- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारदेखि शुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बिहीबार अपरान्ह ४ बजेका लागि बोलाएकी छिन् ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनको सबै तयारी पूरा भएको बताएका छन् ।
उनले अधिवेशनमा विधेयकका साथै समितिका प्रतिवेदन तथा संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने बताए । राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेका छन् ।
अधिवेशनका लागि बैठकमा सहभागी हुने सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुको बुधबार एन्टिजेन परीक्षणसमत गरिएको छ ।
प्रश्न निरन्तरताको
राष्ट्रिय सभाको आठौं अधिवेशन पनि औपचारिकतामै सीमित हुने निश्चित जस्तै छ । सरकारले प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरिसकेको छ । तर यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा छ ।
सुनुवाई अन्तिम चरणमा रहँदा राष्ट्रिय सभाको अधिवेशन दू्रत गतिले अगाडि बढ्ने देखिँदैन । त्यसैले यो पनि औपचारिकतामै सीमित हुने र केही दिनमै टुंगिने बुझिन्छ ।
यसअघि बसेको सातौं अधिवेशन पनि औपचारिकतामै सीमित भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले अधिवेशनले निरन्तरता पाउने भन्दाभन्दै टुंग्याएका थिए । यसपालि पनि उही घटना दोहोरिने दाबी गरिएको छ ।