arrow

गृहले समन्वय नगरिदिएपछि गुरुङ र घले सानै हेलिकप्टरमा राहत सामग्री लिएर पुगे मनाङ 

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ असार १३ आइतबार
tek-gurung-karma-manang.jpg

मनाङ। कैयन प्रयास गर्दा पनि राहत लैजान गृहले सेनाको हेलिकप्टरको सिफारिस नगरिदिएपछि मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता तथा जनप्रतिनिधि आफ्नै खर्चमा राहत सामग्री लिएर मनाङ पुगेका छन्। नेपाली काँग्रेस मनाङका सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले निजी खर्चमा राहत सामाग्री सहित फिस्टेल हेलिकप्टरबाट मनाङ गएका हुन्।  ।

गुरुङ र घले पाल, खाद्यान्न सामाग्री, पिउने पानी र औषधी सहित काठमाडौँबाट सोझै नासोङ १ ताल गएका हुन्। नेताहरू तालमा अवतरण गरेपछि हेलिकप्टर लमजुङको बेसीशहर जानेछ । बेसीशहरबाट खाद्य सामाग्री लिएर पुनः तालमै अवतरण गर्ने स्थानीय पत्रकार नवीन लामिछानेले जानकारी दिए । तालमा दुई पटक अवतरण गरेपछि पूर्व राज्यमन्त्री र सांसदलाई लिएर हेलिकप्टर ओडार अवतरण गर्ने छ । त्यसपछि  पुनः बेसीशहर आई धारापानीका लागि खाद्य सामाग्री लिएर उडान भर्नेछ । बाढी पहिरोबाट पीडित धारापानी क्षेत्रका जनता ओडार क्षेत्रमा बस्दै आएकाले सभापति एवं पूर्व मन्त्री गुरुङ र सांसद घलेले खाद्य सामाग्री वितरण गरी धारापानी क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् । ओडारमा खाद्य सामाग्री पुर्‍याएर हेलिकप्टर पुनः बेसीशहर आई खाद्य सामाग्री लिई ओडार जाने र पूर्व मन्त्री र सांसदलाई लिएर हेलिकप्टरले मनाङका लागि उडान भर्नेछ । मनाङमा सभापति गुरुङ र सांसद घलेले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला समन्वय समिति अध्यक्ष यज्ञ तले, र पीडितहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मनाङमा सोमबारबाट परेको अविरल बर्षासंगै मनाङको मर्स्याङ्दी नदी र स्थानीय खोलाहरूमा आएको बाढीका कारण मनाङ सदरमुकाम चामेका छ घर बाढीले क्षति पुर्‍याएको छ । बाढीपिडितहरुलाई तत्कालका लागि जिल्ला कारागारको नयाँ भवनमा राखिएको छन् भने नेपाली सेना र स्थानीय सङ्घ-संस्थाले खानाको व्यवस्था गरेको छ । त्यसैगरी, नासोङ गाउककपालिका-१ तालमा बाढी पस्दा ३८ वटा घरहरू डुबानमा परेको छ । अन्य घरहरु पनि बाढीको उच्च खतरामा रहेको नासोङका अध्यक्ष चन्द्र घलेले जानकारी दिए। उता, दुघखोला र मर्स्याङ्दी नदीको बाढीले पुरानो धारापानीका सम्पूर्ण घरमा क्षति पुर्‍याएको छ । त्यसैगरी, नासोङ गाउँपालिकाको कार्यालय, प्रहरी कार्यालय, बैङ्क लगायत सर्वसाधारणका घरहरू पनि बगाएको छ । सडक, पुलहरू बगाएकाले आवतजावत समेत गर्ने अवस्था नभएको गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए।

मनाङका अधिकांश स्थानको विद्युत् आपूर्ती, सञ्चार सेवा अवरुद्ध छ भने मानिसहरू एक गाउँपालिकाबाट अर्को गाउँपालिका सम्म हिँडडुल समेत गर्न नसक्ने भएकाले क्षतिको विवरण अझै आउन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ