arrow

देउवाद्वारा ‘वीपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
bp-koirala.jpeg

काठमाडौं । जननायक विपी कोइराला मेमोरियल ट्रष्टको अग्रसरतामा काठमाडौँको विशालनगर हाडिगाउँमा ‘विपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा रु नौ करोड लागतमा बन्ने अनुसन्धान केन्द्रको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार एक कार्यक्रमबीच शिलान्यास गरे । 

सो अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता विपीबारे अनुसन्धान गर्ने स्थान निर्माण भएपछि अनुसन्धानका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । “विपीबारे अनुसन्धान गर्ने केन्द्र गिरिजाबाबु, सुशील कोइराला र आफू प्रधानमन्त्री हुँदा बनाउन चाहे पनि विभिन्न समस्याले गर्दा बनाउन सकिएन”, उनले भने । 

सभापति देउवाले विपीजस्तो महान् राष्ट्रवादी राजनीतिज्ञको योगदानको कदर गर्दै केन्द्र स्थापनामा विपी कोइराला मेमोरियल ट्रष्टले गरेको अगुवाइको उच्च मूल्याङ्कन गरे । 

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले विपी कोइराला अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताए । “भर्खरै निर्माण हुन लागेको केन्द्र देशभित्र व्यक्तिमात्र नभएर विदेशी व्यक्तिका लागि पनि अध्ययन केन्द्र बन्नेछ”, उनले भने । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विपी कोइरालाजस्तो आदर्शपुरुषबारे अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र आफू मेयर हुँदा बनाउन पाएकामा गौरभान्वित भएको बताए । निर्माण हुन लागेको रिसर्च सेन्टरलाई महानगरपालिकाले आफ्नो महत्वपूर्णमध्येको एक कार्य ठानेको उनले बताए । आगामी दिनमा पनि महानगरपालिकाले यस्ता कार्यलाई सहयोग गर्ने उनको भनाइ थियो । 

ट्रष्टका महासचिव एवम् संविधानसभा सदस्य रामचन्द्र पोखरेलले उक्त केन्द्र स्थापनासँगै विद्यार्थीलाई विपीको राजनीतिक, साहित्यिक पक्षबारे खोजअनुसन्धान तथा विद्यावारिधिमा सहयोग पुग्ने बताए । विपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत थिए । 

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको उक्त केन्द्रको स्थापनाका लागि चालु आवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ५० लाख र काठमाडौँ महानगरपालिकाले रु दुई करोड बजेट विनियोजन गरेको विपी कोइराला मेमोरियल ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए। नयाँ बन्ने भवनको निर्माणको सम्पूर्ण जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको छ । उक्त भवन सात तले बन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ