arrow

मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन मुस्किल

logo
नवीन लामिछाने,
प्रकाशित २०७८ असार १३ आइतबार
marshyangdi-river-flood-photo-mero-lamjung.jpg
फाइल तस्बिर

मनाङ। जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ। मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन मुस्किल भएको हो। अहिले जेसिबीको प्रयोगबाट नदीलाई  पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ। सो नदीले बगाएर ल्याएका  काठ  पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ।

वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुस्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। “नदीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो। पेत त आइपुग्यो।  काम गर्न सकिएको छैन”,उनले भने, “पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो।”

मन्त्रालयले बाढी पहिरोका कारण अवरुद्ध बेसीशहर–चामे सडक तत्काल खुलाउन मातहतका निकायलाई निर्देशन दिएको छ। मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठिन भएको उनले बताए। निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएको काठहरूले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ। “सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ। ” उनले भने।

उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आए पनि प्रतिकूल मौसमले साथ दिएको छैन। बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुँदा जिल्ला सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ।

गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पुरै सडक खण्ड अवरुद्ध भएका थिए। अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी  छ।

विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो।

मनसुन सुरुभएदेखि आएको बाढी पहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थानीय बताउँछन्। बाढी पहिरोको प्रभाव सुरु आती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ। अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरूमा क्षति पुर्‍याउँदै गएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ