- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महेन्द्रनगर। कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्ण रूपमा अवस्था सामान्य बनिसकेको छैन। तर कोरोना त्रासदीका बीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ।
सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआए पनि यहाँको गौरिफन्टा नाकामा भने भारत जाने नेपालीहरूको लाम लाग्न थालेको छ। “डोटीबाट मोटरसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदुरी गर्न जाँदै छु”, कञ्चनपुरको पूर्वी गौरीफन्टाबाट भारतको मुम्बई जान हिँडेका दीपेन्द्र खड्काले भने, “ यहाँ बसेर कोरोनाबाट त बाँच्यौ तर भोकले मर्ने स्थिति बनेपछि मुगलान जानुको विकल्प रहेन।”
कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखद कुरो भएको बताए। “कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जीविका चलाउने मन थियो”, उनले भने, “पारिवारिक अवस्था कमजोर त्यो सम्भव भएन।” गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भिडभाड रहे पनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न सहर जाने क्रम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौँदेखि भारत नै हो।
डोके बजारस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्गजङ्ग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सय भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए। “भारतबाट स्वदेश फर्किनेहरूलाई गन्तव्यमा पुर्याउन नाकामै बसको व्यवस्था गरिएको छ”, उनले भने, “बसहरू गन्तव्यमा यात्रु पुर्याएर फर्किदा त्यसैमा भारत जाने आउँछन्।”
उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालिकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए।
प्रहरी नायब निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए। “अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्”, उनले भने, “यो नाकाबाट दिल्ली, मुम्बई, पुन, गुजरात लगायतका सहरमा बढी जाँदा रहेछन्।”
त्यसै गरी शुक्रवार श्रीमानसहित कामका लागि भारतको पन्जाब जान लागेकी डडेलधुराकी धना देवी जोशीले आफूहरू लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जीविका चलाउँदै आएको बताइन्। “यहाँ त कोरोनाको बेलामा कामसमेत पाउने स्थिति छैन”, उनले बनिन्, “कोरोनाको समयमै रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जादैछौँ।”
केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरू दैनिक रूपमा भारत जाने क्रम बढ्दै गएको हो। शुक्रवारको तथ्याङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सय जना भन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन्। त्यसै गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए। “कोरोना कहर कम हुँदै जाँदा आउनेहरु घटेका छन्”, प्रवक्ता थापाले भने, “नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन।”