई उनीहरूको समस्याहरूको समाधान आफैँ खोज्नलाई सशक्तीकरण गर्नुपर्छ भन्ने चिन्तनलाई केन्द्रमा ल्याउनुभयो । विवेकशील पार्टीले आयोजना गरेका उद्यमशीलता सम्बन्धी कामहरूबाट धेरैले उपयुक्त प्रेरणा, सल्लाह, सञ्जालको फाइदा लिई अगाडि बढेको देखेको छु । उद्यमशीलता जस्ता सामान्यतया राजनीतिज्ञहरूका ध्यान नजाने विषयमा पनि उनीहरूको ध्यान आकर्षित गरी राजनीतिलाई पुनः परिभाषित गर्न सफल भएको पाएको छु ।
मलाई लाग्छ, समाजले उहाँको विचार तथा शैलीलाई ग्रहण गर्न सक्नेभन्दा अगाडिकै समयमा उहाँ आउनुभयो । व्यावसायिक हिसाबले उहाँका विचारहरू पनि कार्यान्वयन गर्नको लागि उपयुक्त वातावरण र समाजको मनस्थिति बनिनसकेको जस्तो लाग्छ । राजनीतिलाई पनि बृहत् दायरामा लैजान प्रयास गर्दा “हाम्रो समाजै यस्तै छ”, “राजनीति भनेकै यस्तो हुन्छ” भन्नेहरूसँग उहाँ जोडिनुपर्ने भयो । उहाँका व्यवस्थापकीय तथा राजनीतिक/वैचारिक सीमितताले गर्दा पनि त्यस्तो भएको हुन सक्छ । तर उहाँको व्यक्तिगत सफलता जे भए पनि सीमितताका बाबजुद अरूको लागि धेरै कुरा गर्न सम्भव छ भन्ने प्रमाणित गरी जानुभयो ।
उहाँको निधनपछि एकजना साथीले भन्दै थिए, “अबको चालीस वर्षपछि हामी उज्वल दाइबाट प्रशिक्षित साथीले यो पार्टीमा यो पदमा पुगेछ । अर्को साथीले देशको सुधारको लागि यस्तो काम गरेछ भनेर चर्चा गर्छौँ होला हगि !” मलाई पनि लागेको कुरा चाहिँ राजनीतिक, सामाजिक तथा आर्थिक नर्सरीमा धेरै बिरुवाहरूलाई आफैँ हुर्किन सक्ने तहमा पुर्याउने वातावरण बनाएर जानुभयो भन्ने नै हो । अब उनीहरूका सफलता र असफलताको बारेमा त समयले देखाउने छ नै !
(लेखक हाल विवेकशील पार्टीका प्रवक्ता हुन् ।)