arrow

डोजर अपरेटरको सनकका भरमा खनिएका सडकले बढायो पहिरोको जोखिम

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७८ असार ८ मंगलबार
jcv-dojer-road.jpg
फाइल तस्बिर

डोटी। जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्‍याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ। पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्ण रूपमा बन्द भएका छन्। डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको ट्रयाक खन्दा पहिराको जोखिम बढेको स्थानीयवासीको आरोप छ।

विगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्‍याउने नेताले गरेका बाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ। जथाभाबी खनिएका सडकले विकासभन्दा पनि विनाश बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोशित बन्न थालेका छन्।

गाउँ गाउँमा सडक पुर्‍याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिना नै खनिएका यस्ता सडकले बस्ती नै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए। उनले भने, “नामका सडक मात्रै भए कामका कोही सडक भएनन्, मनपरी खनिएका सडकले अहिले पहिरा आउन थाल्यो।” लाखौँ रकम खर्च गरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका वस्तिसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताए। उनले भने, “जथाभाबी डोजर प्रयोग गरेर विना अध्ययन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिन नै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिर भएका छन्, अब कसरी गाडी चल्छन्।”

जिल्लाका ग्रामीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोस्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ। यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरुद्ध भएका छन्।

पानीले सडक भरमा पहिरो आउनुका साथै सडक नै बगाएर चिराचिरा बनाएको स्थानीयवासी बताउँछन्। सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्सा बिना डोजर अपरेटरको डिजाइन र नक्साङ्कन ले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन्।

सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडक बन्द भएका छन्। यसरी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताए। उनले भने, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ति मात्रै जोखिम बनायो।”

जिल्लामा निर्माण गरिएका मापदण्ड बिनाका सडक खारेज हुनु पर्ने यहाँका नागरिकको माग रहेको छ। यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरिएका सडकको सर्वेक्षण आफू बाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल पाते दिपायलका सडक प्राविधिकको आरोप छ।

यहाँका सडक वस्ती माथि तथा गाउँ तलबाट खनिएकाले वस्ती नै पहिराको उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए। प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ